June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
पार्टी एकता जोगाउन नेपालले पठाए ओलीलाई ६ बुँदे प्रस्ताव सहित पत्र (पत्र सहित)

पार्टी एकता जोगाउन नेपालले पठाए ओलीलाई ६ बुँदे प्रस्ताव सहित पत्र (पत्र सहित)

वैशाख २७, काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहितको पत्र पठाएका छन् । विभाजनको संघारमा पुगेको नेकपा एमालेको एकता कायम राख्नका लागि भन्दै उनले पत्र पठाएका हुन् ।

आइतबार दिनभर जस्तो सहमतिका लागि भएका वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २०७५ को जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।

सो बैठकपछि नेता नेपालले गएको फागुन २३ यता भएका कमीकमजोरीहरु औल्याउँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् । उनले पत्रमा शर्तहरुसहित पार्टी एकता कायम राख्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गएको फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट भंग भएको थियो ।

पत्रमा भनिएको छ, ‘उक्त दुई पार्टीहरु पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनु पर्थ्यो । त्यसो नगरी तपाईँले गत फागुन २८ गते पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भंग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । त्यसरी आयोजक कमिटी गठन गर्दा हामी लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारीनिर्णय गर्नुभयो ।’

पत्रमा अघि नेपालले भनेका छन्, ‘त्यतिले मात्र नपुगेर तपाईँले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्य समेत चारजनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो । प्रतिनिधिसभाका हामी ३० जना सदस्यहरुलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टिकरण सोध्नु भयो । पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दै कार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो । प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीहरुलाई विघटन गर्नुभयो ।’

‘जनसंगठन र पेशागत संगठनहरुमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुट बाहेकका व्यक्तिहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । तपाईँका यस्ता पार्टी विधान विपरीत तथा लोकतान्त्रिक मान्यता विपरीतका क्रियाकलापहरु सच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरुमा समेत आग्रह गयौं । तर त्यसप्रति तपाईले कुनै सुनुवाई गर्नुभएन । यसबाट देश, जनता र पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईले प्रतिनिधि सभामा यही वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नु भएको छ ।’

नेता नेपालले आइतबार आएको ओलीको वक्तव्यलाई अहंकार र विद्वेषपूर्ण भनेका छन् । ‘वक्तव्यमा तपाईँले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ ।’

नेता नेपालले पत्रमा उल्लेख गरेका ६ बुँदाहरु यस्ता छन्ः

१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।

२) नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।

४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप(प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।

५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।

६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने । हामीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुक्त कुराहरुलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आव्हान गर्दछौं ।

हाम्रा उक्त जायज आवाजहरुलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ । त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसको लागि पनि जिम्मेवार तपाई नै हुनुहुने छ।

एकताका लागि गरिएको प्रस्ताव स्वीकार नगरेमा आफूहरुले सांसदबाट राजीनामा दिने पत्रमा नेता नेपालले उल्लेख गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको