बागचौरको कोरोना खर्च १ करोड २७ लाख, कुन शिर्षकमा कति ?(सामान खरिद मुल्य सहित)

बागचौरको कोरोना खर्च १ करोड २७ लाख, कुन शिर्षकमा कति ?(सामान खरिद मुल्य सहित)

मंसिर २७, सल्यान । सल्यानको बागचौर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा हालसम्म गरेको सम्पुर्ण आय तथा व्यय सार्वजनिक गरेको छ । शनिबार बागचौरमा पत्रकार सम्मेलन गरेर नगरपालिकाले अहिलेसम्मको सम्पुर्ण आयव्यय सार्वजनिक गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागी अहिलेसम्म नगरपालिकाले विभिन्न स्रोत बाट २ करोड ६१ लाख ३५ हजार १ सय ३५ रुपैयाँ ६७ पैसा आम्दानी गरेको र विभिन्न शिर्षक तथा प्रयोजनमा १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ ७६ पैसा खर्च गरेको नगरपालिकाले बताएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्चको बिषयमा विभिन्न नकारात्मक टिप्पणी, आशंका र भ्रम सिर्जना हुन थालेपछी सथ्यतथ्य जानकारीको लागि सम्पुर्ण आयव्यय विवरण सार्वजनिक गरिएको नगर प्रमुख लोकमान बुढाथोकीले बताए ।

कोरोना संक्रमणको संभावित जोखिम विरुद्ध नगरपालिकाले हालसम्म गर्दै आएका प्रयासहरू र सो को विवरण जान्न पाउने नगरबासीहरूको सुचनाको हक तथा कोरोना रोकथाम तथा नियन्त्रणमा नगरपालिका बाट भएगरेका सम्पुर्ण आर्थिक क्रियाकलापहरूको पारदर्शीता र जवाफदेहीताको लागि सम्पुर्ण आयव्यय सार्वजनिक गरेका उनको भनाई छ ।

कुन शिर्षकमा कति आम्दानी ?

कोरोना रोकथाम तथा नियन्त्रण कोषको लागि नगरपालिकाले हालसम्म कुल २ करोड ६१ लाख ३५ हजार १ सय ३५ रुपैयाँ ६७ पैसा आम्दानी गरेको बताएको छ । आम्दानी मध्ये २ करोड नगरपालिकाका विभिन्न शिर्षक बाट रकमान्तर गरेको, १० लाख संघीय सरकार बाट अनुदान पाएको, २० लाख प्रदेश सरकार बाट अनुदान पाएको नगरपालिकाले बताएको छ ।

त्यस्तै जनप्रतिनिधिको तर्फ बाट ८ लाख ८८ हजार १ सय जम्मा गरेको, शिक्षकहरूको तर्फबाट १९ लाख,६९ हजार,६ सय ४१ रुपैयाँ ६७ पैसा सहयोग प्राप्त गरेको, स्वास्थकर्मीहरू बाट ५९ हजार ४ सय २५ सहयोग प्राप्त गरेको, विभिन्न संघसंस्थाहरू बाट १ लाख ४१ हजार ८ सय ५ प्राप्त गरेको , सर्वसाधारण बाट ६६ हजार १ सय ६४ र नगरपालिकाका कर्मचारीहरू बाट १० हजार सहयोग प्राप्त गरेको नगरपालिकाले बताएको छ ।

त्यस्तै आइसोलेसन बेडको लागी प्रदेश सरकारले ८ लाख ३९ हजार ६ सय ९७ अनुदान दिएको तर कोलेनिका बाटै भुक्तानी भएको हुनाले उक्त रकम आम्दानी र खर्चमा समाबेश नगरिएको बताईएको छ ।

कुन शिर्षकमा कति खर्च ?

नगरपालिकाले आम्दानी सँगै खर्च विवरण पनि सार्वजनिक गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न शिर्षक तथा प्रयोजनमा नगरपालिकाले १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ ७६ पैसा खर्च गरेको बताएको छ । बिगतमा हतारमा दिइएको खर्च विवरणमा पेश्की दिएको रकम समेत जोडिदा डेढ करोड खर्च पुगेको तर अहिले सच्याइएको नगरपालिकाका लेखाप्रमुखले बताए ।

खर्च तर्फ, राहत बितरणमा २१ लाख ५८ हजार ९३ रुपैयाँ ७६ पैसा खर्च भएको नगरपालिकाले बताएको छ । नगरपालिकाका एक हजार एकानब्बे (१,०९१) परिवार संख्यालाई ३०० क्विन्टल चालम, ४० बोरा नुन, २ हजार लिटर तेल, २ हजार १६ वटा कपडा धुने सावुन, २ हजार १६ वटा नुहाउने सावुन, ३ हजार किलो मिक्स दाल र २ हजार किलो चिनी बितरण गरेको बताएको छ ।

नगरपालिकाले उक्त खाद्यान्न तथा सामाग्री खरिद गर्दा चामल प्रती क्विन्टल रू. ४,२३०/- आयो नुन प्रती बोरा रू. ९२५ /- खानेतेल प्रति लिटर रू.१६३.७ /- कपडा धुने साबुन प्रती गोटा रू. २०.४ /- नुहाउने साबुन रू. २७.९६ /- मिक्स दाल प्रती किलो रू.९४ /- र चिनी प्रति किलो रू. ७२.६ का दरले खरिद गरेको बताएको छ ।

त्यस्तै स्वास्थ सामाग्री खरिदमा २२ लाख २ हजार ४ सय ६७ रुपैयाँ, क्वारेन्टाइन निर्माणमा २ लाख ५९ हजार ६ सय ४५ रुपैयाँ, नागरिकहरूको उद्धारमा १ लाख ९१ हजार ७ सय ५० रुपैयाँ स्वास्थकर्मी तथा चालकलाई ५०% प्रोत्साहन भत्ता स्वरुप २३ लाख ३ हजार ९ सय ६६ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा बसेका ७ सय ८५ जनालाई खाना, बस्नमा दैनिक रू.२०० का दरले ( कुल १३,१०३ दिन बराबर ) २६ लाख २० हजार ६ सय खर्च भएको र क्वारेन्टाइनको बन्दोबस्तीमा रू. १ लाख ४७ हजार ९ सय ६५ रुपैयाँ खर्च भएको नगरपालिकाले बताएको छ ।

त्यस्तै नगरपालिकाका १२ वटा वडामा कुल ५६ जना स्वयंसेवकलाई प्रतिदिन रू. ४५० का दरले ( कुल ४, १२० दिन खटिए बापत) रू. १८ लाख ५४ हजार, र उनिहरूलाई खाजा दैनिक रू. २००/- का दरले खर्च रू. ८ लाख २४ हजार र अन्य बिबिध खर्चमा २ लाख ५ हजार ६ सय ६८ रुपैयाँ खर्च भएको नगरपालिकाले बताएको छ ।

किन बढ्यो खर्च ?

बागचौर नगरपालिकाले जोखिमको समयमा चालक तथा स्वास्थ्यकर्मीलाई ५०% जोखिम भत्ता दिनु, क्वारेन्टाइन ब्यबस्थापनमा स्वयंसेवक परिचालन गरिनु, ठूलो मात्रा मान्छेहरू क्वारेन्टाइनमा राखिनु र ठूलो मात्रामा राहत वितरण गर्नुपरेकोले कोरोना रोकथाम तथा नियन्त्रणको लागी खर्च बढेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले बताए । उनका अनुसार  अन्य खर्च सामान्य रहेको छ । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा हाल १ करोड, ३३ लाख, ६६ हजार ९ सय ८१ रुपैयाँ मौज्दात रहेको पनि उनले बताए ।

यसरी कोरोना रोकथाम तथा नियन्त्रणमा भएको सम्पुर्ण आयव्यय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने स्थानीय तहहरू मध्ये बागचौर नगरपालिका सल्यानमा पहिलो भएको छ ।

नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा शनिबार भएको पत्रकार सम्मेलनको सहजीकरण नगरपालिकाको शिक्षा शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसीले गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख कल्पना पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल लगाएत लेखा शाखा, सुचना शाखा र स्वास्थ शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको