June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
महन्थ ठाकुर पक्षका १६ सांसदहरु एकाएक भक्तपुरको एक रिसोर्टमा भेला

महन्थ ठाकुर पक्षका १६ सांसदहरु एकाएक भक्तपुरको एक रिसोर्टमा भेला

वैशाख ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतको सरकार बनाउन दिएको समयसीमा सकिन केही घन्टामात्र बाँकी छँदा जनता समाजवादी दलका महन्थ ठाकुर पक्षीय सांसदहरु बिहीबार भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।

सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका १६ सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्‍याएका हुन्। रिसोर्टमा पुगेका एक सांसदले नाम उल्लेख नगर्ने गरी भने, ‘हामी अहिले यो रिसोर्टमा आइपुगेका छौँ, खाना खाँदै छौँ, अब छलफल गर्छौँ।’

राष्ट्रपतिले धारा ७६ (२) अनुसारको बहुमतको सरकारको दाबी गर्न दलहरुलाई दिएको वैशाख ३० गते बेलुकी ९ बजेसम्मको समयसीमा केही घन्टामा सकिँदै छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कम्मर कसेर लागेका छन्। यद्यपि जनता समाजवादी दल सरकार निर्माणमा महत्त्वपूर्ण कारक बनेको छ।

नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुर एवं वरिष्ठ नेता राजेन्द्र महतोबीच आज देउवा निवासमा कुराकानी भएको थियो ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवालाई समर्थन गर्न तयार भइसकेको अवस्थामा ठाकुुर र महतोले नमान्दा बहुमत पुग्नबाट रोकिएको छ। बुढालिनकण्ठ स्रोतका अनुसार तीन नेताबीच छलफल भएको हो ।

एमालेको माधव नेपाल पक्षले संसदबाट राजीनामा दिए वा ठाकुर पक्षले समर्थन गरेको अवस्थामा देउवाको नेतृत्वमा सरकार गठन हुने हुँदा दुवै योजना सफल बनाउन कांग्रेस नेताहरु सक्रिय भएका छन्। नेपाल पक्षले राजीनामा दिने संभावना कम हुँदै गएको अवस्थामा ठाकुरलाई मनाउन कोसिस भइरहेको देउवा निकट एक नेताले बताए।

ठाकुरसँग कांग्रेसका नेताहरुले बुधबार पनि चरण चरणमा कुराकानी गरेका थिए। देउवाका प्रतिनिधिका रुपमा साँझ नेता बालकृष्ण खाँड र ज्ञानेन्द्र कार्कीले ठाकुरसँग अनामनगरस्थित एक घरमा भेटवार्ता गरेका थिए। ठाकुरसँग वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बिहीबार बिहान टेलिफोनमा कुराकानी गरेका थिए।

उक्त भेटघाटमा ठाकुरले आफूहरु तटस्थ बस्ने निर्णयमा पुगिसकेको जवाफ दिए पनि बिहीबार फेरि देउवा आफैँले कुुराकानी गरेका हुन्। ठाकुरले समर्थन गरेको अवस्थामा राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दावी गर्ने तयारी देउवाले गरेका छन्।

विपक्षी गठन्धनले १२४ मत देखाइसकेको अवस्थामा ठाकुरले समर्थन गरे उनीसँग रहेका १५ र जनाले सहयोग गरे बहुमतमा लागि चाहिने १३६ सांसद सजिलै पुग्ने अवस्था छ। तर ठाकुरले देउवालाई जसपाको भर नपर्न भनेको बताईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको