August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै, आज नाराजुलुस सहित चक्काजाम

राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै, आज नाराजुलुस सहित चक्काजाम

मंसिर २१ , सल्यान । दाङको राप्ती गाउँपालिका ३ लालमटिया रहेको राप्ती प्राविधिक शिक्षालयको विद्यार्थी आन्दोलन चर्किदै गएको छ ।

शिक्षालयलाई ‘सरस्वती मावि’ विद्यानगर गोवरडिहामा स्थानान्तरण गरेर शिक्षालय परिसरमा ‘प्रदेश पुर्वाधार विकास प्राधिकरण’को कार्यालय स्थापना गर्ने लुम्बिनी प्रदेश सरकार, मन्त्रीपरिषद्को मंसिर १६ गतेको निर्णय विरुद्ध आज विद्यार्थीहरुले नाराजुलुस सहित चक्काजाम गरेका छन ।

विद्यार्थीहरूले शिक्षालयबाट सुरु गरेको नाराजुलुस राप्ती गाउँपालिकाको मसुरिया चोकमा गएर चक्काजाममा परिनत भएको थियो । चोकमा विद्यार्थीहरू नाराजुलुस सहित आधा घण्टा चक्काजाम गरेका थिए । विद्यार्थीहरूले राप्ती गाउँपालिकाको प्रशासकीय भवन अगाडी पनि नाराबाजी गरेका थिए ।

प्रदेश सरकारको उक्त निर्णय विरुद्ध मंसिर १७ गते बुधबार शिक्षालय प्रशासन घेराऊ, २ घण्टा धर्ना र सिटिईभिटिईका सदस्य सचिव पुष्परमण वाग्ले मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमनी पोखरेललाई ज्ञापन पत्र बुझाएका उनिहरूले शिक्षालय नसार्न पहल गरिदिन मंसिर १९ गते शुक्रबार दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य लाई विद्यार्थीहरूको हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएका थिए ।

२०५० सालमा स्थापना भएर २७ बर्ष देखी निरन्तर देशलाई चाहिने हजारौ दक्ष जनशक्ती उत्पादन गरेर देशलाई टेवा पुर्याइरहेको प्राविधिक शिक्षालयलाई विस्थापित गर्ने लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको निर्णय प्रति विद्यार्थीहरुले आपत्ति व्यक्त गर्दै घोर भत्र्सना गरेका छन ।

सरकारले अविभावकत्व र संरक्षण गर्नुपर्नेमा अझ यसलाई राजनीतिक अखडा बनाउन खोजेको र विस्थापीत गरेर प्रदेश सरकारले हजारौं विद्यार्थीहरूको भबिष्य माथि खेलबाड गरेको आरोप विद्यार्थीहरूले लगाएका छन । यसले प्राविधिक शिक्षालाई ठूलो धक्का पुग्ने विद्यार्थीहरुको मत रहेको छ ।

पुर्णरुपले स्थापना भएको उक्त शिक्षालयको जस्तो भौतिक संरचना, पुर्वाधार, निर्माण कार्यशाला, सभाहल तथा अध्ययनको लागी चाहिने फिल्ड निर्माण गर्न ठुलो धनरासी र लामो समय लाग्ने भएकाले शिक्षालय सार्दा विद्यार्थीहरूको पठनपाठनमा अन्योलता आउने उनिहरू बुझाइ छ । साथै पठनपाठनको लागी बनाईएको भौतिक पुर्वाधार एवं संरचनाहरु प्रदेश सरकार संचालनको लागी उपयुक्त नहुने बिद्यार्थीहरुले बताएका छन् ।

‘तत्काल यो निर्णय कार्यन्वयन गर्दा बिद्यार्थीहरुलाई पठनपाठनमा असहजता, गुणस्तरिय शिक्षाको अभाव, आवासको समेत चरम समस्या उत्पन्न भई विद्याथीहरुको मनोविज्ञानमा समेत असर पर्न जान्छ विद्यार्थी संघर्ष समितिले बताएको छ ।

साथै ‘प्रदेश पुर्वाधार विकास प्राविधिकरण’को लागी शिक्षालयलाई विकल्पको रुपमा लिनुभन्दा देउखुरीको जग्गा, राप्ती गापाको भवन, लमहि नगरपालिकाको भवन, गडवा गापाको भवन, शसस्त्रको वेश क्याम्प लगाएत अन्य सरकारी संरचनाहरूलाई विकल्प छान्न पनि विद्यार्थीहरुले आग्रह गरेका छन ।

दिर्घकालिन योजना नबनाई शिक्षालयलाई विस्थापीत गर्न निर्णय गरे चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीहरुले बताएका छन ।

त्यस्तै, प्रदेश सरकारले शिक्षालय सार्ने निर्णय गरेको प्रती राप्ती गाउँपालिका अध्यक्षले विद्यार्थीका कुरा सुन्न तयार नभएको र प्रदेश सरकारले गरेको निर्णयमा केही गर्न नसक्ने भनेको विद्यार्थीहरूले बताए ।

‘शिक्षालय नसार्ने माग प्रती सबैले सकारात्मक छु’ भन्ने गरेको तर नसार्न पहल कसैले नगरेको विद्यार्थीहरूको गुनासो रहेको छ ।

२०५० सालमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालय सिटिईभिटिईको पुरानो आंगिक शिक्षालय हो । शिक्षालयले बर्षेनी डिप्लोमा तहमा बाली बिज्ञान, पशु बिज्ञान, सिभिल ओभरसियर, अप्थालमिक साईन्स, फार्मेसी पढाई हुन्छ भने प्रिडिप्लोमा तहमा कुषि जेटिए, अमिन, सिभिल सवओभरसियर र सिएमएका साथै अन्य छोटा कार्यक्रमबाट हजारौं दक्ष जनशक्ती उत्पादन गर्दै आएको छ ।

यसरी भएको थियो शिक्षालय सार्ने निर्णय

लुम्बिनी प्रदेश सरकारको मंसिर १६ गते बसेको मन्त्री परिषद बैठकले स्थायी राजधानीका लागि व्यवस्थित शहर निर्माण गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । राजधानीको व्यवस्थापन तथा समन्वय समितिको संयोजकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री रहने र सदस्य सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रहने बताईएको थियो ।

सोहि समितिको सदस्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रशासन तथा बैठक महाशाखा, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी र विभिन्न्न शाखा प्रमुख ब्यवस्था गरिएको थियो ।

समितिले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वमा प्रदेशको स्थायी राजधानी रहने राप्ती उपत्यकामा जग्गाको व्यवस्थापन, गुरुयोजना निर्माण, संरचना निर्माणमा आवश्यक समन्वय तथा सहकार्य गर्ने र निर्देशन दिने काम गर्ने सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताएका थिए ।

प्रवक्ता चौधरीले समितिले मुख्यमन्त्रीको प्रत्यक्ष निर्देशन बमोजिम स्थायी राजधानी व्यवस्थापनको लागि जग्गा प्राप्ति, संरचना निर्माण, व्यवस्थित शहर निर्माणलगायत कार्यको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई आवश्यक निर्देशन दिने र आवश्यक परेमा जग्गा प्राप्ति, गुरुयोजना निर्माणलगायत काममा समन्वय र सहकार्य गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण संलग्न रहने गरी प्राविधिक समिति गठन गर्न सकिने बताएका थिए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई राप्ती प्राविधिक शिक्षालयको परिसरमा स्थानान्तरण गरी प्रदेशको स्थायी राजधानीको गुरुयोजना लगायतका काम अगाडि बढाउन मन्त्रिपरिषद्ले आज स्वीकृति प्रदान गरेको थियो । पूर्वाधार विकास प्राधिकरणलाई प्राविधिक शिक्षालयको परिसरमा स्थानान्तरण गर्ने मुख्यमन्त्री कार्यालयको प्रस्तावलाई बैठकले स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता चौधरीले बताए थिए ।

मन्त्रिपरिषद् बैठकले राप्ती प्राविधिक शिक्षालय, लालमटिया दाङले उपयोग गरेको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । प्राविधिक शिक्षालयको १७ बिघा, १९ कट्ठा, चार धुर जग्गा माग गरिएको छ ।

बैठकले राप्ती प्राविधिक शिक्षालय, लालमटिया दाङलाई सरस्वती मावि विद्यानगर, गोवरडिहामा स्थानान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताएका थिए । सोही निर्णयको बिरोधमा बिद्याथीहरु आन्दोलित भएका हुन ।

यसअघि लुम्बिनी प्रदेशसभाको बैठकले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ओगटेको र चर्चेको राप्ती नदीको किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको राजधानी तोकियोस् भन्ने प्रस्ताव संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको घोषणा गरेको थियो ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको