September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
साँझ छोरी जन्मियो, भोलिपल्ट बिहानै पुलिसले गाउँ घेरा हाल्यो : टिका बुढाथोकी

साँझ छोरी जन्मियो, भोलिपल्ट बिहानै पुलिसले गाउँ घेरा हाल्यो : टिका बुढाथोकी

२५ औं जनयु’द्ध दिवसको अवसरमा नेकपा नेतृ टीका बुढाथोकी सँग नयाँ दृष्टि डटकमले गरेको अनुभुतिजन्य अन्तरवार्ताको संपादित अंश। (गतबर्ष फागुनमा प्रकाशित अन्तर्वार्तालाई हामीले पुन: प्रकाशन गरेका हौँ ।)

हेपाई तोड्न , जनयु’द्धमा

पहिलो कुरा त उहिले हाम्रो गाउमा ठुलाठालुहरूको दवदवा थियो। जसलाई हामीले शोषक सामन्त भन्ने गर्थौं। हामी जङ्गलको छेउमा बस्ने गरिब भनेर हेप्ने काम हुन्थ्यो । त्यो हेपाइ तोड्ने हिसाबले संगठनमा बस्नु पर्छ भन्ने चेतना, संस्कार सुरु भयो। जुन संगठन हामिले समातेका थियौं त्यो चै जनयु’द्धमा अगाडी बढ्यो । र त्यसरी हामी जनयु’द्धमा सहभागी भयौं । विद्यार्थी संगठन बाट सुरु गरेको, त्यसपछि संकृतिक संगठन हुँदै महिला संगठन र पार्टी तथा सैन्य सबै भुमिका पूरा गरियो ।

धेरै पायौं धेरै गुमायौं

जनयु’द्धमा सहभागी हुदाखेरी हामीले धेरै चिज पायौं पनि र गुमायौं पनि । त्यो बेला हामिले पाएका सबै चिज ठुला लाग्थे र गुमाएका चिजहरू सामन्य देख्थ्यौं । मैले श्रीमान गुमाए, समय गुमाए, आफ्ना निजि स्वार्थहरू गुमाएर यहाँ सम्म आइयो। पाएको हिसावले अहिले देशमा एउटा राजनीतिक परिवर्तन आएको छ त्यही हो। व्यक्तिगत रुपले भन्नेहो भने त मैले केही पाएको छैन। जनयु’द्धमा हाम्रो मान संमान हुन्थ्यो। सहिद परिवारलाई उच्च स्थान दिइन्थ्यो । तर अहिले सहिदको मान संमानको नाममा मान्छेहरूले कमाई खाने भाडो बनाएका छन। धेरै गुमाइयो अहिले आउदा त्यसको अनुभुती हुन्छ। शान्ति प्रक्रियामा आउदा खेरी हामीले हिजो गरेका कामहरूको अवमूल्यन भयो कि वा हिजो गलत गरियो कि भन्ने फिलिङ हुन्छ।

स्टाफ नर्स बन्ने मेरो सोच

जनयु’द्ध नभई दिएको भए म पढ्थे । पढेर स्टाफ नर्स बन्ने मेरो सोच थियो । उहिले एमबीबीएस डाक्टर त हामीले पढ्न सक्दैन थिइम। स्टाफ नर्स पढेर गाउका जनताको सेवा गर्ने सोच थियो। जनयु’द्धमा लाग्दा मैले पढ्न पाइन र जनयु’द्धमा नलागेको भए अहिले यहाँ सम्म आउदाखेरी म गाउँको सामान्य छोरी बुहारी हुन्थ्ये होला। जनयु’द्धमा लागेर मैले धेरै नपाउने सुख दुख पाए र त्यो बाट सिकेर अघि बढ्न पाएको छु । श्रीमान सहिद हुदा अझ धेरै आफ्नो जीवन परिवर्तन गरेर बाँच्न सिकेको छु।

साझ छोरी जन्मियो, भोलिपल्ट बिहानै पुलिसले गाउँ घेरा हाल्यो

हामी गाउँ नछोडेका मान्छे नयाँ गाउँ र ठाउँ हरूमा पुग्दा फरकफरक अनुभुती भए। जाने बेला संगै गएका साथीहरूलाई आउदा खेरी छोडेर आउनु पर्दा चै एकदम नराम्रो लाग्थ्यो ।

जनयु’द्धमा लाग्नु अघि गाउँका महिलाहरू लाई जनयु’द्धमा लाग्न बन्दुक हान्न सिकाइन्थ्यो । कसैले था नपाउन भनेर माथी जथाकको जंगलमा लगेर सिकाइन्थ्यो । जंगलमा पड्काए सिकार खेल्न गएकाले पड्काएको भन्ने हुन्थ्यो । हामीलाई साथीहरूले तारो ( निसाना ) हान्न सिकाउनु हुन्थ्यो । म कहिल्यै बन्दुक नदेखेको, नछोएको मान्छेले फस्टमै तारो हाने । त्यसले मेरो आत्मबिस्वास बढायो । म पनि, महिलाले पनि गर्न सक्ने रैछन भन्ने लाग्यो । मेरो मनोबल उच्च भयो । त्यो मेरो जिवनको अविस्मरणीय क्षण हो।

दोस्रो खारा लडा’ईको घटना हो । सँगै गएका धेरै साथीहरू लास बनेर उतै छोडिए । पानी परेको थियो । पारीबाट साथीहरूका लास झारीए। एउटा दुइटा होइन ७०-८० वटा। हामी वारि गाउँमा थियौं । गाउँ नै रोयो। सबै उजाड जस्तो लाग्यो ।

त्यसपछि मेरो सानै देखिको मिल्ने साथी हुनुहुन्थ्यो – खला केसी । उहाँ र म जनयु’द्धका क्रममा संगै पक्राउ पर्यौं। ३ दिन सङ्गै जेल बस्यौं । पछि उहाँ सहिद हुनुभयो।१० बर्षका घटना म अहिले वर्णन गर्न सकिन । क. शुनिल र क. निर्मम सहिद भएको मनिमारे को लडाइ । हेलिकप्टर बाट गोली बर्शाउदा रुखको छेउ र ढुंगाको भित्र टाउको लुकाउदै तत्कालीन दुश्मन सँग लडेका थियौं ।

अर्को कुरा मेरो आफ्नै जिवनमा परेको दुख हो। मैले श्रीमान गुमाउनु पर्यो। सानो छोरी काखमा थियो ।

छोरी जन्मदाको घटना छ। साझ छोरी जन्मियो । भोलिपल्ट बिहानै पुलिसले गाउँ घेरा हाल्यो । छोरीलाई गाउँमै छोडेर रातभरि जंगलमा बसे । त्यसपछि भोलिपल्ट बाट छोरी बोकेर आज एउटा घर भोलि अर्को घर सर्दै छोरीलाई हुर्काइयो । १६ महिनाको उमेर छोरीलाई अर्काको घरमा छोडेर हिडियो । एकातिर श्रीमान छैन। अर्काेतिर सानो बच्चालाई छोडेर हिड्नु पर्दा कति गाह्रो भयो होला ? तर पनि संहालिएर हिडियो। त्याग गर्ने भनेपछि  सबै त्याग्दै हिडियो।

(नेतृ टीका बुढाथोकी सहिद पत्नी हुनुन्छ । उहाँ २०६३ सालमा अन्तरीम बिधायिका बन्नु भएको थियो ।)

शीर्ष समाचार

धेरै पढिएको