September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
केपीसँग प्रतिष्पर्धा गर्नका निम्ति केशव स्थापित एक्लै काफी

केपीसँग प्रतिष्पर्धा गर्नका निम्ति केशव स्थापित एक्लै काफी

• केशव स्थापित

केपी ओलीलाई जेलबाट निस्केपछि युवासंघको संयोजक बनाउने हामी हौँ । मेची–महाकाली अभियान चलाएर स्थापित गर्ने मान्छे पनि हामी नै हौं । मदन भण्डारीले नै अल्छीको उपमा दिनुभएका केपीजत्तिको मान्छेलाई चलायमान बनाउन हामीले गरेको कोसिस इतिहासले सम्झना गरिरहनेछ । उनी विकासप्रेमी हुन्थे भने आज यो संसद् विघटनको काम गर्ने थिएनन् । संसद् विघटन गर्नु, मुुलुकलाई अस्थिरतामा लैजानु भनेको विकासको बाटो अवरुद्ध गर्नु हो ।

यदि, उनी विकास चाहन्थे भने काठमाडौंको मेयरमा विकासप्रेमीहरूलाई नै ल्याउँथे र बाग्मती प्रदेशको विकास हेर्ने भौतिक योजना मन्त्रालयबाट हामीलाई आउटडेटेड डोरमणिको पछि लागेर हटाउने काम गर्दैनथे ।

यद्यपि, राम्रो पक्ष के छ भने उनी मानिससँग घनीभूत सम्पर्कमा बस्छन् । अहिले पनि भर्खर आफूद्वारा भूपू बनाइएका सांसद बोलाउने, वडा–वडाको मान्छे भेला गराएर केन्द्रीय सदस्य बनाउने, स्वास्थ्य यस्तो धराप हुँदा पनि बालुवाटारमै घण्टौं दुःखसुख सोध्ने, नाफा नोक्सान हेर्ने काम गरिरहेका छन् । यो काम हिजो गरेनन् । अहिले जब संकट पर्न थाल्यो, तब गर्दैछन् । र, मलाई पनि एक महिनाअगाडि बोलाएर भनेकै हुन्, तपाईं अब ६ नम्बर निर्वाचन क्षेत्रमा भीमसेनदास प्रधानको ठाउँबाट चुनाव लडेर पछि मन्त्री बन्ने हो, भौतिक योजना र शहरी विकास मन्त्रालय गाभेर नेतृत्व गर्ने हो । मलाई सघाउने हो ।

भर्खरै पनि गोकुल बाँस्कोटालाई पठाएर कृष्णगोपाल श्रेष्ठलाई उपत्यकाको पार्टी काम हेर्ने जिम्मा दिइएको छ, उनी शिक्षामन्त्री पनि भए । तर, यताउता कुदाइको कारणले अरू काममा ध्यान दिन पाउन्नन् । जे भयो, भयो दाइ ! बिर्सनुस् पुरानो कुरा । अब चुनावी कमाण्डर (उपसंयोजक) भएर उपत्यका हाँक्ने हो तपाईंले भनेका छन्, सोहीबमोजिम मलाई अस्ति केन्द्रीय सदस्य बनाएर त्यो भीडमा शपथ खुवाएका छन्, मुड्की पनि उचाल्न लगाएका छन् ।

तर, हेर्नुस् त प्रचण्ड । मेरै घरमा आएर मसँग मित लगाउने मान्छे । उनी केही कुरो भन्नुपरे पनि भतिज समिर दाहालमार्फत फोन गर्न लगाउँछन् । माधव नेपाललाई मैले एक महिना नै अगाडि गएर कमरेड, यसरी जाने होइन, अविश्वासको प्रस्ताव राख्नुस् र ३ नम्बर प्रदेशलाई राम्ररी ड्राइभ गर्ने हिसाबले लैजानुस् । यसरी हुँदैन । देशैभरि नै त्यो अभियान छेड्नुस् भनेकै हुँ ।

झलनाथ खनालले केही भन्नु परे रामेश्वर श्रेष्ठमार्फत कुरा आउँछ । यिनीहरू सीधै कुरा गर्न सक्दैनन् बोलाएर । देशभरिका सबैसँग फोनवार्तासम्म पनि गर्दैनन् । उता, केपी ओलीको गति कस्तो छ हेर्नुस् । बुटवलमा एमालेको आठौं महाधिवेशन हुँदा संयोगवश राजु श्रेष्ठ भन्ने साथीको घरमा हामीले डेरा जमाएका रहेछौँ । म माथिल्लो तलामा, केपी ओली तल्लो तलामा । त्यो बेला मलाई ६ चोटिसम्म केपीले भने, तपाईं र शंकर पोखरेललाई म आफ्नो प्यानलबाट पार्छु । यताबाट हालेपछि उताकाले पनि हाल्न बाध्य हुन्छन् । मैले अहिले नै नजिते पनि तपाईंहरुले जित्नुहुन्छ । त्यही बेलादेखि मेरो राजनीतिक अवसान शुरु भयो । म न यता न उताको भएँ । यताकाले पनि प्यानलमा हालेनन् । वामदेव गौतम मेरो मुखमा प्यारालाइसिस भो भनेर काठमाडौं फर्किहाले ।

झलनाथले ओलीको मान्छे भनेर मलाई बोक्ने कुरा भएन । अन्तिममा केपीले समेत मेरो नाम हालेनन् । र, यसरी उदयराज पाण्डे (हालः मलेसियामा राजदूत) र म लथालिंग भयौँ तर हामी विकासप्रेमी हो । काठमाडौंको मेयर र तीन नम्बर प्रदेशको मन्त्री हुँदा मैले गरेका कामहरू, मेरा योजनाहरू सबैसामु छर्लंग छन् । म विकास गर्न चाहन्छु तर केपी ओलीलाई विधि, प्रक्रिया, संविधान, विधान केही पनि चाहिएको छैन ।

खासमा भन्नुपर्दा यो संसद् विघटनपछि उनको र राष्ट्रपतिको उपादेयता पनि सकियो । यिनीहरू कुनै निर्दिष्ट मिसनमा गएको देखिन्छ । र, अब सरकार अस्थिर हुने भएपछि, संसद् नै नरहेपछि कसरी देशमा विकासको मूल फुट्छ ? सरकार टिकाउन वा यस्तै–यस्तै कुरामा मात्रै अलमल हुने भयो । अहिले वडाका मान्छे केन्द्रमा पुगेका छन्, गाउँपालिकाका अध्यक्ष, नगरका मेयर, उपमेयर मास्तिर तानिएका छन् ।

उनीहरूले भोलि कुन मुखले, कुन कुराको लागि विगतमा भोट मागिएको थियो, अब के गर्ने भनेर जनताबीच जाने ? राजनीति नेताहरूले गरुन् । मलाई विकासको जिम्मा दिए गर्न सहर्ष तयार छु । मसँग सयौँ योजना छन् । नुवाकोट, विदुरको विकास कसरी गर्ने ? धादिङ सल्यानटारको २० हजार रोपनी जग्गा बूढीगण्डकी परियोजनाका कारण बिक्री–वितरण रोकिए पनि त्यसलाई तालतलैयाको भूमि बनाएर भारतीय पर्यटकलाई कसरी आकर्षित गर्ने ? भन्ने योजना छ ।

हेटौँडा मात्र होइन, चितवनदेखि सिन्धुलीसम्मका क्षेत्रको कसरी विकास गर्ने ? प्रादेशिक स्वास्थ्य नानीहरूलाई गाउँ–गाउँमा, घर–घरमा पठाएर बालक, वृद्धहरू सबैको स्वास्थ्य जाँच गराउने योजना मसँग छ । हेटौँडा अपायक पर्‍यो भन्नेहरूलाई पनि खुशी पार्ने योजना छ । भक्तपुर सल्लाघारीमा एउटा अलपत्र परेको घर छ भाटभटेनी सुपरमार्केटको छेउमै अगाडिपट्टि । एक अर्ब पाँच करोड भनेको छ त्यो १४ तले भवनलाई । त्यसमा प्रदेशको सम्पर्क कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय ल्याएर सारा काम केन्द्रसँग समन्वयमा गर्न सकिन्छ ।

यतातिर नेताहरूको ध्यान गएको देखिएको छैन । मलाई जिम्मा भयो भने केपीसँग प्रतिष्पर्धा गर्नका निम्ति केशव स्थापित एक्लै काफी छ । मेचीदेखि महाकालीसम्म अभियान छेड्न सकिन्छ । बिहान बिहानै क्याबिनेट बस्ने, योजना पास गर्ने, बजेट र स्रोत–साधन उपलब्ध गराउने भयो भने कसले विरोध गर्छ यस्तो कुराको ? तर अहिले प्रचण्डसँग कुरा गरौँ अष्टलक्ष्मीलाई देखाइदिने, माधवसँग कुरा गरे शालिकरामतिर सोझ्याइदिने । यसले मेरो मन दुखेको छ ।

प्रतिभाहरूलाई जसको जे क्षमता छ त्यहीअनुसार सदुपयोग गर्न सके आफ्नो ठाउँबाट योगदान दिन तयार छु । बालुवाटारको भेलामा शेरबहादुर तामाङ जानुभयो र मेरो नाम नदेखेपछि खै केशव स्थापित ? उहाँको नाम नभइकन हुन्छ ? भनेर जोड गर्नुभयो । पछि उहाँ भूगोलले तपाईंलाई पाइला टेक्न दिन्नौं भनेपछि ब्याक हुनुभयो । भनेपछि हाम्रा पनि विकास निर्माणका साथीसंगी छन् ।

अहिले नेताहरू सबैले रिअलाइज गर्नुपर्ने बेला हो । योग्यतम मान्छेलाई विकासको अवसर दिनुपर्ने बेला हो । हिजो मलाई काठमाडौंको मेयर दिएको भए के बिग्रिन्थ्यो ? तर, राष्ट्रपतिको आग्रह भनियो । अष्टलक्ष्मीले अर्कैथोक भन्नुुभयो भनियो । र, अवसरबाट वञ्चित गरियो । को मान्छे कति क्षमताको छ, त्योअनुसार पो जिम्मा दिनुपर्ने तर गुटको राजनीति हाबी भयो । म राजनीतिक प्राणी हुँ, जस्तोसुकै परिस्थितिमा पनि जिम्मेवारी लिन तयार छु । राजनीतिभन्दा मलाई बढी विकासको चिन्ता, चासो छ । त्यतापट्टि जान तयार छु । जनआस्था बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको