September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
अध्यादेशको बाटो एकाधिकारवाद, सर्वसत्तावाद र प्रतिगमनको बाटो हो : सांसद, बस्नेत

अध्यादेशको बाटो एकाधिकारवाद, सर्वसत्तावाद र प्रतिगमनको बाटो हो : सांसद, बस्नेत

पुष ०१, सल्यान । सल्यान बाट निर्वाचित संघिय प्रतिनिधि सभा सदस्य, पूर्व सामान्य प्रशासन मन्त्री, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नेकपा सल्यानका ईञ्चार्ज माननिय टेकबहादुर बस्नेतले सरकारले हिजो ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश एकाधिकारवाद, सर्वसत्तावाद र प्रतिगमनको बाटो भएको बताएका छन ।

बुधबार सामाजिक संजाल फेसबुकमा “इतिहासको सर्वाधिक गम्भीर संकटमा नेपाली कम्युनिष्ट आन्दोलन” शिर्षकमा लामो लेख लेख्दै उनले यस्तो बताएका हुन । उनले लेखेका छन – “अध्यादेशको बाटो पार्टीभित्र भिन्नमत निषेधको बाटो हो, एकाधिकारवाद, सर्वसत्तावादको बाटो हो र सरासर प्रतिगमनको बाटो हो ।”

पार्टीमा राख्न सकिने कुरा आसन्न केन्द्रीय समितिकै बैठकमा राख्न सकिने र संसद अधिवेशन आव्हान गर्ने मुखमै आएर संवैधानिक परिषद् संबन्धी अध्यादेश ल्याएर पार्टी भित्र र बाहिरको लोकतन्त्रका विरुद्धको उक्त अध्यादेश असंवैधानिक भएको र तुरन्तै फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री केपी ओलीलाई १९ औं सताव्दीको साधुरो बाटो हिड्ने रहर किन लाग्यो भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन । उनले लेखेका छन – “गणतन्त्रले जम्बो- जेटविमानहरू अवतरण गर्न लायक ८ लेनका फराकिला आधुनिक राजमार्ग निर्माण गरिरहेका बेला १९ औं शताब्दीको साँगुरो गोरेटो बाटोमा हिड्न प्र.मं.ज्यूलाई के चीजले प्रेरित गर्यो र रहर लाग्यो ?

पढ्नुहोस पूरा आलेख:

नेपाली कम्युनिष्ट आन्दोलनमा आजसम्मको फूट-विभाजन र परिणाम विहिन रूग्न विरासत तोड्दै एकताको विरासतबाट अघिबढ्ने र समाजवादको लक्ष्यमा पुग्ने उद्धेश्यले नेपाली कम्युनिष्ट आन्दोलनका दुई शक्तिशाली धारहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट (एमाले) बीच २०७५ जेष्ठ ३ गते क.मदन भण्डारीको स्मृति दिवशका दिन पार्टी एकता भयो । यो विश्व सर्वहारावर्ग र नेपाली श्रमजीविवर्गका लागि खुशीको कुरा थियो भने संसारभरका प्रतिक्रियवादीहरूका लागि रोदनको कुरा ।

आज हाम्रो वर्गको खुशीयाली जमिनसम्म पुग्न नपाउँदै पार्टीमा फूट र विभाजनको घन्टी बज्नु निकै दुखदायी कुरा हो, यसले हाम्रो वर्ग विरोधीलाई खुशी बनाउँदछ, त्यो बाटो भुलेर पनि हामीले समात्न हुँदैन ।

आखिर के हो त पार्टी एकताको बाटो समात्ने र नछोड्ने भनेको ? नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको गणतन्त्र र संघीयता सहितको संविधानको रक्षा र कार्यान्वयन गर्नु, शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्नु, महाधिवेशन गरेर समाजवादमा पुग्ने पार्टी कार्यदिशा स्पष्ट गर्नु, विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको संश्लेषण गर्नु जस्ता गुरूत्तोर कार्यभार लगायत आजका अन्य कामहरु पनि सत्तारूढ पार्टीका काँधमा कम छैनन् ।

यसकारण आज हामी पार्टी स्थापनाकालमा जस्तो पार्टी स्थापना गर्ने,  कम्युनिष्ट शिक्षा दिएर  संगठन बनाउने सामान्य जिम्मेवारीमा मात्र छैनौंकि हामी आफैले ठूलो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकाश गरेर अघिबढ्ने चुनौतिपूर्ण कार्यभारमा समेत छौं । यो बेला स्वभावैले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहे पनि आक्रामक अवस्थामा रहेको नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु पनि पार्टी स्थापनाकालको जत्तिकै कठिन काम हो, यो अघिबढेर मात्र संभवछ, बिसौना बसियो र व्यक्तिगत काममा झैं अलमलिना थाल्यो भने विरोधीहरूले चुटीहाल्छन् नि !

यसर्थ पार्टी एकता बचाउन पार्टीका दुवै अध्यक्ष जति स्वतन्त्र हुनु हुन्छ, त्यति स्वतन्त्रता र छुट फूटका लागि पाउनु हुन्न । आफूसंग भएका जुनसुकै अस्त्र एकले अर्कोलाई बदल्नेमा प्रयोग गर्न छुट छ र बहादुरीको तक्मा सहित नेतृत्वको जिम्मेवारी पनि पाईहाल्नु होला, कसैका डाहले पुग्ने पनि छैन । निश्चय नै आजको पार्टी एकता बचाउनु ढुङ्गे जमिनलाई मग्मगी वासना आउने बगैचामा बदल्नु जत्तिकै कठिन कार्य हो, तर यो कठिन भए पनि गर्नै पर्ने कार्य हो ।

पार्टीमा राख्न सकिने कुरा आसन्न केन्द्रीय समितिकै बैठकमा राख्न सकिन्थ्यो, धैर्यताको गम बानेर बसेकै हो, यो मौसम बिनाको संसद अधिवेशन आव्हान गर्ने मुखमै आएर संवैधानिक परिषद् संबन्धी अध्यादेश ल्याएर पार्टी भित्र र बाहिरको लोकतन्त्रका विरुद्धको यो कदम असंवैधानिक छ र तुरन्तै फिर्ता लिनुपर्छ । अध्यादेशको बाटो पार्टीभित्र भिन्नमत निषेधको बाटो हो, एकाधिकारवाद, सर्वसत्तावादको बाटो हो र सरासर प्रतिगमनको बाटो हो ।

गणतन्त्रले जम्बो- जेटविमानहरू अवतरण गर्न लायक ८ लेनका फराकिला आधुनिक राजमार्ग निर्माण गरिरहेका बेला १९ औं शताब्दीको साँगुरो गोरेटो बाटोमा हिड्न प्र.मं.ज्यूलाई के चीजले प्रेरित गर्यो र रहर लाग्यो ? ३ करोड नेपालीहरू मध्य १% ले पनि बुझेनन् । हाम्रा रहरहरू त समाजवादको लक्ष्य चुम्ने दिशातिर सोझिएको स्पष्ट देखिने र बुझिने हुनुपर्छ होला नि प्र.मं.ज्यू !!!

(२०७७/०९/०१ : २०२० डिसेम्बर १६), निवास काठमाण्डौं

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको