September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
जनयु’द्ध बारे धुर्वराज पुरीको बकपत्र : ‘राजनीतिक प्रतिशोध साध्न मलाई कारबाही गरियो’

जनयु’द्ध बारे धुर्वराज पुरीको बकपत्र : ‘राजनीतिक प्रतिशोध साध्न मलाई कारबाही गरियो’

नेपाली काङ्ग्रेसका नेता तथा जिविस सल्यानका पुर्व सभापति धुर्वराज पुरी सँग २५ औं जनयु’द्ध दिवसको सन्दर्भमा नयाँ दृष्टि डटकमका संपादक भुमप्रकाश भण्डारी भुपिनले २०७६ फागुनमा लिनुभएको बिशेश अन्तरवार्ता।

जनयु’द्धका ती दिनहरू – धुर्वराज पुरीको बकपत्र

१ . जनयु’द्धकालीन दिनहरूलाई कसरी संझनु हुन्छ ? अवस्था कस्तो थियो ?

त्यसबेला हाम्रो जिल्लामा भयावह अवस्था सबैले भोग्नु पर्यो। एक जना भन्दा दुई जना हिडेको देखियो भने माओवादी नै हुन कि, कतै कारवाही गर्न हिडेका हुन कि भन्ने खालको त्रासमय अवस्था थियो । सामान्य देखि बुझ्ने मान्छे त्रासको कारण गाउँमा बस्ने अवस्था थिएन ।

२०५४ साल माघ ५ गते माओवादीहरूले हाम्रो घरमा कारवाही गरे । त्यसपछि अवस्था झन भयावह भयो। किनकि माओवादीहरू ले २-४ ठाउँ घटना घटाउदा पनी हामीले गाउँ छोडेका थिएनौं । हाम्रो सामाजिक आर्थिक पहुँच धेरै गाउँ बिकास समितिमा भएको र राजनीतिक कार्यकर्ता भएको हुनाले हामीलाई नै बस्न नदिएपछी मान्छेहरूमा अब हामी कसैको कल्याण छैन भन्ने स्तरको बाताबरण जिल्लाभर सिर्जना भयो । त्यस्तो त्रासमय अवस्था थियो।

२. तपाईंको घरमा कारवाही गरियो भन्नुभयो, कारवाही गर्नुको कारण वा आरोप के थियो ? उनिहरू के भन्थे ?

उनिहरूले जे आरोप लगाए पनि त्यो आरोप राजनीतिक प्रतिशोध साध्ने कुरा मात्रै थियो । उनिहरूले हामीलाई व्याज खाने सुदखोर भनेर घर लुटपाट गरे तर कुरा के थियो भने हामिले २०-२५ प्रतिशत ब्याज खाँदा अरुले ३०-३५ प्रतिशत सम्म ब्याज खाएको अवस्था थियो । तर उनीहरुको बिचार राख्नेलाई छोएनन। बिपरित बिचार राख्ने खासगरी नेपाली काङ्ग्रेस समर्थित मान्छेहरूलाई गैरराजनीतिक ब्यवहार गरे । जवकी यु’द्ध राजनीतिक उदेश्य भएको थियो । बागचौरमा बाबुराम भट्टराईको उपस्थितिमा भएको कार्यक्रम बाटै यु’द्ध घोषण भयो । उनिहरूले समानताको नारा लगाए तर व्यबहार असमान भयो। समानता भनेको के ? आफुलाई मन परेको राम्रो अरु नराम्रो भन्ने कुरा त होइन नी । कालो पाइन्ट लाउने नराम्रो रातो पाइन्ट लाउने राम्रो भन्न सुहाउछ ? हो उनीहरुको त्यही शैलीले गर्दाखेरी उनीहरुको आन्दोलनको उदेश्य राम्रो थियो होला तर कृयाकलाप असामाजिक र अपाच्य खालको थियो।

३. भनेपछि राजनीतिक पुर्वाग्रह सांध्न कारवाही गरियो भन्नुहुन्छ तपाईं ?

हो त्यही हो । हामीलाई कारवाही गरिसकेपछि हामी सँग जोडिएका सबै मान्छेहरू डराउने भए नि त। हामी त्यहाँ बाट ननिस्किदा सम्म माओवादी पस्न सकेका थिएनन, हाम्रो क्षेत्रमा । हामीलाई एक्सन गरिसके पछि एकै चोटि १०-१२ वटा गाबिसमा उनिहरूको कुरा प्रभाहित भयो । त्यसपछि सबै अलिकति हुनेखानेहरूले हातखुट्टा छोडिदिए, बरु माओवादी कै समर्थक हुनुमा कल्याण छ भनेर । त्यसपछि पुरै माओवादीमय भयो।

४. तर तपाईहरूले पनि केही कमजोरी गर्नुभएको थियो कि समिक्षा गर्नु हुन्छ कि हुदैन ?

त्यस्तो धेरै कमजोरी गरेको जस्तो लाग्दैन। मैले त झन लेनदेनको कामै गरिन। खास गरेको बुवाहरूले हो। बुवाहरूले गर्दाखेरीको भएपनी हामीले चाहेको भए ठुलो बुवा जिल्ला सभापति हुनुन्थ्यो त्यतिबेला । मान्छेहरूलाई ठानामा लगेर सारा पैसा झार्न सक्थिम । अहिले पनि झार्न सक्छम । त्यसैले हामिले त्यस्तो गल्ती गरेको जस्तो लाग्दैन । व्यक्तिगत रुपमा कसैलाई गाली गर्नुभयो होला । तर हामिले एउटा असामीलाई ठानामा लगेनौं, जेल हालेनौं । रेकर्ड हेर्न सक्नुहुन्छ । जवकी हरेक साहुजिले ठानामा लगेर कागज गराएर पैसा भराएका थिए। हार्म्रो परिवारले त्यस्तो गरेन । सबैले उजुरी दिएछन भने त्यो छुट्टै कुरा हो।

५. जनयु’द्धले तपाईंको जिवनमा कस्तो असर गर्यो ?

व्यक्तिगत रुपमा भन्नुहुन्छ भने जनयु’द्धले सल्यानमा नोक्सानी नै हाम्रो भयो नि । किन भने कृषि बिकास बैंक र पुरीको पैसा नतिर्नु भनेपछी हामी त सरकार सरहकै मान्छे रैछम, भन्ने बुझियो । तर अहिले म सुन्दै छु । उतिबेला ब्याज लिनुहुदैन भन्नेहरूले अहिले प्रती महिना ४ रुपैयाँ, ५ रुपैयाँ खेपी ब्याज लिइरहेका छन । परिवर्तन त भएन नि त। तर त्यसबेला पनि हामीले के भनेको हौं भने हाम्रो कारणले कोहि मान्छे गरिब भएको छ भने हामी पैसा झार्दैनौं । तर पैसा लिएपछि ब्याज लाउने कि नलाउने ? हामीले पनि कतै तिर्नुपर्छ होला । चोरेर ल्याएको त होइन नि । कि फलानाको घर बाट चोर्‍या होस भन्नुपर्यो।

माओवादीले २० प्रतिसत ब्याज खानुपर्छ भन्थे । बुवाले त के सम्म भन्नू भएको हो भने २० प्रतिसत होइन हामी १०प्रतिसत मात्रै खान्छौं हाम्रो सबै पैसा झार्देउ। तर उनिहरूले सक्दैनौं भने । अनि किन यो ब्याज र उ ब्याज भन्नू पर्यो । थारमारेमा बैंक थियो बैंक बाट लिएको भए हुन्थ्यो नि। किन हाम्रै घर आउनुपर्थ्यो मान्छेहरूलाई भनेर भन्नुभयो ।

त्यसपछि उनिहरूले हामिसँग व्यक्तिगत रूपमा के भनेका थिए भने – हामीले हजुरलाई बदमास भनेर भन्दा पनि हुनेखाने धनाड्य भएको हुनाले मात्रै कारवाही गरेका हौ । कारबाही गर्नुपर्ने भयो । हजुर धनाड्य भएको नाताले अरुलाई गर्दा सुहाउने भएन भनेका थिए।

६. तपाईंको विचारमा जनयु’द्धका राम्रा र नराम्रा पक्षहरू के हुन ?

ठुलो जातले सानो जातिलाई, हुनेखानेले गरिवलाई अलिकति हेयको भावले हेर्ने चलन थियो त्यो बेला । त्यसमा केही परिवर्तन भयो, नभएको होइन तर त्यो बुझेर भन्दा त्रासले मात्रै भयो । बुझाईको कारणले भएको भए दिगो हुन्थ्यो । अहिले ती हाम्रो बागचौरमा लोकमानलाई चलाउन नसकिने भयो । के परिवर्तन भयो त ?

हिजोका नेताहरूले पनि हप्काउने दप्काउने, अहिलेका नेताहरूले पनि हप्काउने दप्काउने । जनताले मुक्ति कहिले हुने त ? त्यही नै दुख लाग्छ । हामीलाई लुटेकोमा त्यतिबेला हामीलाई दुख लागेको पनि होइन। ब्याज खाथे बुवाहरूले, पैसा थियो लिए, गए । त्यस्ले जनतालाई राम्रै अवसर दिन्छ भन्ने थियो नि त। हामी त्यसैको लागि राजनीति गर्‍या मान्छे हो नित। एउटा मान्छे गरिब भएर के भयो त ? हामी गरिब भयौं तर आम जनतालाई राम्रो हुन्छ भेन्ने थियो। आखिर त्यस्तो भएन । ब्याज लिन छुटेन, जनतालाई हप्काउन दप्काउन छुटेन । अहिले पनि धम्काइराछन । ठानामा हुल्याछन । दप्काउने क्रम बाँकी छ । बरु हामीले त्यस्तो गरेका थिइनम, जो अहिले साथीहरूले गरिराख्नु भाछ । यिनै कुरामा दुख लाग्छ । बिचारधारा त कम्युनिस्टको पनि ठिक छ।

नराम्रो पक्ष के भनेपछि राजनीति भनेपछि लुट्ने हप्काउने, धम्काउने कुरा नै राजनीति रैछ भन्ने नजिर जनतामा गयो। जो बलियो उसैको पछि लाग्नुपर्छ भन्ने एउटा नराम्रो म्यासेज गयो। त्यसपछि मान्छेको आचरण ईमानदारीता भन्दा बदमासी तिर गयो। किनभने हुनेखानेको ठग्नै पर्छ लुट्नै पर्छ भन्ने नजिर बस्यो । त्यसले गर्दाखेर मान्छेलाई निष्क्रिय बनाइदियो । काम गर्ने भन्दा पनि बदमासी गर्नेतिर मान्छेलाई आकर्षित गर्यो।

शीर्ष समाचार

धेरै पढिएको