May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
जसपा बिभाजनको अन्तिम संघारमा : बाबुरामका स्वकीय सचीव पाण्डेले खोले सबै पोल

जसपा बिभाजनको अन्तिम संघारमा : बाबुरामका स्वकीय सचीव पाण्डेले खोले सबै पोल

वैशाख २१, काठमाडौं । जनता समाजवादी पार्टी फुटको अन्तिम संघारमा पुगेको बताइएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका निकट सहयोगी तथा स्वकीय सचीव विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् ।

सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशी विदेशी शक्तिहरूले घरदैलो गरिरहेको आरोप पाण्डेले लगाएको छ ।

पाण्डेले सामाजिक सञ्जालमा लामो वक्तव्य दिँदै उनले भनेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । ‘ पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोप लगाएका छन् ।

यस्तो छ, पाण्डेको वक्तव्य :

नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्कक काण्ड, सुरासुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका छन् । यो बीचमा नेपालको नदीनालामा निकै पानी बग्यो । पानी मात्रै होइन, हजारौं नेपालीको रगत र पसिना पनि बग्यो । व्यवस्था परिवर्तन गर्ने क्रान्ति र आन्दोलनहरु भए । जसले संसदीय राजनीतिमा लागेको त्यो दाग मेट्ने अपेक्षा गरिएको थियो । सुसंस्कृत राजनीति मार्फत । तर विडम्बना ती घृणा गर्न र बिर्सनलायक सबै काण्डलाई माथ गर्ने खालको, संसदीय राजनीतिलाई थप विकृत बनाउने कुकृत्य नेपाली राजनीतिमा पुनः हुन थालेको छ ।

सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न पनि तयार भएर आएको छ । प्रतिपक्षी दल पनि अराजनीतिक नाङ्गो नाँच हेरेर आनन्द मानिरहेको छ । काँग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ । हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ ।

यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लागौं ! यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो । यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ । क्रान्ति र आन्दोलनमा भएका वलिदानहरू खेर जानेछ । जनताका अपेक्षाहरू धुमिल हुनेछ । त्यसकारण यसलाई बेलैमा रोकौं, सबै सचेत बनौं । हाम्रो पुस्ता त यस्तै भयो, कम्तिमा हुर्कँदै गरेको भावी पुस्ताको लागि सोचौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको थियो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व प्रधानमन्त्री ओलीप्रति नरम छ भने उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनतिर देखिएको छ ।

यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर पक्षले राजनीतिक सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरूलाई फोन गरेर जानकारी सङ्कलन गरिरहेको तथा मङ्गलबारसम्म काठमाडाैं आउन सूचना दिइएको थियो ।

केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र झाले बताए ।

महन्त पक्षले आफुनिकट कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली पेपरमा हस्तान्क्षेर बनाएको पनि बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको