May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
लुम्बिनीमा कुलप्रसाद तर्फ लागेका भनिएका श्रीवास्तव र शाही पनि मुख्यमन्त्री पोखरेलकै पक्षमा

लुम्बिनीमा कुलप्रसाद तर्फ लागेका भनिएका श्रीवास्तव र शाही पनि मुख्यमन्त्री पोखरेलकै पक्षमा

वैशाख २०, बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् ।

सोमबार एक प्रेस वक्तव्य जारी उनिहरूले पोखरेलकै पक्षमा रहेको जानकारी गराएका हुन । सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए ।

तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका छन् । आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको भन्दै उनीहरुले भनेका छन्, माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

आइतबार नेकपाका एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएपछि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले श्रीवास्तव र शाही सहित ४२ जना सांसदको बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका थिए ।

गठबन्धन दल माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट ४२ सांसदको बहुमत भएको भन्दै केसीले मुख्यमन्त्री घोषणा गरेका थिए । उनलाई चार दलले मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

पोखरेल सँग ३७ जना मात्रै सांसद रहेको मुख्यमन्त्रीमा पोखरेललाई नियुक्ति गरेर शपथ ग्रहण गररेर दुर्घना निम्त्याइएको केसीले दावी गरेका थिए ।

उनले मुख्यमन्त्री आफू नै भएको बताउँदै कर्मचारीलाई पनि त्यहीअनुसार काम गर्न निर्देशन दिएका थिए । तर आज श्रीवास्तव र शाही एमाले संसदीय दल प्रती प्रतिवद्ध भएको बताएका छन । कुलप्रसाद केसीले आफ्नो हस्ताक्षर प्रयोग गर्नु त्रुटिपूर्ण रहेको उनिहरूको भनाइ छ ।

यता मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद पनि विस्स्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।

रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुबैजनाले शपथ ग्रहण गरेका छन् ।विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै आइतबार विहान राजिनामा दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको