September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
कर्णाली प्रदेश सरकारको गाडी शनिबार घाँस बोकेर हिडेको भेटिएपछि…….

कर्णाली प्रदेश सरकारको गाडी शनिबार घाँस बोकेर हिडेको भेटिएपछि…….

पौष ०४, सल्यान । देश संघियतामा गएपछि समृद्धि र सुशासनको प्रत्याभूति हुने आम  नागरिकको विस्वास थियो तर संघियताका हिमायतीहरुका गतिबिधि र कार्यशैलीहरुले नै संघीयतालाई बदनाम र संघियता प्रति वितृष्ण जगाउन थालेका छ । यस्तै घटना शनिबार कर्णाली प्रदेशमा देखिएको छ । सरकारी गाडीहरुको दुरुपयोग बढेको चर्चा र आलोचना भैरहदा कर्णाली प्रदेशका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी शनिबारको दिन घाँससहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस ल्याउँदै गर्दा सुब्बाकुनास्थित चेकपोस्टमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएका छन् ।

गाडीमा चालकसहित २ जना मानिस र बाँकी सिटमा घाँसले भरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘शनिबारको दिन विनापास घाँस बोकेको अवस्थामा ट्राफिकले नियन्त्रणमा लिएको छ,’ प्रमुख आचार्यले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ । हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिरहेका छौँ ।’

प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको थियो । तर, गाडी नियमविपरीत प्रयोग भएको पाइएको हो । कुनै पनि सरकारी कार्यालयले शनिबारको दिन सवारी चलाउँदा सम्बन्धित क्षेत्रबाट पास लिनुपर्छ ।

प्रदेश सरकारले प्रदेश सरकारमातहत क्षेत्र, स्थानीयले स्थानीय सरकारबाट र अन्य केन्द्रमातहतले जिल्ला प्रशासनबाट पास जारी गर्नुपर्छ । तर, प्रदेश सरकारको गाडी विनापास चरम दुरुपयोग भएको अवस्थामा ट्राफिकले नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार उक्त गाडी शनिबार सभापति सिंहका छोरालाई नेपालगन्ज विमानस्थल पुर्याएर फर्किंदै गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको