September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
मन्त्रीपरिषद विस्तार हुदै : महेश बस्नेत गृहमन्त्री पक्का, माधव समुह बाट पनि मन्त्री बन्ने

मन्त्रीपरिषद विस्तार हुदै : महेश बस्नेत गृहमन्त्री पक्का, माधव समुह बाट पनि मन्त्री बन्ने

जेठ २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । सातवटा महत्वपूर्ण मन्त्रालय आफैसँग राखेर जनता समाजवादी पार्टीको महन्थ ठाकुर समुहलाई सरकारमा सामेल गरेका प्रधानमन्त्री ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न थालेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शनिबारदेखि बालुवाटारमा यसबारे व्यापक परामर्श गरिरहेका छन् । अब थपिने मन्त्रिमण्डलमा यसअगाडि मौका नपाएकाहरूलाई मौका दिन लागिएको स्रोतको दाबी छ । त्यतिमात्र होइन प्रधानमन्त्रीले चुनावलाई तार्गेट गरेर थप मन्त्रालयको जिम्मेवारी दिन लागेका छन् ।

शुक्रबार मात्रै रक्षा, गृह, उद्योग, सञ्चार, कृषि, सामान्य प्रशासन र वन मन्त्रालय खाली राखेर उनले मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यतिबेला नै उनले महत्वपूर्ण मन्त्रालय खाली राखेर तत्काल मन्त्री थप्ने सन्देश दिएका थिए । एमालेका माधव नेपाल समुहबाट पनि केही नेताहरूले छलफल जारी राखेकाले केही खास मन्त्रालय उनीहरूलाई दिने सोच उनले बनाएको स्रोतले दाबी गर्छ ।

को को बन्दैछन् नयाँ मन्त्री

ओली पक्षबाट मन्त्रीको लाइनमा महेश बस्नेत पहिलो नम्बरमा छन् । उनलाई चुनावी सरकारको गृहमन्त्री बनाउन ओली समुहका धेरै नेताहरू लागिपरेको बताइएको छ । खासगरी चुनाव गराउन सक्ने पात्रको खोजी गर्दा उनको नाम प्रधानमन्त्री ओलीले अग्रस्थानमा राखेका छन् । स्रोतका अनुसार अब हुने चुनाव चानचुने नभएको र त्यसका लागि कडा गृहमन्त्री चाहिने आँकलन गर्दै बस्नेतलाई अगाडि सार्न ओली तयार भएका हुन् ।

यसअघि संसद विघटन गर्दा पनि बस्नेतले देशव्यापी माहोल बनाएको र प्रधानमन्त्री ओलीलाई अनवरत सहयोग गरेकाले उनलाई ओलीले पहिलो स्थानमा राखेका हुन् । बस्नेतले पनि पार्टीलाई सफल बनाउनका लागि आफूले गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गरेका थिए । कुनै अस्वाभाविक परिवर्तन नभए बस्नेत गृहमन्त्री बन्ने पक्का भएको स्रोत बताउँछ ।

यस्तै मन्त्री बन्नेहरूको लाइनमा खगराज अधिकारी, नारदमुनि राना पनि मन्त्री बन्ने पक्का भएको स्रोतले बताएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद बनेका व्यक्ति हुन् । मोहन बानियाँ, आशा विश्वकर्मा, सुजिता शाक्य र विमला राईको प्रारम्भिक खाका तयार भएको छ । यी मध्य कसलाई मन्त्री बनाउने भन्ने छलफल जारी छ।

खाली रहेका मन्त्रालयमध्ये रक्षा मन्त्रालय कसैलाई नदिने निकट नेताहरूलाई प्रधानमन्त्री ओलीले बताएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओली आफैंसँग राख्ने देखिन्छ ।

यसका अलावा पूर्व माओवादीका केही नेताहरूलाई अबको मन्त्रिमण्डलमा समेट्ने छलफल पनि भएको बताइएको छ । त्यसमा यसअगाडी बनेका मन्त्रीहरू दोहोरिने छैनन् । माओवादी केन्द्रलले कारबाही गरेका कारण प्रदेश सांसद पद गुमेकाहरूलाई प्राथमिकतामा राखिएको छ। प्रदेश नम्बर २ की ज्वालाकुमारी साह मन्त्री हुने लगभग निश्चित भएको स्रोतको दाबी छ।

रामबहादुर थापा बादलले पनि गृहमन्त्रीमा दोहोरिने चाहना व्यक्त गरेका थिए । तर, बादलसहितका ७ मन्त्रीलाई सर्वोच्च अदालतले व्यक्ति नै तोकेर मन्त्रि बन्न नमिल्ने भनेकाले बादललाई गृहमन्त्री बनाउन नसकिने बालुवाटारले जवाफ दिएको बुझिएको छ ।

माधव नेपाल समुहका नेताहरू मन्त्री बन्ने सम्भावना

त्यस्तै अब बन्ने मन्त्रिमण्डलमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरूलाई पनि ल्याउन प्रयास गरिएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनीहरूसंग छलफल भैरहेको स्रोतले बताएको छ । उक्त समुहबाट केही प्रभावशाली नेताहरूलाई ल्याएर राम्रा मन्त्रालय दिनेगरी संवाद भैरहेको बालुवाटार स्रोतले बताउँछ ।

स्रोतले गरेको दाबी अनुसार मन्त्रिमण्डल विस्तार गर्न ढिलाई हुनुको कारण यो पनि एउटा हो । माधव नेपाल समुहका केही नेताहरूसँग लगातार संवाद चलिरहेको हुनाले विस्तारमा ढिलाई भएको बताइएको छ । उनीहरूले सोमबार सम्मको समय दिएको बताइएको छ ।

हिमाल पोस्ट बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको