September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
जसपा विवाद : रेशम चौधरी किन तटस्थ बसे ?

जसपा विवाद : रेशम चौधरी किन तटस्थ बसे ?

साउन ११, काठ्माण्डौं । हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए ।

आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए ।

आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।

सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन्।

योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।

रेशमलाई डिल्लीबजार कारागारबाट सनाखतका लागि सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालयमा लगिएको थियो। उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।

निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो।

शीर्ष समाचार

धेरै पढिएको