May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
हाम्रो कार्यकालमा पूर्वाधारका सबै काम सकिनेछन, आउने सरकारले स्तरोन्नती गरेमात्रै पुग्नेछ :- मान बहादुर चलाउने

हाम्रो कार्यकालमा पूर्वाधारका सबै काम सकिनेछन, आउने सरकारले स्तरोन्नती गरेमात्रै पुग्नेछ :- मान बहादुर चलाउने

नयाँ दृष्टि डटकम

सल्यान। सिद्ध कुमाख गाउपालिका सल्यानका अध्यक्ष मान बहादुर चलाउनेले आफ्नो ५ बर्षे कार्यकालमा  गाउपालिकामा पूर्वाधार  निर्माणका सबै काम सकिने बताउनु भएको छ।

स्थानिय  सरकारमा जनप्रतिनिधिहरू  निर्वाचित भएर आएपछिको ३ वर्षे अवधिको बारेमा नयाँ दृष्टि डटकमसंग अन्तर्वार्ताको क्रममा  उहाले यस्तो बताउनु भएको हो।

” हाम्रो ५ बर्षे कार्यकालमा सिद्ध कुमाख गापालाई समृद्ध बनाउन पुर्वाधारका सबै काम सकिएका हुनेछन । ”  उहाले भन्नुभयो -” त्यसपछी आउने सरकारले स्तर उन्नती गरे मात्रै पुग्नेछ ।”

साथै उहाले पूर्वाधार निर्माण गरेर मात्रै नहुने र त्यसको मर्मत र संरक्षण गर्ने खालको चेतना पनि बिकास हुनु पर्ने जोड दिनुभएको छ ।

स्थानिय सरकारको कार्यकालको करिव ३ बर्षको अवधि पुरा भएको सन्दर्भमा  नयाँ दृष्टि डटकमका सम्पादक भुमप्रकाश भण्डारी भुपिनले शनिवार अध्यक्ष चलाउने संग विशेष अन्तरवार्ता लिनुभएको थियो।

अन्तरवार्ता 

१. स्थानीय सरकार प्रमुखमा निर्वाचित भएपछिको ३ बर्षको अवधि कसरी बिताउनु भयो ?

स्थानिय जनप्रतिनिधिकोे रुपमा निर्वाचित भैसके पछि तिन वर्ष बितेको पत्तै भएन । निर्वाचनका समयमा प्रतिबद्धता गरेका जनताका आधारभुत आवस्यक्तालाई पुरा गर्न दिनरात नभनी लागी परेको छु ।

अहिले सम्म निरन्तर रुपमा काम गर्दै आउदा हामि जनप्रतितिधि भैसकेपछि जनताले भनेका कुराहरु पुरा गर्न तिर मात्र लागेका छौ तर कानुनी प्रक्रियाहरुले रोक्दो रहेछ । त्यसैले अधिकार प्राप्त जनताले काम भएन भन्नु भन्दा नियम संगत तरिकाले काम हुदैछ भनेर बुझ्नु पर्छ ।

यसमा हामि सबै जनप्रतिनिधि , कर्मचारी र आम गाउँवासीको साथ सहयोग हुनु पर्दछ । अहिलेसम्म साथ पाइरहेकै पनि छौ ।

२. तपाई स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएपछि तपाईंको पालिकामा पुर्वाधार निर्माणका सन्दर्भमा के के कामहरू पूरा गर्नु भयो ?

हामि जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि सिद्ध कुमाख गाउँपालिकाले पुर्वाधार विकासमा अग्रगामी छलाङ मारको छ । सबै वडा कार्यालय सम्म मोटर बाटो पुगेको छ । गाउँपालिका र वडा नं ३ र ४ को प्रशासकिय भवन निर्माणाधिन छ ।

सामुदायिक विद्यालयहरुमा हरेक वर्ष भवन र सौचालयहरु थपिरहेका छन । सबै वडामा स्वास्थ्य चौकि तथा स्वास्थ्य इकाइहरु बनेका छन । सिचाइ तथा खानेपानीका लगभग ९० % काम सम्पन्न भएका छन भने बिधुतमा करिब ६० % काम भइसकेको छ ।

३.स्थानीय सरकार संचालन भएको यो ३ वर्षको अवधीमा कृषि , शिक्षा, स्वास्थ्य , खानेपानी र पर्यटन प्रवर्द्धनका क्षेत्रमा तपाईंको पालिकामा भएका मुख्य उपलब्धिहरू के के हुन ?

कृषिमा सोचे जस्तो लगानी गर्न नसकिए पनी एक घर एक पोेषण बगैंचाको निति लिइएको छ । हरेक ठाउँमा च्याउ खेती , अलैची खेती , व्यवसायिक पशुपालण , तरकारी खेति गर्नेलाई अनुदान र वडा नं ३ को फलाटेमा कृषि नर्सरी स्थापना लगाएतका काम भएका छन ।

त्यस्तै शिक्षा क्षेत्रमा , निर्वाचन भएपछि सल्यान जिल्लामै पहिलो पटक ५ वटा विद्यालयहरु मर्ज गरियो । शैक्षिक गुणस्तर कायम गर्न इ – हाजिरी लागु गरी सबै बिद्यालयहरुमा एकरुपता कायम गरियो । त्यस्तै गाउँपालिकामा १–१२ कक्षा सम्मका २ वटा मावि संचालणमा ल्याइयो । भने सबै मावि विद्यालयहरुमा इन्टरनेट जडान गरिएको छ ।

त्यसैगरी विद्यार्थीको स्वच्छ खानेपानी पिउने अधिकार प्रत्याभुत गराउन सबै विद्यालयहरुमा फिल्टर जडान गरिएको छ । राज्य बाट नै विद्यालय कर्मचारीलाइ न्युनतम पारिश्रमिक नदिएको अवस्थामा समेत यस गाउँपालिकाले थोरै भएपनि अनुदान रकम दिने गरेका छौं ।

तिन वटा स्वास्थ्य चौकि मात्र रहेको यस गाउँपालिकामा हामि निर्वाचित भएर आइसके पछि थप तिन वटा स्वास्थ्य इकाई स्थापना गरेका छौं । गाउँपालिकामा हुने आकस्मिक बिरामिहरुको सेवाको लागी एउटा एम्वुलेन्स संचालणमा छ । त्यस्तै स्वास्थ्य सस्थामा गर्भ चेकजाँच गराउने र डेलिभरी हुने आमाहरुलाई थप सेवा सुविधा प्रदान गर्दै आएका छौ ।

खानेपानि तथा सिचाइ तर्फ वडाका विकट वस्तीहरुमा लिफ्ट सिस्टमबाट खानेपानी पुर्र्याइएको छ । आगामी वर्षसम्म कुनै पनि जनताहरु खानेपानीको पहुचबाट बञ्चित रहने छैनन् ।

त्यस्तै उब्जनी हुने जग्गामा बिभिन्न किसमका बेमौसमि तरकारी खेती गर्नको लागी सिचाई कुलो , सिचाई पोखरी , थोपा सिचाई लगाएत योजनाहरु बाट सबै ठाउँमा सिचाई पुर्र्याईएको छ ।

पर्यटन क्षेत्रमा यस गाउँपालिकाको मुख्य पर्यटकिय क्षेत्र वडा नं २ मा रहेको सिद्ध गुफा र कुमाख लेकमा लगानी गरिएको छ । सिद्ध गुफा भित्र अवलोकन गर्नको लागी सोलार बत्ती जोडिएको छ । साथै सिडि र गेट निर्माण गरिएको छ । सिद्ध गुफा देखि कुमाख लेकसम्म पैदल मार्ग बनाईएको छ । बिभिन्न ठाउँमा धार्मिक मठ मन्दिर बनाएको छौं ।

४.यो तीन बर्षको अवधिमा जनताको जिवनस्तर बदल्न तथा जनताको आर्थिक स्थितिमा सुधार ल्याउन के कस्ता कार्यक्रम संचालन गर्नु भयो ?

यहाँका जनताको जिवनस्तर उकास्नको लागी विषेस गरेर खेतीपातीलाई व्यवसायिक रुपमा अघि बढाउन जोड दिइएको छ । त्यस्तै पशुपालनलाई पनि अनुदान दिइएको छ ।

पुर्वाधार निर्माणका काममा पनि यहिका वासिन्दाहरुले नै काम गर्ने वातावरण श्रृजना गरिएको छ । लक्षित वर्गका लागी विभिन्न तालिमहरु , सिपहरु प्रदान गरी उद्यमि गराइएको छ ।

५. स्थानीय सरकारले आफ्नो कार्य संपादन गर्दा मुख्यत: के के समस्याहरू झेल्नुपरेको छ ?

यो तिन वर्षको अवधिमा समस्या त धेरै झेल्नु पर्यो । कर्मचारी अभाव, आफ्नो प्रशासकीय भवन नहुनु , स्थानिय सरकारको पहिलो अभ्यास , स्पष्ट नियम–कानुन नभएको अवस्था र सिमित स्रोत साधनमा पनि कार्य संपादन गरेर यहाँ सम्म आइयो । तर अहिले कर्मचारी अभाव पुरा भएको छ । गापा भवन बन्ने क्रममा रहेको हुदा अब केहि समय पछि धेरै सहज हुने बिस्वास छ ।

६.स्थानीय सरकारका जनप्रतिनिधिहरूको कार्यकालको करिब ३ वर्ष पूरा भएको छ । बाँकी २ बर्षको अवधीमा थप के के लक्ष्य हासिल गर्ने उदेश्य राख्नु भएको छ ?

बितेको ३ बर्षको समयमा लगभग सबै पुर्वाधारका काम भैसकेका छन । अव बाँकि रहेका कामलाई यो २ बर्षमा पुरा गरिने छ ।

हाम्रो ५ बर्षे कार्यकालमा सिद्ध कुमाख गापालाई समृद्ध बनाउन पुर्वाधारका सबै काम सकिएका हुनेछन । त्यसपछी आउने सरकारले स्तर उन्नती गरे मात्रै पुग्नेछ । साथै अवको २ वर्षमा मानब संसाधनको बिकासको लागी पनी समान तरिकाले कामा हुनेछ ।

हाल सम्म पुर्वाधार निर्माणमा बढि ध्यान दिइयो । तर अव बनेका संरचनालाई संरक्षण गर्ने , मर्मत गर्ने खालको चेतनाको बिकास गर्न मानविय विकास गर्न जरुरी छ । अव त्यस्तो खालको चेतनाको विकासमा जोड दिनेछौ ।

र अन्तमा मेरा आफ्ना बिचार तथा अनुभब राख्ने अवसर दिनु भएकोमा नयाँ दृष्टि डटकमलाई धन्यवाद छ ।

र, यो पनि पढ्नुहोस :

जनताको सेवा गर्नेमा नै दिनहरु बिते :- दिलमाया बुढामगर

प्रकाशित मिति : २०७६ चैत ०१ गते ।

शीर्ष समाचार

धेरै पढिएको