September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
गण्डकीमा विपक्षीले बहुमत पुष्टि गर्न सकेनन, गुरुङ फेरी मुख्यमन्त्री

गण्डकीमा विपक्षीले बहुमत पुष्टि गर्न सकेनन, गुरुङ फेरी मुख्यमन्त्री

वैशाख २९, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमाा पुगिसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो ।

त्यस लगत्तै जनमोर्चाका अकां सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि चार दलको समर्थन भनि पनि बहुमत नपुगेकाले गठबन्धनको दावी अश्वीकृत भएको हो ।

राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको हो ।

बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको जनाएका छन् ।

बागलुङमा रहेका शाहीले लिखित वक्तव्यमार्फत विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले आफू तटस्थ रहेको जनाएका छन् ।

यसअघि दलका नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गरेका थिए । जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धनको बहुमत दावी फेल खाएको छ ।

गण्डकीमा नयाँ सरकार गठनको बिषयमा पार्टी केन्द्रले कांग्रेस माओवादी जसपा सहितको गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको थियो । सोही गठबन्धनले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको थियो तर केन्द्रको निर्णय सँग प्रदेश सांसदहरू सन्तुष्ट थिएनन ।

वैशाख १५ गते अविस्वासको प्रस्तावमा मतदान हुनेबेला पनि जनमोर्चा सांसद सदनमा उपस्थित नभएर सिकिस्त बिरामी भएका थिए । त्यसपछि सभामुखले संसद अधिवेशन स्थगित गरेका थिए । स्थगित भएको संसदमा वैशाख २७ गते पुनः मतदान हुनु अघि २६ गते मुख्यमन्त्री गरुङले पदबाट राजिनामा दिएका थिए भने प्रदेश प्रमुख सीता पौडेल ले नयाँ सरकार गठनको लागि ३ दिनको समय दिएकी थिइन । प्रदेश प्रमुखले दिएको समयसिमा आज ४ बजे सकिएको छ ।

प्रदेश प्रमुखले तोकेको समय भित्र सांसदको बहुमत सङ्ख्या दावी गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने कोसिस भएपनी जनमोर्चा सांसद कृष्ण थापा र खिम बिक्रम शाहीले कांग्रेसलाई सरकार बनाउन समर्थन गर्न नसकिने भन्दै तटस्थ रहेको बिज्ञपति निकालेका छ्न।

बहुमतको लागि ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । ६१ सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

 

शीर्ष समाचार

धेरै पढिएको