October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
हिजोका शासकहरुले जस्तै आज पनि शोषण र भ्रष्टाचार गरिरहेका छन् भन्दा अत्यन्तै पीडा हुन्छ : अरुण

हिजोका शासकहरुले जस्तै आज पनि शोषण र भ्रष्टाचार गरिरहेका छन् भन्दा अत्यन्तै पीडा हुन्छ : अरुण

चैत ३, सल्यान दार्मा गाउपालिका सल्यानका अध्यक्ष निम बहादुर केसी अरुणले हल्लाको भरमा आफूहरूलाई हिजोका शासकहरुले जस्तै आज पनि शोषण र भ्र’ष्टाचार गरिरहेका छन् भन्दा अत्यन्तै पीडा लाग्ने गरेको बताउनु भएको छ ।

स्थानिय सरकारको करिव ३ वर्ष पुरा भएको सन्दर्भमा नया दृष्टि डटकम संग अन्तरवार्ताको क्रममा स्थानिय सरकारले झेल्नु परेका समस्याको बारेमा सोधिएको प्रश्नको जवाफमा उहाले यस्तो बताउनु भएको हो ।

‘सत्य तथ्य नबुझिकनै हल्लाका भरमा हिजोका शासकहरुले जस्तै आज पनि शोषण र भ्र’ष्टाचार गरिरहेका छन् भन्दा अत्यन्तै पीडा हुने र निस्वार्थ भावले काम गर्नेलाई निरुत्साहित खतरा छ।’ उहाले भन्नु भयो ।

साथै, गणतन्त्र र संघियताको जग स्थानीय तहलाई तपसिल राखेर व्यक्ति विशेषले गरेका गल्तीलाई समेत तिलको पहाड बनाउँदै बदनाम गर्ने र असफल बनाउने कोशिश भइरहेकोमा समेत उहाले दुख व्यक्त गर्नु भयो ।

आइतबार , अध्यक्ष केसी संग नया दृष्टि सम्पादक भुपिनले स्थानिय सरकारका विविध बिषयमा कुराकानी गर्नु भएको थियो ।

अन्तरवार्ता: 

१. स्थानीय सरकार प्रमुखमा निर्वाचित भएपछिको ३ बर्षको अवधि कसरी बिताउनु भयो ? तपाईका भोगाइ , बुझाई तथा अनुभुतीहरू कस्ता रहे ? केही बताईदिनोस न।

बितेका ३ वर्ष दिगो विकास र सुशासनको जग बसाउन बितेका छन। विशेषगरी पूर्वाधारका क्षेत्रमा खानेपानी ,सडक र बिद्युतिकरणमा अलि बढी श्रम ,पूजी र समय खर्च भएको छ । सरकार सञ्चालनका लागि आवश्यक ऐन कानुन र कार्यविधि निर्माण भएका छन ।

दर्माली शिघ्र बिकासका भोका छन्। असीमित आवश्यकता र सीमित स्रोत साधनका वीच पीडादायी अन्तरविरोध छ । तथापि यसलाई सकारात्मक चुनौतिका रुपमा ग्रहण गर्दै बिकास सिर्फ पुजीले मात्र हैन, व्यापक जनसहभागिता र नेतृत्वको दृढ इच्छाशक्तिले गर्न सकिन्छ भन्ने संस्कार बसाउन प्रयास गरिएको छ ।

२. तपाई स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएपछि तपाईंको पालिकामा पुर्वाधार निर्माणका सन्दर्भमा के के कामहरू पूरा गर्नु भयो ?

१३ वटा लिफ्ट सिस्टम खानेपानी र अरु साना ठूला खानेपानी योजनामा ७ करोड लगानीभएको छ ।पालिका केन्द्र र वडा केन्द्र जोड्ने सडक निर्माण र पालिका र वडा कार्यालयसम्म विद्युतिकरण भएको छ ।दर्जन बढी सिचाइ नहर निर्माण भएका छन् । प्रसुति भवन, सहकारी भवन र विद्यालय भवन गरेर दर्जन बढी भवनहरु निर्माण भएका छन् ।

३. स्थानीय सरकार संचालन भएको यो ३ वर्षको अवधीमा कृषि , शिक्षा, स्वास्थ्य , खानेपानी र पर्यटन प्रवर्द्धनका क्षेत्रमा तपाईंको पालिकामा भएका मुख्य उपलब्धिहरू के के हुन ?

किसानलाई कृषि प्रविधि तालिम र सामाग्री हस्तान्तरण / अनुदान, सिचाइ, पशुमा कृतिम गर्भाधान, कृषि र पशु सेवाका पालिकास्तरमा १/१ शाखा र २/२ वटा वडा हेर्ने गरेर ३/३ वटा कृषि र पशु विकास सेवा केन्द्र सञ्चालन, एक घर एक करेसाबारी कार्यक्रम, माटो परिक्षण, नमूना कृषि तथा पशुपालन प्रदर्शनी, सहकारी बीउ भण्डार भवन निर्माण २ वटा, दुग्ध डेरी प्रवर्द्धनका लागि अनुदान, किसान सरकार हातेमालो कार्यक्रम सञ्चालन, प्रारांगारिक मल उत्पादन तालिम आदि गरिएको छ ।

शिक्षामा, पाठ्यपुस्तकरहित पाठयोजना सहित पठनपाठन अभियान, सिकाइ सुदृढीकरण अनुदान, बालबालिका रक्तजाँच, विदयालय स्वास्थ कार्यक्रम, बालविकास सिकाइ सुदृढीकरण कार्यक्रम शैक्षिक सामाग्री प्रदर्शन तथा पुस्तक मेला, आइसिटि कक्षा अनुदान, इ-हाजिरी , भर्चुअल क्लासको तयारी, शैक्षिक पुनर्संरचना कार्यदल गठन र सुझाव कार्यान्वयन आदि ।

स्वास्थ्यमा, गाउँ पालिकास्तरीय प्रसुति निर्माण, ३ वटा स्वास्थ चौकीको स्तरवृद्धि र ३ वटैमा ल्याव सञ्चालन, थप ३ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र का लागि जनशक्ति, स्वास्थ्य उपकरण र भवन निर्माण भएको छ । महिला स्वास्थ स्वयमसेविकालाई तालिम, भ्रमण, सञचार सेट र यातायात खर्च व्यवस्थापन र परिचालन गरिएको छ ।

वस्ती र जनसमुदाय तथा विद्यालयहरुमा स्वास्थ सम्बन्धि जनचेतनामूलक कार्यक्रम, पुर्ण खोपयुक्त गाउँ पालिका घोषणा र सुनिश्चितता एवं पूर्ण सरसफाइसम्बन्धी कार्यक्रम, पोषण र प्रजनन स्वास्थ सम्बन्धि कार्यक्रम तथा स्वास्थ शिविर सञ्चालन आदि गरिएको छ ।

खानेपानी माथि भनेजस्तै हो । सबैभन्दा बढी लगानी खानेपानी । त्यो पनि लिफ्ट सिस्टममा भएको छ । गाउँ पालिका भरिको आवश्यकता कति छ भनेर डिपिआर गरेको ४६ करोड लाग्ने देखिन्छ, अहिलेसम्म ११ करोडको काम भएको छ, ४ करोड को निर्माण भइरहेको छ भने ठूलै हिस्सा बाँकी छ ।

मालिकाको प्रचार र डिपिआर बाहेक पर्यटनमा खासै केही छैन ।

४. यो तीन बर्षको अवधिमा जनताको जिवनस्तर बदल्न तथा जनताको आर्थिक स्थितिमा सुधार ल्याउन के कस्ता कार्यक्रम संचालन गर्नु भयो ?

सडक, बिजुली, खानेपानीको क्षेत्रमा भएको लगानी र उपलब्धिले जनतालाई सुविधा दिनुका साथै समय बचत गरेको छ, त्यो समयमा समुदायले उत्पादनमूलक काममा लाग्न पाएका छन। परम्परागत कृषि र पशुपालनलाई आधुनिक र व्यवसायिक बनाउन प्रविधि तालिम, अनुदान र प्रोत्साहन प्याकेजहरु छन ।

उद्यमी हुन प्रेरित हुनु, विभिन्न लोकसेवा, निजामतिसेवा लगायतका सेवाहरुमा राम्रो प्रगति गर्नु, बालमृत्युदर घट्नु, चाउचाउको तरकारी खानेहरूले आफ्नो करेसाबारीमा तरकारी उत्पादन गरेर खानु, व्यक्तिगत र वातावरणीय सरसफाइ र वातावरण संरक्षणमा ध्यान दिनु, सबै बालबालिका विद्यालय जानू, सबै साक्षर हुनु, पोषण सम्बन्धि आधारभूत ज्ञान हुनु र जीवन व्यवहारमा प्रयोग गर्ने कोशिश गर्नु सकारात्मक परिवर्तित जीवनशैली केही उदाहरण हुन भने मदिरा सेवन, बिक्री वितरन तथा वालविवाह अझै चुनौतिकै रुपमा खडा छ।

५. तपाईंको पालिकामा जनयु द्धका सहिद – बेपत्ता परिवार, घाइ’ते अपांग योद्धाहरूको जिविकोपार्जन र राहतको लागी के के गर्नु भएको छ ?

वलिदानलाई समुदायमा स्थापित गर्ने र सम्मान गर्ने, अध्ययन र अवसरमा प्राथमिकता दिने, शहिद परिवार, घाइते अपांग योद्धा र जनमुक्ति सेना विशेष कार्यक्रम भनेर प्रत्येक वर्ष बजेट विनियोजन गर्ने र उक्त बजेट सरोकारवाला नै भेला भई समिति निर्माणगरी खर्च गर्न पाउने व्यवस्था गरिएको छ। शहिदहरुको सम्मान स्वरुप दार्मा गाउँ पालिकाको केन्द्रमा सहिद गेट निर्माण गरिछ।

६. स्थानीय सरकारले आफ्नो कार्य संपादन गर्दा मुख्यत: के के समस्याहरू झेल्नुपरेको छ ?

असीमित माग र आवश्यकता तथा सीमित साधन / स्रोत र समयसिमा मुख्य समस्या छ भने बिकास र अवसर प्राप्तिमा शिघ्र मानसिकता, केही केहीमा व्यक्तिवादी स्वार्थ केन्द्रित तथा नकारात्मक सोच र कार्य अर्को समस्या हो भने नागरिकले अधिकार संगसंगै समाज र राष्ट्रका प्रति कर्तव्य र जिम्मेवारी पनि छ भन्ने नबुझ्दा पीडा हुन्छ।

अर्को कुरा सत्य तथ्य नबुझिकनै हल्लाका भरमा हिजोका शासकहरुले जस्तै आज पनि शोषण र भ्र’ष्टाचार गरिरहेका छन् भन्दा अत्यन्तै पीडा हुने र निस्वार्थ भावले काम गर्नेलाई निरुत्साहित खतरा छ।

गणतन्त्र र संघियताको जग स्थानीय तहलाई तपसिल र व्यक्ति विशेषले गरेका गल्तीलाई समेत तिलको ताड बनाउँदै बदनाम गर्ने र असफल बनाउने कोशिश भइरहेकोमा दुख लाग्छ।

स्थानीय तहमा खटिएका कर्मचारीलाई दोस्रो दर्जामा राख्दा कर्मचारी को मनोबल गिरेको छ र कार्य सम्पादनमा समस्या आउने गरेको छ।

७. स्थानीय सरकारका जनप्रतिनिधिहरूको कार्यकालको करिब ३ वर्ष पूरा भएको छ । बाँकी २ बर्षको अवधीमा थप के के लक्ष्य हासिल गर्ने उदेश्य राख्नु भएको छ ?

गाउँपालिकालाई पूर्ण विद्युतिकरण गर्ने, गाउँ पालिकाको केन्द्र र वडासम्म नियमित गाडी चल्ने गरेर सडक स्तरवृदि गर्ने।

खानेपानीको समस्यालाई ५०% हल गर्ने र समुदायलाई हस्तान्तरण गर्ने। पालिकास्तरिय अस्पताल, प्रसुति गृह, ३ वटा स्वास्थ चौकी र ३ वटा आधारभुत स्वास्थ सेवा केन्द्र सञ्चालनमा ल्याउने ।

शिक्षाको सिकाइ उपलब्धि दोब्बर बढाउने, आत्मनिर्भर हुनेगरी कृषि, पशुपालन र दुग्ध विकास प्रवर्द्धन गर्ने, व्यवसायिक र आधुनिकिकरण गर्न प्रेरित गर्ने ।

श्रमप्रति आस्था र शोषणप्रति घृणा जगाउने संस्कारको बिकास गर्ने। आम्दानी संगै सही ढंगले खर्च गर्ने बानीको बिकास गराउने आदि ।

र, यो पनि पढ्नुहोस :

हाम्रो कार्यकालमा पूर्वाधारका सबै काम सकिनेछन, आउने सरकारले स्तरोन्नती गरेमात्रै पुग्नेछ :- मान बहादुर चलाउने

प्रकाशित मिति :२०७६-१२-०३ गते ।

शीर्ष समाचार

धेरै पढिएको