June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
निर्माणाधीन ‘सल्यान गेट’मा स्वर्गिय प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सालिक राखिने

निर्माणाधीन ‘सल्यान गेट’मा स्वर्गिय प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सालिक राखिने

माघ १२, सल्यान । सिर्जनशिल सल्यानी युवाहरुको ‘समृद्ध सल्यान निर्माण अभियान’ ले दाङ – सल्यानको सिमाना तथा सल्यान प्रवेश द्धारमा निर्माण गर्न लागेको ‘सल्यान गेट’मा स्वर्गिय प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सालिक राखिने भएको छ ।

आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘सल्यान गेट निर्माण अभियान कार्यदल’का संयोजक धुर्वराज वलीले ‘सल्यान गेट’को डिजाईन तयार भएको सार्वजनिक गरेका हुन । डिजाईन अनुसार गेटको बिच भागमा स्वर्गिय प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सालिक राखिने र सालिकलाई छोपिएको पाटो माथी बाट सल्यानी खुकुरी क्रस राखिने छ भने, गेटको एउटा साईडमा सल्यान कालिमाटीमा रहेको गंगामाला भगवतिको मन्दीर र अर्काे साईडमा छत्रेश्वरी मन्दीरको डमी राखिने छ ।

 

त्यस्तै गेटको एउटा पिलरमा कुपिण्डे ताल, जथाक लेक, लक्ष्मिपुर शक्तिपिठ, श्रिनगर बजार, तिन छहरे झरणा र अर्काे पिलरमा कछुवा दह, कुमाख लेक, खलंगा बजार, मोखला सिद्ध गुफा, सिद्ध गुफा कुमाखको फोटोहरु राखिने बताईएको छ । गेट सँगै साईडमा एउटा मन्दिर ( मिनि खैरावाङ स्वरुपको), सल्यानको ईतिहास र पर्यटकिय स्थल झल्किने २ ठुला होलिङ बोर्ड र नेपालको झण्डा फहराउने एउटा स्ट्याण्ड राखिने विज्ञप्तिमा भनिएको छ ।

को हुन सल्यान गेटमा सालिक राखिने मरिचमान ?

मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा १९९७ कार्तिक १७ मा भएको थियो। उनी २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए। २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायत भित्रको अनुदारवादी खेमामा थिए। दरवारको विश्वासपात्र सिंह २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने। पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए।

यिनी प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकावन्दी लगायो। यिनले भारत सँग नझुक्ने अडान लिएर बसे। त्यसैबेला सुरू भएको शान्तिपुर्ण जनआन्दोलन २०४६ मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलमा लागेका समूह माथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेकाले यिनी सबैभन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्न पुगे। २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

पञ्चायती व्यवस्थाको अन्त्यपछि यिनी राजनीतिक रूपमा पूर्ण निस्कृय बसे। २०५६ सालको निर्वाचनमा काठमाडौँबाट उम्मेदवारी दिएपनि त्यसपछि पुनः निस्कृय नै रहे। ०४६ परिवर्तनपछि उनी कुखुरापालन र गाईपालन गरेर राजनीतिबाट टाढा बसेका थिए।

श्रेष्ठ राष्ट्रवादी छविका नेताका रूपमा चिनिएका थिए। ०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ।

मरिचमान सिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौँमा भयो। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाण्डौं थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। क्यान्सरले ग्रस्त श्रेष्ठलाई भारतको मेदान्ता अस्पतालमा उपचार गराइएको थियो। आफ्नै देशमा प्राण त्याग गर्ने इच्छा व्यक्त गरेपछि उनलाई भारतबाट एयर एम्बुलेन्समा २९ गते मंगलबार नेपाल ल्याइएको थियो।

स्रोत : विकिपिडिया
__________________

( सल्यानको माटोमा जन्मिएका हुर्किएका उनै राष्ट्रवादी, सरल र सादगी स्वर्गीय प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको संमानमा युवाहरूले सल्यान गेटमा उनको सालिक राख्न थालेका हुन । )
__________________

( यो पनि पढ्नुहोस : मरिचमान बारे किरण भण्डारी द्वारा लिखित, सेतोपाटीमा प्रकाशित सामाग्री )

आफ्नै मुलुकमा प्राण त्याग्ने इच्छा पूरा गर्न मरिचमानलाई नेपाल फर्काइयो

फोक्सोको क्यान्सरले थलिएर दिल्लीको मेदान्त अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई मंगलबार राति एयर एम्बुलेन्सबाट नेपाल ल्याइएको छ ।

निमोनिया र विभिन्न इन्फेक्सनले गलेका उनको स्वास्थ्य क्रमश बिग्रदै गएपछि श्रेष्ठकै इच्छा अनुसार परिवारले स्वदेश ल्याएको हो । राती १२ बजेदेखि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । भेन्टिलेटरमा राखिएको उनको उपचारमा छाती रोग विशेषज्ञ रमेश चोखानी लगायत संलग्न छन् ।

‘बुवाले धेरै दिनदेखि नेपाल जाऊ भनिरहनुभएको थियो,’ जेठा छोरा अनिलले सेतोपाटीलाई भने, ‘डाक्टरले हुन्छ, हुन्छ भनेकाले हामीले मेदान्त बसाई लम्बाइरहेका थियौं ।’

चार दिन अघिदेखि मरिचमानको वाक्य बस्यो । त्यसपछि परिवारले ‘मरेपनि अर्काको मुलुकमा मर्न नपरोस्’ भन्ने उनकै इच्छा पुरा गरिदिन नेपाल फर्कने निर्णय लिएको बुहारी बबिताले बताइन् । अस्पतालको बील भुक्तानीका लागि सरसापट र एयर एम्बुलेन्सको व्यवस्था गर्दागर्दै चार दिन लाग्यो ।

‘रोग निको भइहाल्ला की भन्ने आशमा हामीले बुबालाई करबल गरेर राखेका थियौं,’ अनिलले भने, ‘भेन्टिलेटरमा राख्नुपर्ने भएपछि अब उपाय रहेन किन बस्नु भन्ने लाग्यो ।’

धेरै वर्ष ‘चेन स्मोकर’ रहेका श्रेष्ठलाई फोक्सोको क्यान्सर देखिएको साढे तीन महिना भयो । यो मध्ये तीन महिना उनको दिल्लीमा उपचार गरियो तर सुधार आएन । ‘दुई साइकल त किमो नै चलाइएको थियो,’ अनिलले भने ।

स्वास्थ्य अवस्था यो भन्दा बिग्रिएन भने उनको सुधार पनि आउन सक्ने झिनो आशा मेदान्त र नर्भिकका डाक्टरहरुले परिवारलाई देखाइदिएको छ । तर परिवारले भने माया मारिसकेको छ । ‘राम्रो हुँदैछ भन्दा भन्दै बुबाको यो अवस्था भयो,’ अनिल पिरोलिएका छन्, ‘संसारभरिका नेपाली शुभेच्छुकको सहयोगले ओखती त गरियो तर बुबालाई एक पछि अर्को पिडा थपिदै गएको छ ।’

अरु पूर्व प्रधानमन्त्रीले पाउँदै आएको स्वास्थ्य सुविधा मरिचमानले पाएका छैनन् । सरकारले ५ लाख दिने पटके निर्णय त ग¥यो तर परिवारले त्यो रकम लिएको छैन । श्रेष्ठ र अरु प्रधानमन्त्रीलाई फरक ‘क्लास’ जस्तो गर्ने सरकारी रबैयाप्रति परिवारको चित्त दुखेको छ ।

‘सरकारले गरेको अपमान स्विकार्नुभन्दा शुभेच्छुकसँग हात थाप्नु जाती मानेर हामीले सरकारलाई दुख दिएनौं,’ अनिलले भने ।
श्रेष्ठका माइला छोरा सँजय, छोरी रश्मी र कान्छा छोरा रञ्जन पनि आज नेपाल आउँदैछन् ।

श्रीमानलाई नेपाल ल्याउनेबित्तिकै हिजो मध्यरातमै धर्मपत्नी विष्णुदेवी अस्पताल पुगेकी थिइन् । ‘कस्तो मान्छेलाई रोगले कस्तो बनाएछ,’ उनले टेलिफोनमा भनिन्, ‘दुब्लाएर हाडछाला बाहेक केहि नाँई ।’ आफूले घोरिएर अनुहार हेर्न आँट पनि नगरेको उनले बताइन् ।

सामान्य गृहणी विष्णु आफै विरामी भएकीले दिल्ली गएकी थिइनन् । ‘उनी आफ्नै देश, आफ्नै देश भनि बस्थेँ,’ उनले भनिन्, ‘छोराहरुले नेपाल ल्याइदिए यसमै हर्क मान्नुपरेको छ ।’

पञ्चायतको अलोकप्रिय चरणमा प्रधानमन्त्री रहे पनि सिंह व्यक्तिगत रुपमा असाध्यै इमानदार र राष्ट्रवादी नेताको रुपमा आफ्ना बिरोधीहरुका बीच्मा समेत चिनिँदै आएका छन्।

सरकारले उनको उपचारमा अरु पूर्वप्रधानमन्त्रीलाई दिँदै आएको आर्थिक सहयोग दिनमा ढिलाई र आनाकानी गरेपछि नेपाल भित्र र बाहिर छरिएका अनेकौं नेपालीहरुले व्यक्तिगत रुपमा अर्थ संकलन गरी उनको उपचारमा सहयोग पुर्‍याएका थिए ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको