August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
कृषिप्रधान देश कथा : ४ महिनामा साढे ९ अर्बको चामल आयात, बिगत भन्दा डेढ गुणा बढी

कृषिप्रधान देश कथा : ४ महिनामा साढे ९ अर्बको चामल आयात, बिगत भन्दा डेढ गुणा बढी

मंसिर १९, काठमाडौं । हामीले पढ्दै र सुन्दै आएका थियौं – ‘नेपाल कृषिप्रधान देश हो । यहाँको ९५ % जनता खेती किसानीमा आवद्ध छन । हाम्रो अर्थतन्त्रको मुख्य हिस्सा कृषि हो ।’ हुन पनि कुनै बेला नेपालको चामल निर्यात भएर दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकासम्म पुग्थ्यो ।

२०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले रु.२४ करोड ३८ लाख ६३ हजारको चामल निर्यात गरेको तथ्यांक छ । तर नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसकेको छ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन (१९ करोड ८३ लाख किलो) चामल आयात भएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो ।

यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसक्यो । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।

अर्थविदहरु चिन्ता मात्रै गरेर बस्ने तर कृषि क्षेत्रमा लगानी नगर्ने सरकार र निजी क्षेत्रको प्रवृत्तिका कारण चामल आयातमा निरन्तर वृद्धि भएको बताउँछन् । लगानी, अनुदान लगायत सुविधा दिएर कृषकलाई प्रोत्साहन नगरेसम्म चामल आयात बढिरहने उनीहरु बताउँछन् ।

भन्सार विभागका महानिर्देशक दाहाल सीमामा कडाइ गर्दा विगतमा जस्तो अवैध रुपमा भित्रिने चामल पनि भन्सार नाका हुँदै आएकोले आयात बढेको देखिएको हुनसक्ने बताउँछन् । ब्यापारीहरुले महामारीमा आयात गर्न असहज हुने देखेर एकैपटक आयात गरेको ल्याएको पनि हुनसक्ने विभागको आकलन छ ।

‘साना भन्सार नाकाहरुबाट पनि चामल आयात बढेको छ,’ दाहाल भन्छन्, ‘सीमामा गरेको कडाइको प्रभाव तथ्यांकमा देखिएको हुनसक्छ ।’

बाझिन्छ उत्पादन र आयात तथ्यांक

जनसंख्या वृद्धि र खाने बानीमा आएको परिवर्तनसँगै चामलको माग बढ्नु स्वाभाविक मानिन्छ । तर, हरेक वर्ष धान उत्पादन बढ्दै गएको सरकारी तथ्यांकसँग आयात वृद्धिको तथ्यांक बाझिने गरेको छ ।

उत्पादनमा भएको झिनो वृद्धिलाई हेरेर सरकार मख्ख परेर बस्दा यस्तो अवस्था आएको अर्थविद् तथा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । धान उत्पादनबारे जिल्ला कृषि ज्ञान केन्द्रहरुले दिनेगरेका तथ्यांक अनुमानको आधारित हुने भएकाले आयात र उत्पादनको वृद्धिबीच तादाम्यता नमिलेको उनको मत छ ।

अर्थविद क्षेत्रीका अनुसार उत्तरी भेगका जनतालाई पनि चामल खुवाउने नीतिका कारण चामलको खपत वर्षेनी बढ्दो छ । त्यसबाहेक स्वदेशमा उत्पादित धानलाई समयकै कृषकसँग उचित मूल्य दिएर किन्न नसक्दा पनि भारतबाट धान आयात गर्नुपर्ने बाध्यात्मक अवस्था आएको उनी बताउँछन् ।

‘सरकारले धान रोप्दारोप्दै समर्थन मूल्य तोक्यो, तर काटेर चुट्ने बेला खलियानमा किन्न गएन,’ क्षेत्री भन्छन्, ‘भारती ब्यापारी तराईका खलोबाटै नेपालको धान उठाएर अनौपचारिक मार्गबाट लैजान्छन् । त्यही धानको पोलिस गरिएको चामल पछि हामी भित्र्याउँदैछौं ।’

कुनै बेला नेपालको चामल निर्यात भएर दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकासम्म पुग्थ्यो । २०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले रु.२४ करोड ३८ लाख ६३ हजारको चामल निर्यात गरेको तथ्यांक छ ।

त्यसपछि भने नेपालमा चामल आयात बढ्न थालेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा झण्डै ३३ अर्ब रुपैयाँ बराबरको धान रचामल आयात भयो । चालु आवमा यो आँकडा निकै माथि पुग्ने देखिएको छ ।

हेपिएको नेपाली चामल

पछिल्लो समयमा स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपालमै भित्रिएर चुनौती दिँदैछन् । प्रिमियम गुणस्तर दावी गरिएका भारतीय चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छ । यसबाट नेपाली धान र चामल प्रतिस्पर्धा गर्न नसकेर आन्तरिक बजारमै हेपिएका छन् ।

नेपालमा आउने ब्राउन राइसमा पनि वृद्धि हुँदैछ । स्वस्थकर मानिने यस्तो चामल विशेषगरी धनाढ्य वर्गले रुचाउँछ । गाउँघरमा पनि ढिँडो र च्याख्लाको खान्कीलाई भातले विस्थापित गर्दा चामल आयात तीव्र गतिमा बढेको प्रष्टै छ ।

अर्थविद क्षेत्री रेमिट्यान्सका कारण धेरै परिवारमा ‘मिठो चामल’ खोज्ने बानी बस्दै गएकाले पनि आयात बढेको बताउँछन् । ‘बजारमा १२–१४ सय रुपैयाँ बोराको चामललाई हेपिन्छ,’ उाी भन्छन्, ‘२ हजार रुपैयाँ प्रतिबोरा पर्ने चामलमा धेरैको ध्यान छ ।’

नेपाली चामल स्वस्थकर हुने भएपनि धेरैले यसलाई चिन्न नसकेको उनी बताउँछन् ।

कतिपयको फरक मत

अर्थशास्त्री विश्व पौडेल चामल निर्यात भएको समयमा नेपालमा कुपोषण र भोकमरी ब्याप्त रहेको तथ्य भुल्न नहुने बताउँछन् । उनका अनुसार, त्यतिबेला धेरैजो खतियोग्य जमिन जमिन्दार र धनी वर्गको हातमा थियो । देशमा भोकमरीको स्थिति हुँदा पनि चामल निर्यात गरिन्थ्यो ।’

‘चामल आयातमा भएको वृद्धिबाट आत्तिनु पर्दैन’, अर्थशास्त्री पौडेल भन्छन्, ‘यसकै कारण पोषणको अवस्थामा आएको सुधार र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा देखिएको राम्रो प्रभावहरु पनि हेर्नुपर्छ ।’

नेपालले मानव विकासका विभिन्न पाटोमा गर्दै लगेकाले क्रमिक सुधारको संकेत चामल प्रयोगमा पनि देखिएको उनको तर्क छ । परिवारलाई मीठो खुवाउने अभिलाषा बोकेर विदेशिएका युवाले पठाएको रेमिट्यान्सका कारण पनि चामल आयात बढेको पौडेल बताउँछन् ।

चामल सस्तो र आधारभूत खाद्यान्न भएकाले यसको आयात बढ्नुलाई नकारात्मक पाटोबाट हेर्न नहुने उनको तर्क छ । ‘नेपालमा पर्यटक आगमन बढेर वर्षको १० लाख पुगिसक्यो । नेपालीको आर्थिक अवस्था पनि सुध्रदैछ । यी सब कारण चामलको माग बढेको छ,’ उनी भन्छन्, ‘अर्थतन्त्रको आयाम फेरिदै जाँदा आउने बदलावहरुबाट ‘नर्भस’ हुनुहुँदैन ।’

सिञ्चाईका ठूला परियोजनाहरु बेलैमा निर्माण गरेर धान लगायत खाद्यान्नको आन्तरिक उत्पादन बढाउन चाहिँ ढिलो गर्न नहुने अर्थशास्त्री पौडेल बताउँछन् ।

अनलाइन खबरबाट साभार

शीर्ष समाचार

धेरै पढिएको