May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
अनुभुति । सान्दाजु म जिल्ला फर्किदै छु , के छ सन्देश ?

अनुभुति । सान्दाजु म जिल्ला फर्किदै छु , के छ सन्देश ?

म सानै थिए । विपि कोइराला सँग मेरो भेट बनारसमा पनि भयो तर त्यो भेटलाई म त्यति परिपक्क ठान्दीन । किनभने त्यो एउटा हुलमुलको बसाई थियो र म पनि उमेरले अपरिपक्क थिए ।

२०३९ साल साउन ६ गते उहाँको दहावसन भयो । त्यस भण्दा पहिला २०३३ मा उहाँ राष्ट्रिय मेलमिलापको निति लिएर काठ्माण्डौ आएपछि ( खास गरेर जनमत संग्रह अगाडि र पछाडिका बर्षहरुमा) उहाँ सँग लामो अन्तरक्रिया, कुराकानी र संगत गर्ने हैसियत मिल्यो ।

उहाँकै मुख्य आतिथ्यतामा भएका कार्यक्रमहरुमा सल्यान जिल्लाको तर्फ बाट प्रतिनिधित्व गर्ने अवसर पाए । आफ्ना कुराहरु राख्ने शिलशिलामा उहाँ बाट आसिर्वाद पनि प्राप्त भयो । ति सुखद क्षणहरु आज पनि ताजा संम्झना छन ।

विपि कोइराला एउटा टावरिङ् प्रसनालिटी ( उच्च व्यक्तित्व ) हुनुहुन्थ्यो । मान्छेहरुले त्यसै उहाँलाई देवत्वकरण गरेका होईनन् । त्यसै महामानव भनेका होईनन् । उहाँको व्यक्तित्व, कृतित्व, संघर्षशिलता, नेता कार्यकर्ता माथी विस्वास र सद्भाव, कुटनितिक क्षेत्रमा अंगिकार गरेको निति, नेहरु देखि पृथक विचार राख्ने माओ र फिडेल क्यास्ट्रो लगाएत सवै बिचार राख्ने नेताहरु सँग सहकार्य, कुटनितिक एवं मित्रवत सम्बन्धले उहाँमा विलक्षण प्रतिभा थियो ।

नेपाल जस्तो सानो मुलुकको नेता लोकतान्त्रीक समाजवादीहरुको अन्तराष्ट्रिय संस्थाको उपाध्यक्ष हुने भनेको चानचुने थिएन । सबैको विद्धता बाट, प्रतिभा बाट स्वंम पनि आकर्षित हुने, प्रभावित हुने र आफ्नो प्रभाव पनि बिस्तार गर्न सक्नु उहाँको सबै भण्दा ठुलो क्षमता हो ।

आज विपिलाई काङ्ग्रेसले मात्रै नभएर हाम्रो भण्दा फरक बिचार राख्ने व्यक्तिहरुले पनि संसारभर स्मरण गरेका छन । त्यो उहाँको व्यक्तित्वको उचाईको गुरुत्वले भएको हो ।

उहाँमा समाजको, समाजका विभिन्न अवयवहरुको, तन्तुहरुको सुक्ष्म बिश्लेषण र सस्लेशन गर्न सक्ने तथा नेपाली समाजको मात्र होइन विश्व राजनितीको चिरफार गर्न सक्ने विलक्षण प्रतिभा थियो ।

भोली हामि यो ठाउँमा जादैछौ । भोलीको राजनिति, अर्थनिति र विश्व यो ठाउँमा जादैछ भन्न सक्ने दुरदृष्टि र दुरगामि सोचले विपि कोइरालाको उचाई बढाएको थियो ।

त्यतिवेला विश्व दुइ ध्रुर्वमा वाडिएको थियो । साम्यावादी मुलुको नेतृत्व रुसले गरेको थियो भने पुजिवादी देशको नेतृत्व अमेरिकाले गरेको थियो । त्यतिवेला आफ्नो उच्च अध्ययनको कारणले विपिले के भन्नु भयो भने यि २ वटै कुरा हुदैन । पुजीवाद जसरी अगाडि बढेको छ, यसले सामाजिक न्याय दिन सक्दैन र हामिले खाली वितरणको (साम्यवाद) मात्रै कुरा गर्याै भने त्यसले पुजी निर्माण हुन सक्दैन । त्यसैले हामिले मध्यम धारको राजनिति गर्नुपर्छ । लोकतन्त्रलाई पनि स्थापित गनुपर्छ । जनताको मनोविज्ञानमा पनी जानु पर्दछ ।

उहाँले धेरै ठाउँमा भन्नु भएको छ– मान्छे इश्वर पनि हुन सक्दैन तर मान्छे त्यो भन्दा पनि तल झर्न सक्दैन । मान्छे, मान्छे नै हो । त्यसैले यहि बिचमा हामिले मानिसको, मानविय स्वभाव र चरित्रको अध्ययन गर्नु पर्दछ । मानविय संवेदनालाई त्यहि भित्र बाट झिकेर लिनु पर्दछ र त्यहि संवेदनको हाराहारीमा हाम्रो राजनितिलाई अगाडि बढाउनु पर्दछ । जव संवेदनाको कुरा आउछ, त्यहाँनेर लोकतन्त्र आउछ । मानविय स्वतन्त्रता नै प्रमुख मुद्धा बन्छ ।

यसरी विपिले प्रजातन्त्र प्रतिको आफ्नो निष्ठालाई जसरी मानविय संवेदना सँग जोड्नु भयो । त्यो आफैमा एउटा नौलो धार थियो । उहाँले प्रजातन्त्रलाई खाली राजनितिक पद्धती सँग मात्र जोड्नु भएन । मानविय स्वाभाव र संवेदनालाई पनि अगाडि सार्नु भयो ।

उहाँ भन्नु हुन्थ्यो – मान्छेका लागी रोटि अनिवार्य हो तर रोटिले मात्रै पनि मान्छे बाँच्दैन । मान्छे (ब्रेन) मस्तिष्क बाट चल्छ । संवेदना बाट चल्छ र त्यो मानविय संवेदनाकै पक्षमा हामिले राजनिति अगाडी बढाउनु पर्छ । यहीनेर लोकतन्त्रको कुरा आउछ । त्यसैले यसलाई अलग गरीकन हामिले मानविय राजनिति गर्न सक्दैनौं ।

समाजवाद वारे विपि भन्नु हुन्थ्यो – प्रजातन्त्रको कुरा गरेर मात्रै पनि हुदैन । मान्छेले पेट पनि भर्नुपर्छ । त्यसको लागी आर्थिक क्रियाकलापहरुको आवस्यक्ता पर्दछ । त्यसको लागी हामिले समाजवादलाई अगाडि बढाउनु पर्दछ ।

समाजवाद प्रति उहाँको प्रष्ट कुरा थियो । समाजवाद भन्न वित्तिकै राष्ट्रिय पँुजीको निर्माण र त्यसको न्यायोचित वितरण । अर्काे शब्दमा भन्ने होे भने सामाजिक विभेदको अन्त्य र सामाजिक सुरक्षा ।

यो दुई कुरा लाई जव हामि सँगसँगै लिएर जान सक्दैनौं तव समाजको विकास हुन सक्दैन । आर्थिक विकास हुन सक्दैन । यसले समाजमा हुने र नहुने मान्छेहरु बिच दुरी बढाउछ । द्धन्द सिर्जना हुन्छ र त्यसले मानविय संवेदनालाई कठोर आघात गर्दछ ।

विपिमा राष्ट्रको लागी आफैलाई होम्न सक्ने ईच्छाशक्ती, भावना र समर्पन थियो । उहाँ भन्नु हुन्थ्यो – राष्ट्र भन्दा माथि कोहि छैन । राष्ट्र नरहे म पनि रहन्न । प्रजातन्त्र पनि रहन्न । त्यसैले राष्ट्र सवभन्दा ठुलो हो ।

समाज भित्र रहेका सवै, वर्ग, जाति, समुदाय, लिङ्ग सवैलाई एउटै सुत्रमा जव हामी उन्न सक्दैनौं तव नेपाल राष्ट्र बलियो बन्न सक्दैन । हामिले सामाजिक विभेदको अन्त्य गर्न सकेनौं र दलित, शोषित, अपहेलित, सामाजिक रुपमा पछि पारिएका मानिसहरुलाई जवसम्म आर्थिक, राजनितिक मुलधारमा ल्याउन सक्दैनौं तवसम्म राष्ट्र निर्माण हुन सक्दैन । होइन भने त्यस्तो राष्ट्रियता खोक्रो राष्ट्रियता हुन्छ । खोक्रो राष्ट्रियताले सत्तामा जान त सकीएला तर जनतालाई जोड्न सकिदैन र राष्ट्रको मियो बलियो हुदैन भन्ने कुरा विपिले सधै भन्नु हुन्थ्यो ।

एउटा अर्काे सम्झना छ । एक पटक म जिल्ला फर्किदै थिए । फर्किदा विपिलाई सोधे – सान्दाजु म जिल्ला फर्किदै छु , के छ सन्देस ? त्यतिवेला उहाँको स्वास्थ्य पनि अलि कमजोर थियो । तर उहाँले दिएको जवाफ अहिले पनी मेरो मन भित्र छ । जवाफमा उहाँले भन्नु भयो – अव तपाईहरु वयस्क भैसक्नु भयो । मैले धेरै कुरा तपाईहरुलाई भन्नु केही छैन । मैले यो गर्नुस त्यो नगर्नुस भनेर भन्दीन । जतिखेर तपाईहरुलाई के गर्ने के नगर्ने दुविधा पर्छ । त्यसवेला यो राष्ट्रको एक मुठ्ठी माटो लिनुहोला र त्यसै सँग सोध्नुहोला । त्यसले तपाईलाई जे निर्देश गर्छ, त्यहि किसमले काम गर्नु होला । मेरो निर्देशन यत्ति नै छ । उहाँको यो भनाई अहिले पनि ताजा लाग्छ । भर्खरै सुने जस्तो लाग्छ ।

मलाई सम्झना छ – विपि कोइरालाले आर्थिक क्षेत्रमा धेरै ठुला कल्पना त गर्नु भएन । आफै पनि भन्नु हुन्थ्यो म अर्थशास्त्री होइन । तर त्यो हुदाहुदै पनि उहाँ भन्नुहुन्थ्यो – म चाहन्छु , मेरो जस्तै सवै नेपालीको एउटा सानो घर होस । एउटा दुहुनु गाई होस । वालवालिकाले स्कूलमा पढ्न पाउन । औषधिमुलोको व्यवस्था होस । मैले बुझेको समाजवाद त्यहि हो ।

उहाँले सधै के भन्नुभयो भने नेपाल गाउँमा बस्छ । यि ठुलाठुला भब्य अट्टालिकाहरु नेपाल होईनन । र जवसम्म हामि गाउँको प्रगती गर्न सक्दैनौं तवसम्म देशको बिकासको कल्पना गर्न सक्दैनौं ।

यतिसम्म की उहाँ आफु प्रधानमन्त्री भएको वेला योजना आयोगमा जाँदा उहाँले भन्नुहुन्थ्यो – यहाँ राजाको तस्वीर र मेरो तस्वीर राख्ने होइन । यहाँ एकजना हलो जोत्ने गरिव किसानको फोटो राख्नोस र उस्को तस्वीर हेरेर योजना कार्यक्रम बनाउनुस ।

नेपालको अर्थतन्त्र गाउँले धान्ने अर्थतन्त्र हो र त्यो अर्थतन्त्र गाउँ बाटै सुरु हुन्छ । त्यसैले अहिले हामी ठुलाठुला एरपोर्टका कुरा नगरौं । गाउँमा जाने बाटोघाटो, पानि पधेरो, पुलपुलेसो, कुलो नाला, स्वास्थ्य शिक्षा यि आधारभुत कुराहरुलाई नै हामीले बिकासको मोडलको रुपमा लैजानु पर्छ । राष्ट्रको क्षमता र ग्रामिण क्षेत्रका जनताको चाहानामा सन्तुलण कायम गर्नु पर्छ ।

तसर्थ जव हामी सत्तामा पुग्यौं तव हामीले यि सवै क्षेत्रमा काम गर्ने दिशामा अग्रसर हुदै थियौं यद्यपि देशमा भएका विभिन्न राजनितिक, सामाजिक उथलपुथलले हाम्रो ति मनोकाङ्क्षा पुरा हुन सकेनन् ।

आज पनि यो मुलुकलाई बलियो बनाउन, जनतालाई समृद्ध र शसक्त बनाउन, लोकतन्त्रको स्थापना गर्न र मुलुकलाई समाजवादि अर्थतन्त्र तिर लिनुपर्छ भन्ने भन्ने विपिले देखाएका जुन आधारभुत मुल्य,मान्यता र आदर्श हुन ति बाट नेपाली काङ्ग्रेस विचलित भएको छैन । र यि कुरामा काङ्ग्रेस भित्र सैद्धान्तीक मतदभेद छैन ।

यद्यपि यसको कार्यन्वयन कहाँसम्म भयो भन्ने कुरा हामिले समिक्षा गर्ने विषय हो । बिषेशगरी जनजिविकाका सवालमा हामि समाजवादी बाटोमा जान सक्यौ की सकेनौं ? वा त्यतिखेरको समाजवाद र अहिलेको समाजको सन्दर्भ मिल्छ की मिल्दैन ? कहीनेर समाजवादको परिभाषा बदलिएको पो हो कि ? त्यो कुरालाई पनि मनन गर्नुपर्ने हुन्छ ।

जननायक विपि कोइराला प्रति हार्दिक श्रद्धासुमन !

(३८ औं विपि स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसका नेता एवं पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी सँग गरिएको कुराकानीमा प्रस्तुत बिचारको सम्पादित अंश ।)

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको