June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
लुम्बिनीका विपक्षी दलहरुले दोहोर्याए पुरानै मागहरू, बन्लान त केसी मुख्यमन्त्री ?

लुम्बिनीका विपक्षी दलहरुले दोहोर्याए पुरानै मागहरू, बन्लान त केसी मुख्यमन्त्री ?

वैशाख २३, रुपन्देही । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरु वक्तव्य निकालेर पुरानै मागहरू दोहोर्याएका छन् । शंकर पोखरेल दोस्रो पटक मुख्यमन्त्री हुने प्रक्रियामै असहमति जनाएका विपक्षी दलहरूले आज पुनः वक्तव्य निकालेर मुख्यमन्त्री पोखरेलको नियुक्ति बदर गर्दै नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त वक्तव्य जारी गर्दै मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति बदर गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा केसीको पक्षमा प्रदेशसभाका बहुमत सदस्यहरूको समर्थन रहेको दावी गर्दै पोखरेलको पुनःनियुक्ति असंवैधानिक भएको जिकिर गरिएको छ । विपक्षी दलहरुले बैशाख १९ गते नै प्रदेशप्रमुखलाई ४१ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइएको स्मरण गराउँदै पोखरेलले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

‘प्रदेश मन्त्रिपरिषद् गठन गर्ने संविधानिक कानून र नियमको पालना गर्दै अवैधानिक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा, तत्काल प्रदेशसभा बैठकको आह्वान र गठबन्धन दलको नेता माननीय कुलप्रसाद केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरी प्रदेश मन्त्रिपरिषद गठन गर्न प्रदेश प्रमुख समक्ष जोडदार माग गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभामा रहेका ७९ जना सांसदमध्ये ४० सांसद भए सरकार बन्ने अवस्था छ । केसीको पक्षमा कांग्रेसका १९, माओवादी केन्द्रका १९, जसपा २ र जनमोर्चा १ गरी ४१ सांसद भएकाले अल्पमतमा रहेका पोखरेलले मुख्यमन्त्रीको सपथ खानु गलत भएको विपक्षी दलहरुको दावी छ । पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा जसपाका ४ जना मन्त्री बनेका छन् । यद्यपि उनीहरुलाई प्रदेशसभाले सांसदको सूचीबाट हटाइसकेको छ ।

मुख्यमन्त्रीको सपथग्रहणपछि एमालेका दुई सांसदले राजीनामा दिएका छन् भने एक सांसद माओवादीमा प्रवेश गरेका छन् । एमालेका नेताहरूले भने ठूलो दलको नेताको हैसियतमा संविधान अनुसार नै पोखरेलको पुनः नियुक्ति भएको र थप ४ जना सांसदले सपथपछि समर्थन गरेकोले बहुमत पुगेको दावी गर्दै आएका छन् ।

 

शीर्ष समाचार

धेरै पढिएको