August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
उत्तर वलीको श्रीमती सांसद विमला ओलीलाई मानब बेचबिखन मुद्धामा २५ लाख बिगो तिर्नुपर्ने अदालतको फैसला

उत्तर वलीको श्रीमती सांसद विमला ओलीलाई मानब बेचबिखन मुद्धामा २५ लाख बिगो तिर्नुपर्ने अदालतको फैसला

माघ ०२, सल्यान । दाङका नरेन्द्र बस्नेतले अमेरिका पुगेर पैसा कमाउने र ग्रिनकार्ड पनि लिने आशामा दलाललाई पैसा खुवाए। तर, अमेरिका टेकेकै दिन उनी जेल परे।

१७ महिना जेल बसेर नरेन्द्र नेपाल फर्किए र आफूलाई फसाउनेहरुमाथि मुद्दा दायर गरे। तर, अदालतले उनलाई आधा मात्रै न्याय दिएको छ।

अमेरिकाको जेलबाट छुटेर आउँदासम्म नरेन्द्रले ७५ लाख ९७ हजार रुपैयाँ खर्च भएको बताएका छन्। उनले पाएको सास्ती र यातनाको त हिसाबै भएन। तर, जिल्ला अदालत काठमाडौँले डुबेको रकमको आधा हिस्सा मात्रै बिगो भराउने फैसला गरेको छ।

पुस १९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोक्यो। तर, अदालतले बिगोको आधा अर्थात् ३७ लाख रुपैयाँ मात्रै बिगो भराउने फैसला गर्‍यो।

फैसलाबाट निराश भएको नरेन्द्र दाङ फर्केका छन्। जिल्ला अदालतले आधा मात्रै बिगो भराउने आदेश दिएपछि उनी उच्च अदालत जाने भएका छन्।

नरेन्द्रलाई अमेरिका पठाउने मुख्य व्यक्ति उत्तरकुमार ओलीको मृत्यु भइसकेको छ। उनको मृत्यु भइसकेकाले उत्तरकी श्रीमती विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नु पर्ने फैसला अदालतले गरेको हो।

अर्का अभियुक्त टोपबहादुर जीसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ।

उनीहरु तीन जनाकै संलग्नतामा नरेन्द्रलाई अमेरिका पठाउने योजना बुनिएको थियो।

अहिले अदालतले उनीहरुलाई दोषी त देख्यो, तर पीडितले मागेबमोजिमको बिगो नभराउँदा न्यायको लडाइँ लम्बिएको छ।

‘अदालतले दोषी त भन्यो तर हाम्रो पैसा सबै दिलाइदिएन। हामीले अझै दुःख पाउने भयौँ,’ नरेन्द्रकी आमा माया सेनले भनिन्।

जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिल उमाकान्त पौडेलले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न उच्च अदालत जाने बताए।

लाखौं रुपैयाँ लिएर नरेन्द्रलाई जेलमा पुर्‍याउनेविरुद्ध संगठित अपराध र मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरिएको थियो। अपराध पीडित संरक्षण ऐनअनुसार पीडितलाई सम्पूर्ण क्षति भराइदिनु पर्ने व्यवस्था छ।

फैसलाको पूर्णपाठ आइसकेको छैन।

अमेरिकामा १७ महिना जेल बसेर फर्किएपछि २०७६ वैशाखमा नरेन्द्र प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा पुगेका थिए। त्यसअघि उनले टोपबहादुर जिसीलाई फोन गरेर आफ्नो फसेको पैसा फिर्ता गर्न आग्रह गरेका थिए। उनको आग्रह टोपबहादुरले सुनेनन्, उल्टै थर्काएपछि जाहेरी दर्ता गर्नु परेको नरेन्द्र बताउँछन्।

उनको जाहेरीपछि टोपबहादुरलाई प्रहरीले पक्राउ पनि गर्‍यो। तर थुनछेक बहसपछि टोपबहादुर असार २४ गते १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे।

टोपबहादुरलाई धरौटीमा छाड्दा अदालतको आदेशमा भनिएको थियो, ‘तत्काल प्राप्त प्रमाणका आधारमा हाल यी प्रतिवादी कसूरदार होइन रहेछन् भन्न सकिएन। पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादी टोपबहादुर घर्ती क्षेत्रीबाट १५ लाख वा सो बराबरको जेथा वा बैंक जमानत लिई कागज गराई तारेखमा राख्नू।’

आफूले दलाललाई बुझाएको रकमको भर्पाई र रकम जम्मा गरेको भौचर मुद्दाको मिसिलमा संलग्न छ। आरोपितको मोबाइल कल डिटेल परीक्षण गर्दा उनीहरुबीच र विदेशमा रहेका विभिन्न एजेन्टसँग कुरा गरेको प्रमाणित भएको प्रहरी श्रोत बताउँछ।

तर सबै प्रमाण भएपनि आफूहरुले न्याय नपाएको गुनासो पीडित परिवारको छ। टोपबहादुर जीसी र मुकुन्द जीसी, जोबाट नरेन्द्र बस्नेत ठगिएका थिए ।

दलालले नरेन्द्रलाई दिएको त्यो सास्ती

नरेन्द्रलाई आफ्नै जिल्लाका टोपबहादुर जीसीले अमेरिकामा रोजगारी र ग्रीनकार्ड दिलाइदिने प्रलोभन देखाए। त्यही चक्करमा नरेन्द्र नेपालगञ्जबाट भारतको बाटो लागे। तर भारत पुगेपछि नै नरेन्द्रका सास्तीका दिन सुरु भए।

नेपालबाट हिँडेपछि ९ महिनामा ९ देश डुले, त्यसपछि उनको गन्तव्य बन्यो अमेरिकाको जेल। १७ महिना मुद्दा लडे। छुटाउने आश देखाएपछि त्यहाँ पनि दलाललाई पैसा बुझाए। २०७५ अन्तिममा उनी नेपाल फर्किएका थिए।

१२ कक्षाको पढाइ सकेर बसेका नरेन्द्रलाई जाने बेलामा दलालले भनेका थिए, ‘डोनाल्ड ट्रम्पले पर्खाल लगाउनु पहिले नै अमेरिका छिरिसक्नुपर्छ । जतिसक्दो छिटो बाटो लाग्नू। त्यसका लागि सबै प्रक्रिया मिलाउने जिम्मा मेरो।’

जाने प्रक्रियाको चिन्ता नहुने, अमेरिका पुगेपछि महिनाको ५ लाख रुपैयाँ कमाइ, ग्रीनकार्ड पनि पाउने भएपछि नरेन्द्रले अरु केही सोचेनन्।

दलालकै सल्लाह अनुसार उनीहरुले घरजग्गा धितो राखेर बैंकबाट ऋण लिएर सुरुमा २० लाख रुपैयाँ बुझाए।

मेक्सिकोबाट जान ४० लाख र जंगलको बाटो जान ३० लाख रुपैयाँ लाग्ने भनिएको थियो। पछि मेक्सिकोको बाटो बन्द भएकाले जंगलको बाटो जानु पर्छ भन्दै उनलाई भारततर्फ लगिएको थियो।

दिल्लीको पहाडगञ्जमा चार महिना बस्दा पनि भिसा लागेन। पहाडगञ्जमै हुँदा उनी बिरामी भए। बिरामी भएपछि नरेन्द्रले घर फर्किने सोचेका थिए, तर अहिलेसम्म बुझाएको पैसा डुब्ने भएपछि उनी जसरी पनि जान तयार भए।

बोलिभियाको ‘अनअराइभल भिसा’ मा नरेन्द्र दिल्लीबाट रुस, स्पेन ट्रान्जिट हुँदै बोलिभिया पुगे।

बोलिभियामा एउटा एजेन्ट लिन आयो। एउटा घरमा लगेर त्यहाँ एक महिना राख्यो,। एजेन्टले पैसा नपठाएकाले अगाडि जान नदिने भन्दै धम्क्यायो।

नरेन्द्रले आफ्नो एजेन्टलाई फोन गरे। तर एजेन्टले अझै पेसा मगाउन सुझाव दिए। त्यहाँबाट अगाडि बढाउने कुरै गरेनन्। फर्किने बाटो नभएपछि नरेन्द्रसँग अझै पैसा दिनुको विकल्प पनि भएन।

नरेन्द्रले घरमा फोन गरेपछि आमा मायाले थप पैसा पठाइन्। पैसा पाएपछि दलालले बोलिभियाबाट पेरुतिर बाटो लगाए। एउटा गन्तव्यबाट अर्को ठाउँ पुग्नासाथ अर्को मान्छेको जिम्मा लगाउने र त्यहाँ उसले फेरि पैसा माग्ने, पैसा नपाएसम्म अगाडि नबढाउने क्रम चलिनै रह्यो।

उनलाई त्यहाँबाट इक्वेडर, कोलम्बिया हुँदै पनामा लगियो। पनामाबाट ६ दिन जंगलको बाटो हिँडाएर कोस्टारिका हुँदै निकारागुवा पुर्‍याए। होन्डुरस हुँदै ग्वाटेमाला लगेपछि उनलाई फेरि अलपत्र पारियो।

‘ग्वाटेमालामा एक महिना बसेपछि एजेन्टलाई फोन गरँे तर एजेन्टले अब आफैँ जा भन्थ्यो,’ नरेन्द्रले ती दिन सम्झिए।

मेक्सिको पुगेपछि भारतीय नागरिकको फोन मागेर उनले घरमा फोन गरेर आफू अलपत्र परेको आमालाई सुनाए। मायाले छोरो मेक्सिकोमा अलपत्र परेको सुनेपछि फेरि ऋण खोजेर ४ सय डलर पठाइन्।

त्यसपछि नरेन्द्र मेक्सिकोको तिउआना नामक सहरमा पुगे। त्यहाँ गुण्डाहरुले उनलाई लुटे र तीन दिनसम्म बन्धक बनाए। चुरोटले पोलिदिए।

एजेन्टले अलपत्र पारेको र अमेरिका हिँडेको बताएपछि उनलाई तिनै गुण्डाको समूहले अमेरिकाको सीमानजिकै छाडिदिए।

तर अमेरिका प्रवेश गर्दै गर्दा क्यालिफोर्नियास्थित अध्यागमनमा प्रहरीले सोधपुछ गर्‍यो। उनले नेपालबाट गएको र दलालले बिचल्लीमा पारेको सुनाए। प्रहरीले उनको बिलौना किन सुन्थ्यो र! तत्कालै हतकडी लगायो।

६ दिन अध्यागमनको हिरासतमा राखेर उनलाई जेलमा पुर्‍यायो। उनी उता जेलमा परेपनि चार महिनासम्म घरपरिवारले भने खुटखबर पाएनन्।

चार महिनापछि प्रहरीले वकिलसँग भेट गराए। वकिलले सुरुमै ४ लाख रुपैयाँ मागेपछि नरेन्द्रले घरबाट त्यो पनि मगाए। वकिलले धरौटीमा छुटेपछि त्यहीँ काम मिल्छ भनेका थिए। तर उनलाई अदालतले धरौटीमा छाडेन।

पटकपटक गर्दा वकिललाई नरेन्द्रका परिवारले २० लाख रुपैयाँ बुझाए। वकिललाई रकम पठाएको भौचर अहिले पनि उनीहरुसँग सुरक्षित छन्।

जेलबसेको १४ औं महिनामा अध्यागमनका कर्मचारीले सोध्दा उनले घर पठाइदिन आग्रह गरे। त्यसको तीन महिनापछि उनीहरूले नै टिकट काटेर नरेन्द्रलाई नेपाल पठाइदिए।

नेपाल आएपछि कानुनी लडाइँ सुरु गरेका नरेन्द्रले आधा मात्रै क्षतिपूर्ति पाउने फैसला आएपछि न्याय नपाएको गुनासो उनको परिवारले गरेको छ।

‘फसेको रकम आधा पनि नउठ्ने भयो, फसाउनेलाई पनि खासै कारबाही भएन,’ नरेन्द्रकी आमा मायाले भनिन्, ‘यही हो त न्याय?’

उजिर कार्कीले २०७७ माघ १, बिहिबार नेपाल खबरमा यो समाचार लेख्नु भएको थियो । उक्त समाचार साभार गरेर शिर्षक परिवर्तन गरेर हामीले प्रकाशित गरेका हौं । – संपादक ।

शीर्ष समाचार

धेरै पढिएको