September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
कर्णाली प्रदेश सरकारमा किचलो : सपथ खानै नपाइ ३ मन्त्री बर्खास्त

कर्णाली प्रदेश सरकारमा किचलो : सपथ खानै नपाइ ३ मन्त्री बर्खास्त

वैशाख ३१, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै आज दिउँसो तीन बजे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुखलाई भेटेर सपथग्रहण समारोह स्थगित गर्न र तीनैवटा मन्त्रालयको जिम्मा आफूलाई दिन गरेको आग्रह अनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरु फेसबुकमै बधाई खाएर बर्खास्त हुन बाध्य भएका हुन ।

मुख्यमन्त्री शाहीले बुधबार नै आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री पदको सपथग्रहण गराउन खोजेका थिए तर मन्त्री पदमा सांसद एवम नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनु पर्ने विवाद नेकपा माओवादी भित्र चुलिएको थियो ।

मुख्यमन्त्री शाहीले उक्त विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फूटाउने निर्णय गरे । उनले उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराए ।

यस्तै, सांसद विष्टलाई ‘मन्त्रालयमा लिएर थन्काउने’ काम हुने भन्दै कार्यकर्ताबाट चर्को आलोचना भएपछि मुख्यमन्त्री शाहीले कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय पनि फूटाए । त्यहाँबाट उनले युवा तथा खेलकुदलाई तानेर आन्तरिक मामिला, युवा तथा खेलकुद कानून मन्त्रालय बनाउने निर्णय गरे ।

ती दुवै निर्णय गरेपछि ती सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्नुपर्ने थियो । राजपत्रमा प्रकाशित नभई सपथ खुवाउन नसकिने भन्दै विहीबार १० बजे राजपत्रमा प्रकाशित गर्ने र एघार बजे तीनै जना मन्त्रीलाई सपथग्रहण गराउने कार्यक्रम तय भए अनुसार अघि बढेपनि सांसद ठम्मर विष्टलगायतका अन्य सांसदको विरोधका कारण आज सपथग्रहण भने भएन ।

उता, आफूलाई जानकारी नै नदिएर मन्त्रालय फूटाएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस जिल्लिएको थियो ।

‘सरकारमा मन्त्री हेरफेर गर्ने काम उहाँहरुको हो तर कम्तिमा मन्त्रालय नै फूटाउने समयमा हामीलाई सोध्नुपर्छ । सत्ता सहकार्य भइरहेको समयमा मुख्यमन्त्री शाहीले सल्लाह त गर्नपर्छ नि’ काँग्रेस नेता जीवनबहादुर शाही निकट स्रोतले भन्यो, ‘त्यहि विषयमा पनि थोरै विवाद सिर्जना भएका कारण सपथग्रहण कार्यक्रम रोकिएको हो ।’

अन्य समयमा काँग्रेसले सहयोग गर्नुपर्ने र यस्तो विषम परिस्थितिमा छलफल र सहकार्यको भावनामा खलल पु¥याउने काम भएको निष्कर्षमा काँग्रेस पुगेको स्रोतको भनाई छ ।

काँग्रेससँग एक मन्त्रालय भएपनि हाललाई लिन र मन्त्री हुने व्यक्तिको नाम पठाउन मुख्यमन्त्री शाहीले गरेका आग्रह सरकारले गरेको मन्त्रालय फूटाउलाई नसच्याए सम्म गर्न नसकिने काँग्रेसले जवाफ दिएको थियो ।

काँग्रेसको उक्त जवाफपछि मुख्यमन्त्री शाही, काँग्रेस नेता जीवनबहादुर शाही र फ्लोरक्रस गरेका एमाले नेता प्रकाश ज्वालाबीचमा विहीबार चार घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

‘फ्लोर क्रस गर्ने एक मन्त्रीलाई फिर्ता गराउन मुख्यमन्त्री शाहीले ज्वालालाई आग्रह गरेका थिए । त्यो आग्रह ज्वालाले स्वीकारेनन् ।’ स्रोत भन्छ, ‘काँग्रेसले पनि मुख्यमन्त्री शाहीको प्रस्ताव नमानेपछि बाध्य भएर मुख्यमन्त्री पछि हटनुभएको हो ।’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ मा सदनबाट विश्वासको मत पाएसँगै दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

वैशाख ५ मा फ्लोर क्रस गरेर सरकार जोगाइदिएका तीन एमाले सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका थप ३ मन्त्री नियुक्ति गरेका हुन ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएका पछि गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सांसद विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको थियो । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको थियो ।

उनिहरूले पार्टीको निर्णय अनुसार नै राजीनामा दिएको बताएका थिए । ‘दलले आवश्यक निर्देशन दिएको हो । त्यही अनुसार हामीले पद त्यागेका छौं । नयाँ मन्त्री बनाउने बाटो खुल्ला गरिदिएका हौं । तीन वर्ष तीन महिना मन्त्री भइसकेका छौं ’ मन्त्री बिमला केसीले भनेकी थिइन्, ‘अन्य साथीहरूलाई पनि पालो दिनु पर्छ नि ।’

तर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि नव नियुक्त मन्त्रीहरूको सपथ रोकिएको थियो ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका थिए ।

मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय समेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसको असन्तुष्टि बढेको हो । मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्ने दल र समूहसंग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

सहमति खोज्न मुख्यमन्त्री शाही, फ्लोर क्रस गरेर सरकार जोगाएका एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता जीवनबहादुर शाहीबीच अहिले छलफल भएपनी सहमति नभएपछी ३ मन्त्री सपथ नलिइ बर्खास्त भएका हुन ।

स्रोत : नेपाल प्रेस

शीर्ष समाचार

धेरै पढिएको