September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
गण्डकीमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पारित गराउन सांसदहरूलाई रिसोर्टमा राखियो

गण्डकीमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पारित गराउन सांसदहरूलाई रिसोर्टमा राखियो

बैशाख १४, पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गराउन कांग्रेस र माओवादी केन्द्रले सतर्कता अपनाएका छन् । मुख्यमन्त्री पक्षले सांसद किनेर सत्ता जोगाउने प्रयास गरेको भन्दै सांसदहरुलाई होटलमा राखिएको छ ।

लेकसाइडस्थित कुटि रिसोर्टमा २३ जना सांसदलाई राखिएको हो । गुडविल होटलमा पनि दुईजना प्रदेशसभा सदस्यलाई राखिएको छ । गुडविलमा बस्ने सदस्यहरु भने जनता समाजवादी पार्टी (जसपा)का छन् ।

प्रदेशसभासमा जनमोर्चाका तीनजना सदस्य भएपनि उनीहरु भने होटलमा बसेका छैनन् । गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका १२ सदस्य छन् । कांग्रेस र माओवादीका सदस्यहरु भने कुटिमा बसिरहेका छन् ।

प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव पास हुन ३१ जना चाहिन्छन् । एकजना सदस्यलाई पनि सत्तापक्षले प्रलोभनमा पार्न सक्ने सम्भावना भएको हूँदा कांग्रेस र माओवादी केन्द्र ढुक्क छैनन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा जनमोर्चाको पनि साथ रहेको छ । अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि प्रदेश सरकारले संसदको हिउँदे अधिवेशन हठात रुपमा मध्यरातमै अन्त्य गरेको थियो ।

सोमबारदेखि बिशेष अधिवेशन बोलाइएको छ । अप्ठेरो आउनसक्छ,’ एक सांसदले भने, ‘त्यसैले सुरक्षित हुनका लागि पनि हामी एकैठाउँ बसेका हौ ।’

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नै मन्त्रीमा नियुक्ति गरेर सत्ता जोगाएका थिए । गण्डकीका मुख्यमन्त्रीले पनि त्यस्तै चलखेल गर्नसक्ने बिपक्षीले अनुमान लगाएका छन् ।

स्रोत: दृष्टि न्युज

शीर्ष समाचार

धेरै पढिएको