June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल सँग गृहमन्त्री बादल यसकारण लड्ने छैनन्

राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल सँग गृहमन्त्री बादल यसकारण लड्ने छैनन्

वैशाख २३, काठ्माण्डौ । राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल सँग गृहमन्त्री बादल लड्ने सम्भावना घटेेेेको छ । बागमती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बैशाख २४ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । तर, सत्तारुढ एमालेलाई उम्मेदवारी मनोनयन गर्ने एक दिन अघिसम्म पनि उम्मेदवार तय गर्न कठिन भएको छ । एमालेले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । यद्यपि ओपचारिक निर्णय भने भइसकेको छैन ।

बिहीबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति सदस्य बैठकले उक्त उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने भने पनि एमालेकै माधव पक्षले मत नदिने विश्लेषण भएपछि बादल चुनाव लड्न हच्किएका छन् ।

बागमती प्रदेशमा एमालेको मत एकै ठाउँमा पर्दा र साझा उम्मेदवार बन्दा सजिलै जित्ने निश्चित भए पनि पार्टी विवादका कारण असन्तुष्ट पक्ष खनाल नेपाल समूहले ओलीले उठाएका उम्मेदवारलाई मत नदिने निश्चित छ । यस्तो अवस्थामा कसलाई उम्मेदवार बनाउने भन्ने ओली समूहलाई कठिन भएको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने बताएका थिए । ओलीले गत बैशाख १० गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा थापालाई नै उम्मेदवार बनाउने बताएका थिए । तर, विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार उठाउने निर्णय गरेको र त्यसमा माधव पक्षले समेत साथ दिने भएपछि एमाले हच्किएको हो ।

‘एमाले एक ढिक्का हुँदा हामीलाई जित्न सहज थियो, तर एमालेकै माधव पक्षले भोट हाल्ने स्थिति देखिएन । त्यही भएर बादललाई उम्मेदवार बनाउने वा अरु भन्नेमा निर्णय हुन सकेन’, ओली पक्षका एक स्थायी समिति सदस्यले भने ‘आज बेलुकासम्म टुंगो लाग्छ ।’

काँग्रेस, माओवादीले संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमाले निकट वाम बुद्धिजीवी भनेर चिनिएका देवकोटालाई माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको माधव नेपाल पक्षको समर्थन छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएअनुसार बुधबार देवकोटाको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

अहिले एमालेको असन्तुष्ट पक्ष माधव नेपाल पक्षका उम्मेदवारलाई माओवादी र कांग्रेसले समर्थन गरेपछि एमालेको मतभार झण्डै आधाले घट्नेछ । त्यसो हुनेबित्तिकै आफ्ना उम्मेदवार पराजित हुने आकलन गरेर एमालेले बादललाई उम्मेदवार नबनाउने लाइन लिएको छ । बादलनिकट स्रोतका अनुसार औपचारिक निर्णय त भइसकेको छैन तर बादलको उम्मेदवार हुने सम्भावना कम छ ।

सग्लो एमालेसँग प्रदेश र स्थानीय तहको मतभार जोड्दा एमालेको ५१३० हुन आउँछ । कांग्रेसको २२६२, माओवादी केन्द्रको १७००, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको १३२-१३२ तथा जसपाको ६६ मतभार हुन्छ ।

त्यसरी हिसाब गर्दा एमाले उम्मेदवार बादलसँग ५१३० मतभार हुन्छ भने विपक्षी गठबन्धन कांग्रेस, माओवादी र जसपासँग ४०२८ मतभार मात्रै हुन्छ । विवेकशील साझा, राप्रपा र नेमकिपाको पनि विपक्षी गठबन्धनमा थपिएको अवस्थामा ४३८८ मतभार हुन्छ । तर, राप्रपा र नेमकिपा एमालेसँग निकट देखिएकाले त्यो मत एमालेमा थपिँदा ५३९४ मतभार हुन्छ । र, विपक्षी गबठन्धनको मतभार घट्छ ।

यद्यपि विवेकशील साझाको मत विपक्षी गठबन्धनमा कायम रहेको अवस्थामा ४१७० मतभार हुन्छ । यति हुँदा पनि एमाले उम्मेदवार बादल नै बलियो देखिन्छन् । तर, देवकोटाका लागि एमालेको नेपाल समूहका २२ जना प्रदेशसभाको मतभार १०५६ मात्रै थपिँदा पनि देवकोटाको पक्षमा ५२२६ मत हुन्छ । र, एमालेको मतभार घटेर ४३३८ मात्रै हुन्छ ।

त्यस्तो अवस्थामा एमालेभित्र नेपाल समूहका स्थानीय तहमा प्रमुख र उपप्रमुखले देवकोटाको पक्षमा मतदान नगर्दा पनि उनी बलियो देखिन्छन् । तर, नेता नेपालनिकट स्थानीय तहमा प्रमुख र उपप्रमुखले पनि देवकोटाको पक्षमा मतदान गर्ने भएकाले मतभार अझ बढ्नेछ । र, एमालेको मतभार घट्नेछ । यसले एमालेका उम्मेदवार बादललाई स्वतः पराजित गराउनेछ ।

यही मतभार विश्लेषण गरेर मात्रै एमालेले बादललाई उम्मेदवार बनाउनेछ । नत्र एमालेले दोस्रो तहको नेतालाई उम्मेदवार बनाउनेछ ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।

लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिइ काँग्रेस  प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको राष्ट्रियसभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।

०७६ असारमा  देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन्।

देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन्।

शीर्ष समाचार

धेरै पढिएको