July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त, को हुन उनी- यस्तो छ पृष्ठभुमि ?

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त, को हुन उनी- यस्तो छ पृष्ठभुमि ?

जेठ २९ , पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

को हुन पोखरेल ?

नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मे/हुर्के । उनका बुबा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए । उनकी आमा द्रौपदा शर्मा हुन् । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।

२०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र नेपाली पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् । त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगे । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर पाँच महिना बस्नुपर्‍यो । । त्यसअघि २०३७ सालको जनमतसंग्रहका क्रममा ८ महिना कास्की कारागारमै बसे । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै दुई महिना जेल चलान भए ।

देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्‍यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर एक वर्ष जेल चलान भए ।

२०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि परे । नौ महिना पाल्पा जेल बसे । २०४८ को अधिवेशनपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए ।

२०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । कांग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट उम्मेद्वार रहेका सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको