September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
कांग्रेस-माओवादीको निष्कर्ष : बहुमतको सरकार बन्ने सम्भावना लगभग सकियो

कांग्रेस-माओवादीको निष्कर्ष : बहुमतको सरकार बन्ने सम्भावना लगभग सकियो

वैशाख ३०, काठमाण्डौ । आज बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अब त्यो सम्भावना लगभग टरेको निष्कर्ष निकालेका छन्।

‘एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको छ,’ कांग्रेसका एक शीर्ष नेताले भने।

माओवादी केन्द्रका नेताले पनि सरकारमा दाबी गर्ने आफूहरूको सम्भावना लगभग सकिएको बताए। ‘अब हामीले आशा मार्‍यौं,’ ती नेताले भने। कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो।

नेपाल समूहले कांग्रेस-माओवादीलाई त्यसैमा आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।

जसपामा पनि कांग्रेस-माओवादी केन्द्रको गठबन्धनमा नजाने महन्थ ठाकुर र राजेन्द्र महतोको अडान कायमै छ। माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा जसपाभित्र कांग्रेस-माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा सांसदहरूको बहुमत देखिन सकेको छैन।

कांग्रेस-माओवादीले औपचारिक रूपमा भने सरकार नबनाउने घोषणा गरिसकेका छैनन्। माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई आफ्ना माग पूरा गर्न दिउँसो ४ बजेसम्मको डेडलाइन दिएको थियो।

ओली-नेपालबीचको वार्ताको परिणाम उनीहरू कुरिरहेका छन्। अन्तिम निर्णय लिन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ भने माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ।

प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिएकी छन्। यो समयभित्र बहुमतको सरकारमा कसैले दाबी गर्न नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ३ अुनसार संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बनाउने छन्।

यो धाराअनुसार प्रधानमन्त्री ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। उनले प्रतिनिधि सभामा तीस दिनभित्र विश्वासको मत लिनु पर्ने छ। विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्।

सेतोपाटी बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको