November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार
प्रधानमन्त्री रोजगार कार्यक्रमको धेरै अनुदान पाउनेमा बागचौर नगरपालिका देशकै पहिलो

प्रधानमन्त्री रोजगार कार्यक्रमको धेरै अनुदान पाउनेमा बागचौर नगरपालिका देशकै पहिलो

कार्तिक २७, सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत “कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना” कार्यक्रम कार्यन्वयनको लागी प्रधानमन्त्री रोजगार कार्यक्रम बाट यो बर्ष देशभरमै सबैभन्दा धेरै अनुदान पाउनेमा सल्यानको बागचौर नगरपालिका प्रथम भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले कार्तिक २५ गते निकासा गरेको अनुदान रकम विवरणको आधारमा देशभरका ७५२ स्थानीय तहलाई पछि पार्दै बागचौर नगरपालिकाले सबैभन्दा धेरै अनुदान पाउन सफल भएको हो ।

‘कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना” कार्यक्रम कार्यन्वयनको लागि नगरपालिकाले देशभरमा सबैभन्दा बढी ८९० जना बेरोजगार ब्यक्तिलाई १०० दिन बराबर काम गराउनको लागि ४ करोड ५९ लाख ८९ हजार बराबर बजेट अनुदान पाएको हो ।

अनुदानमा आएको रकम बिशुद्ध ज्यालामा मात्रै खर्च  हुने भएकाले उक्त कार्यक्रम सँग निर्माण सामग्री खरिद तथा साझेदारीमा काम गर्नेको लागि नगरपालिका रू. ५० लाख र औजार खरिदको लागि ५ लाख छुट्याएको नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताउनु भयो ।

त्यस्तै ‘कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना” कार्यन्वयनको देशभरमै दोस्रो धेरै अनुदान रकम पाउनेमा कैलालीको लम्किचुहा नगरपालिका रहेको छ । नगरपालिकाले ८३० जना बेरोजगार ब्यक्तिहरुलाई १०० दिन बराबर काम दिनेगरी ४ करोड २९ लाख ७ हजार रुपैयाँ अनुदान पाएको हो ।

तेस्रो स्थानमा सल्यानकै दार्मा गाउँपालिका

त्यसैगरी उक्त कार्यक्रम कार्यन्वयनको लागि देशभरका सबै (गापा,नपा) स्थानीय तहहरूमा तेस्रो ठूलो अनुदान रकम पनि सल्यानकै दार्मा गाउँपालिकाले प्राप्त गरेको छ । गाउँपालिका तर्फमात्रै गणना गर्दा देशभरमै ठूलो अनुदान पाउने पहिलो नंबरमा सल्यानको दार्मा गाउँपालिका नै रहेको छ ।

कार्यक्रम कार्यन्वयनको लागि गाउँपालिकाले ५७६ जना बेरोजगार ब्यक्तिहरू लाई १०० दिन बराबर रोजगारी दिन २ करोड ९७ लाख ८० हजार अनुदान पाएको हो भने उपरोक्त बजेट सँग साझेदारीमा काम गर्नको लागी गाउँपालिकाले थप १ करोड २० लाख बिनियोजन गरेको अध्यक्ष निमबहादुर केसीले सामाजिक संजाल मार्फत बताउनु भएको छ । प्राप्त बजेटलाई यथाशीघ्र कार्यन्वयनमा लिएर राेजगार सिर्जना गर्नु पालिकाको पहिलो कार्यभार भएको उहाँको भनाइ छ ।

कसरी आयो सल्यानमा सबैभन्दा धेरै अनुदान ?

प्रधानमन्त्री रोजगार कार्यक्रमले यसबर्ष ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यन्वयनको गर्न अनुदानको लागि सामान्य मापदण्ड बनाएको थियो ।

मापदण्ड अनुसार देशका सबै स्थानिय तहहरूले आआफ्नो स्थानिय तहको रोजगार सेवा केन्द्रमा सूचीकरण भएका बेरोजगार ब्यक्तिहरूको विवरण “रोजगार ब्यबस्थापन सूचना प्रणाली (EMIS) मा भाद्र मसान्तसम्म भित्र प्रबिष्ट ( इन्ट्री) गरिसक्नुपर्ने र सोही संख्याको आधारमा अनुदान पठाउने सुचना दिएको थियो ।

तर कतिपय स्थानीय तहले समय थप्नुपर्ने माग गरेपछी र कोरोना भाइरसको प्रभावलाई पनि ध्यान दिदै प्रधानमन्त्री रोजगार कार्यक्रमले असोज २० गते सम्मको समय दियो । यद्यपि थपिएको समयमा पनि १८४ स्थानीय तहले विवरण प्रबिष्ट गर्न ससके पछि हाललाई अनुदान पाउन बाट बन्चित भएका हुन्।

यद्यपि प्राबिधिक कारणले अहिले अनुदान नपाएका सबै स्थानीय तहहरू अर्को चरणमा अनुदान पठाउने प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना छ । अहिले ६ अर्ब बजेट मध्ये ३ अर्व मात्र बितरण गरिएको र तिहारपछी दोस्रो चरणमा बाकी ३ अर्व अनुदान बितरण गरिने रोजगार कार्यक्रमले बताएको छ ।

पहिलो चरणमा सल्यानका बागचौर नपा, कैलालीको लम्किचुहा नपा र सल्यानको दार्मा गापाले समयमै बेरोजगार ब्यक्तिहरूको बिबरण सूचना प्रणालीमा इन्ट्री गरे । सुचना प्रणालीमा विवरण इण्ट्री गर्नेमा पनि सल्यानको बागचौर देशैभर पहिलो र दार्मा तेस्रो भए ।

आफुहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशन हेलचेक्राइ नगरेर रातदिन नभनी डाटा इन्ट्री गरेर पहिलो हुन सफल भएको बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीको भनाइ छ । उनले भने – “हामीले रातदिन नभनी काम गर्‍यौं, नगरका कम्प्युटरमा पोख्त शिक्षकहरूलाई पनि काममा लगायौ र नगर कार्यपालिकाको पनि प्रयाप्त सहयोग पाउँदा सफलता हात लाग्यो , अब कार्यन्वयनमा पनि राम्रो गर्न सके यसको अर्थ हुन्छ।”

 

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको