September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
गण्डकीमा जनमोर्चा विभाजित : पियारीले दलको नेताबाटै हटाइन कृष्ण थापालाई

गण्डकीमा जनमोर्चा विभाजित : पियारीले दलको नेताबाटै हटाइन कृष्ण थापालाई

वैशाख २९, पोखरा । प्रदेश सरकार गठनको मामलालाई लिएर गण्डकीमा राष्ट्रिय जनमोर्चा पार्टीमा विवाद उत्कर्समा पुगेको छ ।

जनमोर्चा गण्डकी संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार बनाउन कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सहयोग नगर्ने अडान लिएपछि जनमोर्चामा विवाद आएको हो ।


गण्डकीमा नयाँ सरकार गठनको बिषयमा पार्टी केन्द्रले कांग्रेस माओवादी जसपा सहितको गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको थियो । सोही गठबन्धनले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको थियो तर केन्द्रको निर्णय सँग प्रदेश सांसदहरू सन्तुष्ट थिएनन ।

वैशाख १५ गते अविस्वासको प्रस्तावमा मतदान हुनेबेला पनि जनमोर्चा सांसद सदनमा उपस्थित नभएर सिकिस्त बिरामी भएका थिए । त्यसपछि सभामुखले संसद अधिवेशन स्थगित गरेका थिए । स्थगित भएको संसदमा वैशाख २७ गते पुनः मतदान हुनु अघि २६ गते मुख्यमन्त्री गरुङले पदबाट राजिनामा दिएका थिए भने प्रदेश प्रमुख सीता पौडेल ले नयाँ सरकार गठनको लागि ३ दिनको समय दिएकी थिइन । प्रदेश प्रमुखले दिएको समयसिमा आज ४ बजे सकिदैछ ।

प्रदेश प्रमुखले तोकेको समय भित्र सांसदको बहुमत सङ्ख्या देखाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने कोसिस भएपनी जनमोर्चा सांसद कृष्ण थापाले कांग्रेसलाई सरकार बनाउन समर्थन गर्न नसकिने भन्दै समर्थनमा हस्ताक्षर गर्न नमानेपछि कांग्रेस माओवादी गठबन्धनले नयाँ सरकार गठनको लागि दावी पेश गर्न सकेको छैन ।

यसरी पार्टी नीतिविपरीत लागेको भन्दै राष्ट्रिय जनमोर्चाले दलका नेता कृष्ण थापालाई कारबाही गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज दिउँसो चार बजेसम्मको समय दिएकी छन् ।


थापाले पार्टीको निर्णय मान्न अस्वीकार गरेपछि विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन सकस परिरहेको छ । दल सचेतक पियारी थापाले सभामुख अधिकारीलाई सांसद थापालाई दलको नेताबाट हटाएको जानकारी गराइसकेकी छन् ।


बहुमतको लागि ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । ६१ सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

यो पनि पढ्नुहोस :

गण्डकीमा नयाँ ट्विस्ट : कांग्रेसलाई समर्थन नगर्ने जनमोर्चा सांसदको घोषणाले हंगामा

कर्णाली प्रदेश सरकारका दुई मन्त्री द्वारा अचानक राजिनामा, ३ मन्त्री नियुक्त

शीर्ष समाचार

धेरै पढिएको