June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
लुम्बिनीको राजनीतिक घटनाक्रम बारे भिम रावलले दिए यस्तो कडा प्रतिक्रिया

लुम्बिनीको राजनीतिक घटनाक्रम बारे भिम रावलले दिए यस्तो कडा प्रतिक्रिया

बैशाख १९, सल्यान । नेकपा एमालेका नेता भीम रावलले लुम्बिनी प्रदेशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमबारे कडा टिप्पणी गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला पोखरेलले राजीनामा दिएका थिए भने उनी आजै पुन: मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

यसबारे नेता रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला भएको टिप्पणी गरेका हुन्।

‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्ने गरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,’ उनले ट्वीट गरेका छन्, ‘प्रम केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला।’

पोखरेल पुन: मुख्यमन्त्री भएपछि एमालेकै एक सांसदले राजीनामा दिएका छन्। साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजीनामा दिएका एमाले लगायतका ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएको छ।

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धनले ४२ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ।

४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेको हो।

प्रदेश प्रमुख यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतका आधारमा भन्दै मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन्।

यसमा काग्रेसका १९, माओवादीका १८, जसपाका २, जनमोर्चाका १ सहित सूर्य चिन्हबाट चुनाब लडेका २ जनाको हस्ताक्षर छ।

सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि गठबन्धनका पक्षमा हस्ताक्षर गरेका छन्।

यसले केहीबेरअघि एकल बहुमत पुगेको भन्दै पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विवादमा परेको छ।

शीर्ष समाचार

धेरै पढिएको