September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
मर्नुअघि कमानसिंहले नारायणकाजी र श्रीमतीबारे यस्तो सन्देश लेखेका थिए ( सन्देश सहित)

मर्नुअघि कमानसिंहले नारायणकाजी र श्रीमतीबारे यस्तो सन्देश लेखेका थिए ( सन्देश सहित)

काठमाडौं, २५ मंसिर । पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको बुधबार राति कोरोना संक्रमणबाट निधन भएको छ । लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । २०४८ सालमा सांसद र ०६४ सालमा सभासद बनेका लामा उत्तर कोरियाका लागि नेपाली राजदूत समेत बनेका थिए ।

अध्ययनशील र दिग्गज मानिने नेता लामाले कोभिडसँग संक्रमित भएर जीवन मरणको संघर्ष गरिरहँदा अस्पतालकै बेडबाट मर्मस्पर्शी पत्र लेखेका छन् । पत्रअनुसार उनको पत्नीले सम्पत्ति लिएर अन्तै गएको अर्थ लगाउन सकिन्छ । उनले आफ्ना धेरै सपनाहरु अधूरै रहेको र पत्नीले विश्वासघात गरेको लेखेका छन् ।

नेताहरुले राजनीतिलाई गोलखाडी पुर्‍याइदिएको र परिवारबाट पनि धोका भएको सन्देश उनले भावुक सन्देशमा दिएका छन् । ‘यो जीवनको जीवन मरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरिखान मनग्य गरी दिएको छु! बाँकी जीवन मोज गर ! मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर ! आठै आश्चर्य हेर्ने घुम्ने भोक मैलेनै जगाई सकेको छु तिमीलाई सक्षम पनि छौ ! लौ बधाई प्रिय,’ उनले लेखेका छन् ।

उनको अन्तिम सन्देश छ, ‘कुनै माध्यमले काम नगरेपछि बडो सरमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय! यदि कथम् म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !’

पारिवारिक रुपमा समेत समस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । निकै भावुक बनेर लेखेको उक्त लामो स्टाटसमा आफुलाई सवैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् ।

यस्तो छ लामाको सन्देश-

आमा नाम नै कति मोहक शब्द ‘आमा’ । मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’ ।

प्रिय मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिंगरुपी बर्मुडा ट्र्याङ्गलमा फसेको छ ! तिमी यसलाई सामान्य लोग्ने-स्वास्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नु पर्छ भन्छन् । छ्या कति कुरुप सिलावरको डेक्ची कुचिएझै कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !

प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन मैले शीरमा राखेको थिएँ ! ढोंगीहरुलेत हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार !

जे होस तिम्रा जालझेल खेती सप्रेको नै छ । साधा जीवन, उच्च विचारका होर्दिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ । त्यो कत्तिको सहज लाग्छ कुन्नि ! मलाई त हाँडी घोप्टेजस्तो लाग्छ !

ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ ! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ ! हाँडीमा खिचडी बसाएर दुई बुढाबुढी गीत गाएर नाँची बसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ ! यही केशले हाँडीघोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !

हाम्रा महान पार्टीका महान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ ! थुई..क्क जाली फटाहा द्रव्य पिसाचहरु !

प्रिय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्र्याङ्गलमा फस्यो प्रिय !

१. मेरो DIGNITY स्वाभिमानको ट्र्याङ्गल

२. चल अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति

३. हाम्रोबीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरु !

यो हो हाम्रोबीचको अहिलेको बर्मूडाको ट्र्याङ्गल ।

याद गर प्रिय मैले तिमीलाई सबैकुरो सम्पत्तिसम्म सुम्पें । तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिईएको छैन ! धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ !

बरमुडा ट्य्राङ्गल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !

तर, यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो ।

जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो ! हामी बसेको भू-भाग गोण्डावना ल्याण्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो !

त्यसबखत ठूला ठूला भौगोलिक उथलपुथल भइरहन्थे ! एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी ध्रुवसँग छुट्टियो! ३ मिटर उत्तर सर्‍यो ! पृथ्वीबीचमा उसिनेको अण्डा बीचमा फ़ुटाएको जस्तो फुट्यो !

पृथ्वी दुई भागमा बाँडियो ! उत्तरी गोलार्द्ध पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !

यहि घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्र्याङ्गल बन्यो ! त्यो आजपर्यन्त अभेद्य छ !

त्यस्तै हामी हाम्रो बर्मुडा ट्र्याङ्गलमा फसेका छौं !

प्रिय,

तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरु अधुरानै रहने भए !

राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडी पुर्‍याई हाले ! के कुरा गर्ने !

तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने । विश्वका आठैवटा आश्चर्यको रस्वास्वादन गर्ने !

माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने ! गोन्जालोको देश हेर्ने ! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ ! त्यो तिमीले भाँडी दियौ !

मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रसास्वादन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो !

ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !

उलान बटोर र ऐतिहासिक गोवी मरुभूमीमा ऊँट चढ्ने सपना अधुरै रहने भयो !

मानव विकासक्रमको २४ लाख वर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यान ले गरेका उपलब्धी र आदिबारे अलि सुक्ष्म अध्ययन गरी हाम्रो ठुन्साका बारे भौतिकरूपमै उपस्थित भएर अध्ययन गर्ने !

दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरुले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्य चकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढ्ने ईच्छा अधुरै रहने भयो ।

हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त ऋतुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो !

प्रिय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे । म अरुले भनेजस्तै मृत्यु शैयाबाट भन्थेँ होला तर म भन्दिनँ ! कोभिडसँग पैंठेजोरी खेल्दैछु ! सायद म बाँच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि ! तर म आत्तिन्नँ !

यो अन्तिम घडीमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्ने त यो हालतमा दिंदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?

यो जीवनको जीवन मरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरिखान मनग्य गरी दिएको छु! बाँकी जीवन मोज गर ! मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर ! आठै आश्चर्य हेर्ने घुम्ने भोक मैलेनै जगाई सकेको छु तिमीलाई सक्षम पनि छौ ! लौ बधाई प्रिय ।

२८/३० वर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै सुखद नै रह्यो ! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विश्वासघात पाएँ !

मेरो सेयरको करीब दुई वर्षको सावाँ ब्याज मेरो खातामा जम्मा गरेर आइज । कुरो सहजै मिल्यो !!! उसले पैसा नदिए सिधै मसंग मिल्न आइज । हामी दुई भएर मुद्दा लडौं या रिजनल्ली मिल्न आए मिल्ने !

प्रिय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाई रहन्न भने ! सम्बन्ध छ भनी रहनुको औचित्यै के रह्यो र प्रिय !

कुनै माध्यमले काम नगरेपछि बडो सरमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय! यदि कथम् म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती ! साझापोस्ट बाट ।

शीर्ष समाचार

धेरै पढिएको