June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
बैशाखमा चुनाव हुदैन, चुनाव भएपनि हामीलाई हराईन्छ : बस्नेत

बैशाखमा चुनाव हुदैन, चुनाव भएपनि हामीलाई हराईन्छ : बस्नेत

पौष २३, सल्यान । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड माधव समुहका केन्द्रिय सदस्य, सल्यान इन्चार्ज तथा पुर्व मन्त्री टेकबहादुर बस्नेतले बैशाखमा चुनाव हुन्छ भन्नू भ्रम रहेको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद विघटन गरेपछि आन्दोलित भएको प्रचण्ड – माधव समुहको देश ब्यापी कार्यक्रम अनुसार बिहिवार (आज) सल्यानमा नागरिक समाज सँग आयोजना गरिएको अन्तरक्रिया बोल्दै उनले यस्तो बताएका हुन ।

ओली सरकारले बैशाखमा घोषणा गरेको चुनाव हुन्छ भन्नू भ्रम भएको बताउदै उनले २ ठुला कम्युनिस्ट पार्टी मिल्दा पनि पुरै दुई तिहाइ नपुगेकोले अहिले फुटेको अवस्थामा जित नहुने र चुनाव भैहाले पनि त्यो चुनाव निश्पक्ष हुनेमा बिश्वास नभएको बताए । केपी सरकारले चुनाव बनाईहाले पनि त्यो चुनाव ज्ञानेन्द्रले बनाएको जस्तो चुनाव हुने र त्यसमा नियोजितरुपमा आफुहरूलाई हराइने उनले बताए ।

“चुनाव हुन्छ कि भन्नू भ्रम हो ।” उनले भने – “यदि चुनाव हुने नै भयो भने पनि त्यो चुनाव ज्ञानेन्द्रले बनाएको जस्तो हुन्छ । त्यसमा हामीलाई हराइन्छ र त्यसमा हाम्रो मतहरू पनि सुरक्षीत हुन्छ भन्ने केही छैन ।”

गणतन्त्र बचाउन नागरिक समाजलाई अपिल

नेता बस्नेतले नेपाली जनताको रगत र पसिना बाट आर्जेको गणतन्त्र र संबिधानलाई कू गरिएको बताउदै गणतन्त्र बचाउन सारथीको भुमिका खेल्न नागरिक समाजलाई अपिल गरेका थिए ।

“यो देशमा गणतन्त्र आउनुमा नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, बौद्धिक समुदाय सबैको महत्त्वपूर्ण भुमिका छ ।” उनले भने – “हिजो यो ब्यबस्था ल्याउन सारथि बनेको नागरिक समाजले आज यसलाई बचाउन पनि सारथीको भुमिका खेल्नुपर्छ ।”

राजनीतिकमा कहिलेकाही असामान्य घटना परिघटना घट्ने बताउदै उनले अहिले नेपालको राष्ट्रिय राजनीतिमा संसद विघटनको घटना असामान्य खालको भएको बताए ।

नेकपामा केपि ओलीलाई घेराबन्दी गर्दा अहिले परिणाम आएको भन्नेहरूलाई लक्षित गर्दै नेता बस्नेतले नेकपाको आन्तरिक विवादमा के भयो भन्ने भन्दा पनि कस्ले संबिधान मान्यो र कस्ले मानेन भन्ने कुरालाई आधार मानेर अहिलेको बिषय र परिस्थितिलाई केलाउन र बुझ्न जरुरी भएको बताए ।

देशमा संबिधानको सर्वोच्चतालाई स्वीकार्न त्यत्रो आन्दोलन र बलिदान भएको स्मरण गर्दै उनले भने – “संबिधानको सर्वोच्चतालाई स्वीकार्न यत्रो बलिदान भयो । संबिधानको पालना कस्ले गर्यो कि गरेन भन्ने कुरालाई आधार मानेर बिषयलाई केलाउने र बुझ्नुपर्ने हुन्छ ।”

केपी ओलीले आफुलाई स्थिरताको पक्षपाती दाबी गरेपनि व्यबहारले त्यस्तो पुष्टि नगरेको उनले बताए । बैशाखमा ल्याएको दल बिभाजन सम्बन्धि अध्यादेश र अहिले संसद विघटन गर्नुले पनि उनी स्थिरताको पक्षमा नरहेको पुष्टि गरेको उनले दाबी गरे । प्रचण्डको उदार स्वभावको कमजोरी उठाएर केपीले पटकपटक प्रचण्डलाई धोका दिएको उनको आरोप छ ।

अहिलेको संकट नेकपाको मात्रै होइन : श्रेष्ठ

त्यस्तै अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा कर्णाली प्रदेश सदस्य तथा पूर्व बिधायिका धिरेन्द्र श्रेष्ठले अहिलेको संकट नेकपाको मात्रै नभएको दाबी गरे । केपी ओलीले दल बिभाजन गरेर अर्को दल बनाएको यत्रो समस्या नहुने तर संसद विघटन गरेर आम जनता तथा देशलाई प्रभावित गरेको उनले बताए ।

स्थीरताको लागि २०७२ को संबिधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताउदै उनले संसद विघटन गरेर जनताको अधिकारलाई प्रभावित गर्ने काम भएकोले जनतालाई सार्वभौम बनाउन नागरिक समाज पनि जिम्मेवार बन्नुपर्ने आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी सदस्य रमेश गौतमले राजनीतिक, संवैधानिक र व्यवहारीक हिसाबले पनि प्रधानमन्त्रीले चालेको कदम ठिक नभएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यान शाखा अध्यक्ष प्रतीक इच्छुक शर्माले महासंघले प्रधानमन्त्रीको कदमको सुरु देखिनै बिरोध गरेको बताउदै प्रधानमन्त्रीले देशको संबिधान र पार्टीको सिष्टम मान्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार, सामाजिक संघ संस्थामा आवद्ध अधिकारकर्मी, कानुन व्यवसायी तथा शिक्षक बुद्धिजीवीहरूको सहभागीता रहेको थियो ।

फाइल फोटो

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको