June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
गण्डकीमा जनमोर्चाका २ सांसद तटस्थ, विपक्षी गठबन्धनको पुगेन बहुमत

गण्डकीमा जनमोर्चाका २ सांसद तटस्थ, विपक्षी गठबन्धनको पुगेन बहुमत

वैशाख २९, काठमाडौं । राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको छ ।

बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको जनाएका छन् ।

बागलुङमा रहेका शाहीले लिखित वक्तव्यमार्फत विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले आफू तटस्थ रहेको जनाएका छन् ।

यसअघि दलका नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गरेका थिए । जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धनको बहुमत दावी फेल खाएको छ ।

गण्डकीमा नयाँ सरकार गठनको बिषयमा पार्टी केन्द्रले कांग्रेस माओवादी जसपा सहितको गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको थियो । सोही गठबन्धनले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको थियो तर केन्द्रको निर्णय सँग प्रदेश सांसदहरू सन्तुष्ट थिएनन ।

वैशाख १५ गते अविस्वासको प्रस्तावमा मतदान हुनेबेला पनि जनमोर्चा सांसद सदनमा उपस्थित नभएर सिकिस्त बिरामी भएका थिए । त्यसपछि सभामुखले संसद अधिवेशन स्थगित गरेका थिए । स्थगित भएको संसदमा वैशाख २७ गते पुनः मतदान हुनु अघि २६ गते मुख्यमन्त्री गरुङले पदबाट राजिनामा दिएका थिए भने प्रदेश प्रमुख सीता पौडेल ले नयाँ सरकार गठनको लागि ३ दिनको समय दिएकी थिइन । प्रदेश प्रमुखले दिएको समयसिमा आज ४ बजे सकिएको छ ।

प्रदेश प्रमुखले तोकेको समय भित्र सांसदको बहुमत सङ्ख्या दावी गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने कोसिस भएपनी जनमोर्चा सांसद कृष्ण थापा र खिम बिक्रम शाहीले कांग्रेसलाई सरकार बनाउन समर्थन गर्न नसकिने भन्दै तटस्थ रहेको बिज्ञपति निकालेका छ्न।

बहुमतको लागि ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । ६१ सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

शीर्ष समाचार

धेरै पढिएको