October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनको अन्तिम तयारी, यी हुन् चार दलबाट बन्ने १८ मन्त्रीहरु

मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनको अन्तिम तयारी, यी हुन् चार दलबाट बन्ने १८ मन्त्रीहरु

असोज १३, काठ्माण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुसँग मन्त्री बनाउन नेताहरुको नाम दिन ताकेता गरेका छन् ।

असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्री बन्नेको लिस्ट दिने भनेका थिए । आइतबार पनि देउवाले उनीहरुलाई मन्त्रीको नाम दिन ताकेका गरेका थिए । त्यसपछि प्रचण्ड, माधव र उपेन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका हुन् ।

यता, काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि मन्त्री बन्नेको नाम छनोट गर्न लागिपरेको छ । उनीहरुले मन्त्री बन्नेको सूची बुझाएपछि विहीबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने देउवाको तयारी छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारको बाटो खुलेको हो ।

माधव र उपेन्द्रलाई परेको पार्टीगत रुपमा कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ७५ बित्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैंले बोकेका छन् ।

देउवाले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष यादव मधेसमा रहेकाले बिहीबारसम्मका लागि धकेलिएको हो । यादव बुधबार काठमाडौं आइपुगेपछि गठबन्धनको बैठक बसेर मन्त्रीको भागबण्डा र मन्त्रिपरिषद विस्तारको निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ । भोलि बस्ने बैठक मन्त्रालयगत भागबण्डा टुंग्याउने छ ।

मंगलबार नै गठबन्धनको बैठक राख्ने तयारी भएपनि जसपा अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले सोमबार र मंगलबार सत्तारुढ गठबन्धनको बैठक बसेको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार गठबन्धनको बैठक बस्ने तयारी छ ।

पौडेल–सिटौला समूहबाट को को बन्दै छन् मन्त्री ?

बुधबारसम्म आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन वरिष्ठ नेता पौडेल र सिटौलालाई प्रधानमन्त्री देउवाको आग्रह छ । पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको प्रस्तावित छ ।

पौडेल समूहले तीनजना मन्त्री पाउने अपेक्षाका साथ पाँचजनाको नाम छलफलका लागि अगाडि सारेको थियो । तर, अब पाँच जनाबाट दुई जनाको नाम छनोट गर्नुपर्ने भएको छ । महामन्त्री शशांक कोइराला निकट स्रोतका अनुसार काँग्रेसबाट मन्त्रीमा महिलाको सहभागिता नभएकाले सुजाताको सम्भावना बलियो छ ।

प्रधानमन्त्री देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने चर्चा थियो । तर, आफ्नो समूहबाट ४ जना मन्त्री बनाउँदा देउवाको रोजाइमा भुसाल पर्न सकिनन् । त्यसको लाभ सुजातालाई पर्ने देखिएको छ ।

सुजाताले पनि महामन्त्री शशांक कोइरालामार्फत उपप्रधानमन्त्रीसहित सरकारमा जान लबिङ गरिरहेकी छन् । तर, यस पटक उपप्रधानमन्त्री नराख्ने प्रधानमन्त्री देउवाको अडान छ । सुजाताले उपप्रधानमन्त्री नपाए पनि सरकारमा जाने इच्छा जाहेर गएकाले उनको सम्भावना बलियो देखिएको पौडेल समूहका एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘हाम्रो समूहले पहिला तीनजना मन्त्री पाउने आशा थियो । प्रधानमन्त्रीजीले किस्ता–किस्तामा गरी आफ्नै समूहका चार जनालाई मन्त्री बनाइसक्नुभयो । काँग्रेसले ७ मन्त्रालय मात्र पाउने कुरा सुनिन्छ । एक मन्त्रालय सिटौलाजी होला । अब हामीले दुई मन्त्रालय मात्र पाउने अवस्था देखियो । हाम्रो समूहभित्रका कमन मान्छेलाई मन्त्री बनाउनुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आफू निकट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा आफू निकट उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै असोज ६ गते देउवाले आफू निकट डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । अब काँग्रेसले पाउने तीन मन्त्रालयमा पौडेल र सिटौलाको कोटा मात्र बाँकी छ ।

ती नेताका अनुसार शशांक कोइरालाले सुजाता, मिनेन्द्र र दिलेन्द्रमध्ये एकजनालाई मन्त्री बनाउनेछन् । यस्तै रामचन्द्र पौडेल र प्रकाशमान सिंहले तेजुलाल चौधरी र राजन केसी मध्येबाट एक जना छान्ने अवस्था छ । चौधरी पौडेलसँग नजिक छन् भने केसी सिंह निकट हुन् ।

ती नेताका अनुसार कोइराला परिवार र पौडेल–सिंह मध्येबाट दुई जनाको नाम मन्त्रीका लागि पठाइने भएको छ । त्यसमा सुजाता र तेजुलालको सम्भावना बलियो देखिएको ती नेताको भनाइ छ । यता कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकजनाको नाम पठाउने भएका छन् ।

सोमबार साँझ सिटौलाले मन्त्री छनोटका विषयमा छलफल गरेका थिए । सुरुमा सिटौलाले यसपटक चौधरीलाई मौका दिनुपर्ने धारणा राखेका थिए । देउवाको नेतृत्वमा सरकार बनेको केही दिनमै गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानसँग सिटौलाले छलफल गरेका थिए । उक्त छलफलमा सिटौलाले भनेका थिए, ‘गगन र भीमसेनजी यसअघि मन्त्री भइसक्नुभएको छ । अब उमाकान्तजीलाई मौका दिनुपर्ला ।’

तर, यतिबेला गगन थापा सिटौला समूह परित्याग गरी पौडेल समूहमा पुगेपछि चौधरी र प्रधानमध्ये एक मन्त्री बन्ने पक्का देखिएको काँग्रेस नेताहरु बताउँछन् । पौडेल समूहबाट तेजुलाल चौधरी मन्त्री बनेको अवस्थामा समावेशीका आधारमा आफूले मौका पाउने प्रधानको आशा छ ।

महाधिवेशनमा काठमाडौंलाई मध्यनजर गरी देउवाले आफ्नो नाम पठाउन सिटौलालाई सुझाउने उनको बुझाइ छ ।

माओवादी केन्द्रबाट को–को ?

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन जोड गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आकांक्षीसँग आन्तरिक छलफल थालेको पाइएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार मन्त्री छनोटको जिम्मेवारी पाएका प्रचण्डले आन्तरिक छलफल लागेका छन् ।

यस्तै बुधबार आज बस्ने नेकपा माआवादी केन्द्रको स्थायी समिति बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताए । मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएर बुधबार सरेको थियो ।

यसअघि जनार्दन शर्मालाई र पम्फा भुसाललाई उर्जा मन्त्रीका रुपमा सरकारमा पठाएको छ । अब माओवादीले चार मन्त्री पाउने छ । अब माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।

मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने नीति लिएपछि नेता नारायणकाजी श्रेष्ठ भने मन्त्रीको रिङबाट आउट हुन पुगेका छन् ।

एकीकृत समाजवादीमा लाग्यो मन्त्रीको टुंगो

एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।

एकीकृत समावादीबाट खतिवडाको नेतृत्व गर्ने विषय समेत टुंगिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि मन्त्री छनोटमा पार्टीभित्र कुनै समस्या नभएको बताए । प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न चाहँदा अब एकीकृत समाजवादीमा कुनै बाधा नरहेको उनको भनाइ छ ।

यी हुन् जसपाबाट मन्त्री बन्नेहरु

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राइलाई जिम्मा दिएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श भइरहेको जसपाका नेता महेन्द्र राय यादवको भनाइ छ ।​ तर​ नेतात्रयले मन्त्री बन्ने नेताहरुको नाम टुंगाइसकेको जसपाको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

रातोपाटी बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको