September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
डोलेश्वर रिसोर्टमा राखिएका ‘महन्थ-राजेन्द्र’ पक्षिय १९ सांसदको बिल कति आयो ?

डोलेश्वर रिसोर्टमा राखिएका ‘महन्थ-राजेन्द्र’ पक्षिय १९ सांसदको बिल कति आयो ?

जेठ ०१, काठमाडौँ । यतिबेला जसपा फुटको अन्तिम संघर्षमा छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एकातिर छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई एकातिर। सरकार गठनका विषयले जसपामा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ।

एक पक्षले अर्कोले गरेको निर्णयप्रति विरोध र आपत्ति जनाउँदै सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने होडबाजी चलेको छ।

तटस्थ बसेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ठूलो दलको हैसियतमा सरकार गठन गर्न सहयोग गर्ने कि ओलीको विकल्प खोज्ने भन्ने विषयमा विवाद हुँदा पार्टी नै दुई चिरा परिसकेको छ।

वैकल्पिक सरकारको पक्षमा रहेका यादव–भट्टराई पक्षले सांसदहरुलाई प्रभावित पार्न सक्ने आँटकलन गर्दै ठाकुर पक्षले बिहीबार आफू निकट १९ जना सांसदलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा लगेर मध्यरातिसम्म राख्यो।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय ९ बजेसम्म हुँदा त्यसपछि मात्रै ठाकुरले सांसदहरुलाई रिसोर्टबाट छाडेका थिए। उक्त दिन दिउँसो करिब २ बजेतिर त्यहाँ पुगेका सांसदहरुले बेलुकासम्म जम्मा ९० हजार रुपैयाँ मात्रै खर्च गरेको बिल सार्वजनिक भएको छ।

ओली निकट सांसद महेश बस्नेतको व्यवस्थापनमा रिसोर्ट पुगेका सांसदले त्यस दिन जम्मा ९० हजार मात्रै देखाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको बिलमा मिटिङ हलको ११ हजार, स्याण्डबीच २४ हजार, लञ्ज ४४ हजार ७ गरी ७९ हजार ७ सयमा र १३ प्रतिशत भ्याट जोडी रिसोर्टले ९० हजार ६१ रुपैयाँ लिएको छ।

ठाकुरले सांसदहरु रिसोर्टमा लैजाँदा कांग्रेस, माओवादी र यादव पक्षले सरकारमा दाबी नै गर्न पाएन।

संसदीय दलको नेता छनौटमा विवाद :

त्यस्तै जसपामा दुई पक्षबीच ‘पत्र युद्ध’ चलेको छ। सरकार गठनको विषयमा मतभेद हुँदा पार्टीभित्र सुरु भएको विवादका कारण दुई पक्षबीच एकअर्काप्रति सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने होड नै चलेको छ।

ठाकुर पक्षले एकलौटी रुपमा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जनाएपछि त्यसको प्रतिवाद स्वरुप उपेन्द्र यादव पक्षले जसपाको संसदीय दल नै एकीकरण हुन बाँकी रहेको दाबी गरेको छ।

संसदीय दलका ३२ सांसदमध्ये १९ जनाको हस्ताक्षर गरेर ठाकुर पक्षले संसद सचिवालयलाई जानकारी गराउने तयारी गरेपछि यादव पक्षका प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दल एकीकरण नभएको र विधानसमेत स्वीकृत नभएको अवस्थामा दलका नेता चयन हुनै नसक्ने दाबी गरेका छन्।

अधिकारीले जारी गरेको विज्ञप्तितमा भनिएको छ, ‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको, विधानसमेत नबनेको तथा जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७० को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनैपनि बैठक नभएकोले उक्त समाचार बमपुर्ण रहेकाले सम्बन्धीत सबैमा जानकारीसहित स्पष्ट गरिन्छ।’

यसअघि शनिबार नै यादव पक्षले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएपछि ठाकुरले त्यस्तो बैठक आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनले भनेका छन्, ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद्को कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’

ठाकुर राजेन्द्रलाई कारवाहीको चेतावनी

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल थालेको छ ।

यादव पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको ठहर गरेको छ ।

बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए ।

“सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुनसक्दैन । संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाए विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता छानिन्छ”, यादवले पत्रकारहरुसँग भने ।

उनले पार्टी हित र विधान विपरीत ठाकुर पक्ष अगाडि बढेको आरोप लगाउँदै गल्ती नसुधारेर पार्टीबाट कारवाही गरिने बताए ।

आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको थियो ।

स्रोत: देशसंचार

शीर्ष समाचार

धेरै पढिएको