June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
कर्णालीमा फ्लोर क्रस गरेका थापा फौजदारी अपराधमा जेल बसेको व्यक्ति, नाम फेरेर मन्त्री बनेको खुलासा

कर्णालीमा फ्लोर क्रस गरेका थापा फौजदारी अपराधमा जेल बसेको व्यक्ति, नाम फेरेर मन्त्री बनेको खुलासा

जेठ १६, काठमाडौं । नैतिक पतन देखिने फौजदारी अपराधमा जेल बसिसकेको एक व्यक्ति प्रदेश सरकारको मन्त्री पदमा बसेको खुलेको छ ।

संविधान अनुसार यस्तो अपराधमा सजाय पाइसकेको व्यक्ति सांसद् र मन्त्री बन्न पाइँदैन ।

त्यसरी मन्त्री बनेका व्यक्तिको वास्तविक नाम भने के हो भन्ने खुल्न सकेको छैन । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय समालिरहनुभएका ती व्यक्तिले आफूलाई अम्मरबहादुर थापा भन्ने गर्नुभएको छ । तर, उहाँको वास्तविक नाम अम्मरबहादुर नभएर अम्बरबहादुर भएको खुलेको हो । तर, अम्बरबहादुरले विगतमा आफूले गरेको नैतिक पतनयुक्त फौजदारी अपराधको ढाकछोप गर्न नाम फेरेर अम्मरबहादुर बनाउनुभएको हो ।

उहाँले आधिकारिक सरकारी दस्तावेजमा कतै अमरबहादुर त कतै अम्मरबहादुर लेख्ने गर्नुभएको छ । उहाँले अम्बरबहादुर नाम लेख्न छाड्नुभएको छ । किनभने जतिबेला उहाँले कीर्ते जालासाजी तथा ठगी मुद्दामा जेल सजाय पाउनुभएको थियो, त्यसबेला उहाँको नाम ‘अम्बरबहादुर’ थियो ।

नागरिकताको प्रमाणपत्रका आधारमा उहाँ अम्बरबहादुर हो कि अम्मरबहादुर हो भन्ने खुट्याउन सकिन्छ । तर, उहाँले प्रदेश संसद् लगायत विभिन्न सरकारी निकायमा नागरिकता नै पेश गर्नुभएको छैन । मन्त्रीले आफ्नी आमाको नाम पनि ठाउँ अनुसार कतै सावित्री त कतै सेतु लेख्ने गर्नुभएको पाइएको छ ।

उहाँले केही ठाउँमा नागरिकताको प्रतिलिपि पेश गर्नुभएको पाइएको छ । तर, सो नागरिकता नै शंकाको घेरामा परेको छ । उहाँले नागरिकता नम्बर १०८८ र जारी भएको जिल्ला दैलेख लेख्ने गर्नुभएको छ । तर, जिल्ला प्रशासन कार्यालयमा सो नागरिकताको अभिलेख फेला परेको छैन ।

यसरी खुल्यो पोल

मन्त्री पदमा रहेका व्यक्ति रहस्यमय देखिएपछि पत्रकार सूर्यमणि गौतमले मन्त्रीका सबै अपराधिक अतित अन्वेषण गर्नुभयो । त्यसपछि उहाँले समाचार मात्र लेखेर नहुने विषय ठहर गर्दै सर्वाेच्च अदालतमा मुद्दा नै दायर गर्नुभएको हो ।

अदालतले जेठ ३० गते मन्त्री थापा सहित दुवै पक्षलाई आआफ्नो दावी लिएर उपस्थित हुन आदेश दिएको छ ।

सूर्यमणिले सर्वाेच्चमा दायर गर्नुभएको रिट अनुसार अम्बरबहादुर उर्फ अमरबहादुर विगतमा ठेकेदार हुनुहुन्थ्यो । उहाँलाई ०४३ सालमा सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दा पर्यो । सो मुद्दामा उहाँलाई ०५७ सालमा जेल सजाय र जरिवाना भयो । करिब ६ महिना जेल सजाय भोग्नुभयो । त्यसपछि नक्कली नागरिकता बनाइएको हुनसक्ने आशंका रिटमा गरिएको छ ।

कीर्ते, ठगी र जालसाजी जस्तो आपराधिक मामिलामा सजाय काटे पनि अम्बरबहादुरले प्रशस्त धन कमाउनुभयो । त्यसपछि उहाँ राजनीतिमा लाग्नुभयो । गत प्रदेश सभा निर्वाचनमा उहाँ दैलेखको क्षेत्र नम्बर १ (ख)मा एमालेको टिकटबाट प्रदेश सांसद् बन्नुभयो । र, मन्त्री पनि बन्नुभयो । मन्त्री बनिसक्दा पनि उहाँले आफ्नो आपराधिक अतित भने छोप्न प्रयास गरिरहनुभयो । किनभने नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाइसकेको व्यक्तिले सार्वजनिक ओहोदा अर्थात् मन्त्री तथा सांसद् पदमा बस्न मिल्दैन ।

आफ्नो अतित ढाकछोप गर्नु, नागरिकता लुकाउनु, नाम पनि ठाउँ अनुसार फरकफरक लेख्नु, आमाको नाम पनि ठाउँ अनुसार फरक लेख्नुको उद्देश्य आपराधिक अतित ढाकछोप गरेर राजनीतिमा पद लिइरहने नियत रहेको देखिन्छ ।

अब के हुन्छ ?

सर्वाेच्चमा सूर्यमणिले दायर गर्नुभएको रिटमा अम्बरबहादुरले नाम ढाँटेको, विगतको अपराध र सजाय लुकाएको, नागरिकता लुकाएको, सार्वजनिक पदमा बस्न आफ्नो योग्यता पुग्दैन भन्ने थाहा हुँदा हुँदै पनि कीर्ते तथा झुठ गरेको दावी गरिएको छ ।

रिटमा अम्बरबहादुरले आफ्नो सक्कल नागरिकता अदालतमा पेश गरुन् भनी माग गरिएको छ । त्यसैगरी उहाँले यस बीचमा खाएको तलबभत्ता सम्पूर्ण फिर्ता गरी राज्यकोषमा दाखिल गराउन पनि माग गरिएको छ ।

यो कसूर प्रमाणित भएमा अम्बरबहादुरको सांसद् र मन्त्री पद मात्र जाँदैन, जेल सजाय पनि हुनसक्ने कानुनविद्हरुले बताएका छन् ।

सनराइजखबर बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको