September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
नयाँ सरकार गठन गर्न ३ दिनको समय सिमा : को बन्ला अबको प्रधानमन्त्री, ओली कि देउवा ?

नयाँ सरकार गठन गर्न ३ दिनको समय सिमा : को बन्ला अबको प्रधानमन्त्री, ओली कि देउवा ?

वैशाख २७, काठ्माण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

को बन्ला अबको प्रधानमन्त्री – ओली कि देउवा ?

अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (नेपाल) को उपेन्द्र यादव पक्ष सहमत छ ।

प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादीको ४८ र जसपाको ३२ सांसद रहेका छन् । जसपाका १६ जना सांसद मात्रै यादव नेतृत्वको समूहमा छ । आफ्नो नेतृत्वमा सरकार निर्माणको दावी गर्न देउवाले सिंगो जसपाको जसपाको समर्थन लिनुपर्ने हुन्छ ।

संसदमा नेमकिपाको १, राप्रपाको १ र राष्ट्रिय जनमोर्चाको १ सांसद रहेका छन् । ती सबैले समर्थन गर्दा पनि देउवाले जसपाको ३२ मध्ये कम्तीमा २४ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतको समूह यथास्थितिमा नयाँ सरकार गठनप्रक्रियामा सहभागि हुने सम्भावना कम छ ।

जसपाको पूर्ण समर्थन नजुटेको अवस्थामा संसदमा बहुमत पुर्याउन देउवाले नेकपा एमालेभित्र माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षा गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुई भन्दा बढी दलले बहुमतसहित दावी पेश नगरेमा संविधानको धारा ७६ को ३ अनुसार सरकार निर्माणको बाटो खुला हुनेछ । सो धारामा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्ने प्रावधान रहेको छ । उक्त प्रावधान अनुसार ओली नै पुनः प्रधानमन्त्री बन्ने सम्भावना छ ।

शीर्ष समाचार

धेरै पढिएको