September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
अक्सिजन प्लान्ट घोटाला प्रकरण : कर्णालीका ८ जिल्लामा एकै खालका मेसिन, मन्त्रालय बाटै सेटिङ

अक्सिजन प्लान्ट घोटाला प्रकरण : कर्णालीका ८ जिल्लामा एकै खालका मेसिन, मन्त्रालय बाटै सेटिङ

भुमप्रकाश भण्डारी – जेठ ०७, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा भएको अक्सिजन प्लान्ट घोटाला प्रकरण कर्णाली प्रदेशका ८ वटा जिल्लामा फैलिएको छ ।

सुर्खेत र जुम्ला बाहेक अन्य सबै जिल्लामा खरिद गरिएको अक्सिजन प्लान्टमा सल्यानमा जस्तै लाखौंको घोटाला भएको हो । उक्त अक्सिजन प्लान्ट घोटाला प्रकरण मन्त्रालय बाटै सेटिङ भएको बुझिएको छ । स्रोतका अनुसार ६ महिना पहिला (मंसिर/पुष मा) नै मन्त्रालयमा अक्सिजन प्लान्ट घोटाला प्रकरणको सम्पूर्ण डिजाइन भएको हो ।

कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेटमा कर्णालीका सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद / जडानको लागि ४०/ ४० लाख बजेट बिनियोजन गरेको थियो ।

बजेट बिनियोजन गर्दा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना अनुसार गरिए पनि कार्यन्वयनको चरणमा सोही मुल्यमा अक्सिजन कन्सन्ट्रेटर वा मेडिकल अक्सिजन जेनेरेटर सिस्टम खरिद गर्न मन्त्रालय बाटै सेटिङ भएको हो ।

लाखौंको घोटाला प्रकरण यसरी आयो सतहमा :

बजेट कार्यन्वयनको चरणमा बिचौलिया र ब्यापारीहरूको प्रलोभन र प्रभावमा परेर अक्सिजन प्लान्टको सट्टा सोही मुल्यमा अक्सिजन कन्सन्ट्रेटर वा मेडिकल अक्सिजन जेनेरेटर सिस्टम खरिद गर्न मन्त्रालय बाटै सेटिङ भएको स्रोतले नयाँ दृष्टिलाई बताएको छ ।

उक्त सेटिङ अन्तरगत अक्सिजन प्लान्टको लागि कस्तो स्पेशिफिकेशन तयार गर्ने, कसरी टेन्डर गर्ने र कस्लाइ ठेक्का दिने, लगाएत बिषयमा प्लानिङ भएको थियो । सेटिङ अन्तरगत ब्यापारी( ठेक्केदार) मन्त्रायल, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरूको मिलेमतो रहेको बुझ्न सकिन्छ।

अक्सिजन प्लान्ट खरिदको लागि प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय बाट जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरूलाई  बजेट अख्तियारी प्रदान गरिएको थियो ।

बजेट अख्तियारी पाइसके पछि स्वास्थ्य सेवा कार्यालयहरूले गत पुषमा अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर आह्वान गरेका थिए । तर ४० लाखको अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर गरेर उनिहरूले ४ लाखको अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेका छन ।

सल्यानमा कोभिड १९ का बिरामीलाई अक्सिजन अभाब हुन थालेपछि सल्यानमा जेठ १ गते उक्त कन्सन्ट्रेटर जडान गरिपछी लाखौंको घोटाला प्रकरण सतहमा आएको थियो ।

पूर्व प्लान अनुसार नै क्याडलग बिधि बाट टेन्डर :

मन्त्रालय बाट बजेट अख्तियारी पाइसके पछि स्वास्थ्य सेवा कार्यालयहरूले आआफ्नो तरिकाले टेन्डर गरेर पनि बजेट कार्यन्वयन गर्न सक्थ्ये तर उनिहरूले पूर्व प्लान अनुसार नै क्याडलग बिधि बाट सामान खरिदको लागि टेन्डर आह्वान गरे ।

स्वास्थ्य सेवा कार्यालयहरूले सामान खरिदको लागि पुस महिनामा क्याडलग विधि बाट टेन्डर आह्वान गर्नुले पनि स्वास्थ्य सेवा कार्यलयहरूको मिलेमतो रहेको बुझ्न सकिन्छ ।

किनकि क्याडलग सपिङ विधि बिशेश र आकस्मिक परिस्थितिमा सामाना खरिदको लागि प्रयोग गरिने जानकारहरू बताउछ्न । तर गत पुस महिनामा नत अहिले जस्तो  कोरोना महामारी नै थियो नत अरु कुनै प्रकोप ।

यसरी मन्त्रालय बाटै भएको सेटिङ अनुसार क्याडलग बिधि प्रयोग गरेर टेन्डर आह्वान भएको बुझ्न सकिन्छ भने कर्णालीका ८ वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयले गरेको टेन्डरमा प्रस्ताव पेश गर्ने अधिकांश कम्पनी समान रहनुले पनि आशंका पैदा गरेको छ ।

आठ जिल्लामा भएको टेन्डर मध्ये ४ वटा जिल्ला ( सल्यान, डिल्पा, हुम्ला र जाजरकोट ) मा ड्रायगन मेडिकल प्राली सुर्खेत र (दैलेख, रुकुम पश्चिम, मुगु र कालिकोट) बिभुती मेडिटेक इन्टरप्राइजेजले ठेक्का पाएका छन ।

अझ स्वास्थ्य सेवा कार्यालय सल्यानको टेन्डरमा प्रस्ताव पेश गरेका ३ मध्ये २ कम्पनी एउटै घरका नातेदारको हुनुले पनि मिलेमतोमा काम भएको प्रष्ट हुन्छ । सल्यानमा अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएको कम्पनी ड्रायगन मेडिकल प्रालि सुर्खेत र कर्णाली मेडिकल प्रालि नेपालगन्ज एउटै घरका सासू र ज्वाइका कम्पनी भएको खुल्न आएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको मिलेमतो

त्यस्तै मन्त्रालय बाट भएको सेटिङमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको पनि मिलेमतो रहेको बुझिएको छ । कर्णालीका आठ वटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि भएको टेन्डरमा निर्देशनालयका बायोमिडिकल इन्जिनियरहरूको संलग्नता छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सामान खरिद समिती संयोजक तारा रिजालका अनुसार अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर गर्दा र कम्पनी छनौट गर्दा स्वास्थ्य सेवा निर्देशनालय सँग प्राविधिक सहयोग मागिएको थियो ।

सोही बमोजिम निर्देशनालय सुर्खेतका बायोमिडिकल इन्जिनियर राकेश कुमार साहले  अक्सिजन प्लान्टको लागि स्पेशिफिकेशन बनाएका थिए । अक्सिजन प्लान्टको लागि भएको टेन्डरमा साहले मेडिकल अक्सिजन जेनेरेटर सिस्टमको स्पेशिफिकेशन बनाएको बुझिएको छ ।

तर साहले आफुले स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधिहरूको निर्देशन अनुसार स्पेशिफिकेशन तयार गरेको बताएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानको अक्सिजन प्लान्टको घोटाला प्रकरण बाहिर आएपछि नयाँ दृष्टि सँग कुरा गर्दै साहले जिल्ला अस्पताल सल्यानमा थ्रीफेज लाइन नभएको, प्लान्ट चलाउने जनशक्ति नभएको र प्रती मिनेट ४०/५० लिटर अक्सिजन फ्लो दिन सक्ने सिस्टमको स्पेशिफिकेशन बनाइदिन भनेपछि सोही अनुसार तयार गरेको बताएका थिए ।

यद्यपि जिल्ला अस्पताल सल्यानमा थ्रीफेज लाइन छ । यस सन्दर्भमा स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारीले उनलाई भ्रममा पारे वा उनी झुटो बोले भन्ने द्विबिधा पैदा भएको छ ।

तर राकेश कुमार साहले अन्य कर्णालीका अन्य जिल्लाहरूका अक्सिजन प्लन्टको लागी बनाएको स्पेशिफिकेशन पनि सल्यानको जस्तै भएको र प्लान्ट भनेर सोही कन्सनट्रेटर  मेसिन खरिद भएकोले बायो मिडिकल इन्जिनियर साह र स्वास्थ्य सेवा निर्देशनायल सुर्खेतको पनि यस प्रकरणमा संलग्नता रहेको हुन सक्ने र उनिहरूको भुमिका शंकास्पद रहेको नेकपा ( विप्लव ) रुकुम पश्चिमका नेता नरेन्द्र विक बताउछन ।

यस बिषयमा प्रतिक्रिया लिनको लागि पटकपटक फोन गर्दा पनि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निमित्त निर्देशक डा. रबिन खड्काको फोन उठेको छैन ।

ठेक्केदार र स्वास्थ्य सेवा महाशाखा प्रमुख काका- भतिज

त्यस्तै कर्णालीका ८ जिल्लामा भएको अक्सिजन प्लान्ट घोटाला प्रकरणमा मन्त्रालय बाटै सेटिङ भएको भन्ने कुरालाई थप बल पुर्याउने अर्को तथ्य पनि फेला परेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा महाशाखामा कार्यरत बरिस्ठ जनस्वास्थ्य प्रशासक वृष बहादुर शाही र कर्णालीका ४ जिल्लामा अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएको ड्रागन मेडिकल प्रालि सुर्खेतका संचालक गगन शाही काका भतिज रहेको बुझिएको छ ।

तर उक्त प्रकृयामा आफ्नो कुनै भुमिका नभएको वृष बहादुर शाहीले बताएका छन ।

सार्वजनिक लेखा समितिले माग्यो खरिदसम्बन्धी कागजपत्र

त्यस्तै उक्त खरिद प्रक्रियामा अनियमितता आशंकामा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सल्यान जिल्ला अस्पतालसँग ३ दिनभित्र खरिदसम्बन्धी कागजपत्र मागेको छ ।

सामाजिक विकास मन्त्रालयले सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न भनी विनियोजन गरेको बजेटबाट अक्सिजन कन्सट्रेटर खरिद गरेपछि जताततै टिप्पणी बढेपछि संसदीय समितिले चासो देखाएको हो ।

समितिका सचिव उपेन्द्रकुमार गुरुङका अनुसार कोरोना महामारी रोकथाम तथा उपचारका लागि जिल्लामा विनियोजित बजेटको खर्च विवरण मन्त्रालयसँग मागिएको छ ।

‘हामीले सल्यान अस्पतालले खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद सम्बन्धी कागजात पनि समितिमा तीन दिनभित्र पठाउन पत्र काटेका छौं’, गुरुङले भने ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुसमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाखको टेन्डर आह्वान गरेको थियो । प्रतिस्पर्धी ३ कम्पनीमध्ये सुर्खेतको ड्रागन मेडिकल प्रालिले ३८ लाख ९९ हजारमा सो कामको जिम्मा पाएको थियो ।

तर, अक्सिजन प्लान्ट जडानको जिम्मेवारी पाएको कम्पनीले झुक्याएर ल्याएको अक्सिजन कन्सन्ट्रेटर मेसिनको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी र सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडाले जेठ १ गते संयुक्त उद्घाटन गरेका थिए ।

जडानसहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन प्लान्ट अक्सिजन कन्सन्ट्रेटर मेसिन भएको भन्दै चिकित्सकसहित केही अगुवा र सरोकारवालाले सामाजिक संजालमा विरोध गरेका थिए ।

‘हामी विभिन्न मिडयामा आएका कुराहरुलाई नजिकबाट नियालिरहेका थियौं । यसबारेमा आवश्यक छानविन नै गर्नुपर्ने देखिएर हामीले तीन दिनभित्र कागजात पठाउन निर्देशन दिएका छौं ।’

समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘वास्तविक रूपमा के भएको हो भन्ने समितिले अध्ययन गर्नेछ । त्यसपछि हामी के कारवाही गर्ने वा कुन प्रक्रियामा जाने भन्ने निर्णय गर्छौं ।’

यस सम्बन्धि थप सामाग्री पढ्नुहोस :

सल्यान अक्सिजन प्लान्ट घोटाला प्रकरण : प्रस्ताव पेश गरेका ३ मध्ये २ कम्पनी एउटै घरका

अक्सिजन प्लान्ट घोटाला प्रकरण : कर्मचारी, बायोमेडिकल इञ्जिनियर र बिक्रेताको कुरा बाझियो

स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन कन्सिन्ट्रेटरलाई, प्लान्ट भनेर झुक्यायो, लाखौंको घोटाला

अक्सिजन प्लान्ट घोटाला प्रकरणमा: पाईप लाईन निशुल्क जडान गरेको ठेक्केदारको भनाई

सल्यानमा अक्सिजन प्लान्टको नाममा अनियमितता : छानविन गर्न समिति गठन

शीर्ष समाचार

धेरै पढिएको