November 26, 2020, Thursday
२०७७ मंसिर ११, बिहीबार
सल्यानका ८ बिद्यालय : जस्ले परिक्षा शुल्क लिए, रसिद दिएनन्

सल्यानका ८ बिद्यालय : जस्ले परिक्षा शुल्क लिए, रसिद दिएनन्

कार्तिक २३, सल्यान । सल्यानका विभिन्न आठ वटा माद्यामिक बिद्यालयहरूले कक्षा ११ को परिक्षा संचालनको लागि विद्यार्थीहरू बाट लाखौं रकम उठाए पनि शुल्क लिए पश्चात् विद्यार्थीलाई दिनुपर्ने कुनै पनि बिल तथा रसिद नदिएको बुझिएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले तोकेको शुल्कमा नबढ्ने गरि परिक्षा संचालनको लागी आवस्यक शुल्क लिन पाइने कार्यबिधिमा टेकेर शुल्क उठाए पनि जिल्लाका जनकल्याण नमुना माबि थारमारे, सरस्वती माबि शिबरथ, दुर्गा सरस्वती माबि बाफुखोला, बालकन्या माबि कोटबारा, महेन्द्र माबि कुमाईगाउँ, त्रिजमाबि माल्नेटा, भानुभक्त माबि दमाचौर र महेन्द्र रत्न माबि पिपलनेटाले शुल्क उठाए पस्चात विद्यार्थीहरू लाई कुनै बिल तथा रसिद नदिएको बुझिएको हो ।

यसरी विद्यार्थीहरूले परीक्षा शुल्क तिरे पश्चात् कुनै पनि बिल तथा रसिद नपाएको र बिद्यालयको अभिलेखमा पनि शुल्क लिएको कुनै आधिकारिक रेकर्ड ( प्रमाण ) नहुने भएपछि उक्त रकम बिद्यालयको कोषमा नगएर दुरुपयोग हुनसक्ने आशंका गरिएको छ ।

आठ वटा बिद्यालय मध्ये त्रिजमाबि माल्नेटाले प्रति विद्यार्थी रू.६००/- र भानुभक्त माबि दमाचौरले प्रति विद्यार्थी रू. ४००/- का दरले शुल्क लिएका छन भने जनकल्याण नमुना माबि थारमारे, सरस्वती माबि शिबरथ, दुर्गा सरस्वती माबि बाफुखोला, बालकन्या माबि कोटबारा, महेन्द्र माबि कुमाईगाउँ र महेन्द्र रत्नमाबि पिपलनेटाले प्रती विद्यार्थी रू.५००/- का दरले शुल्क लिएका छन ।

यस बर्ष जनकल्याण नमुना माबि बाट नियमित र आंशिक तर्फ ४२७ जना विद्यार्थी परिक्षामा सामेल हुदैछन । परिक्षामा सहभागी हुने सबै विद्यार्थीहरूको शुल्क जोड्दा थारमारेको मात्रै रू. २,१३,५०० रकम संकलन हुन्छ ।

त्यसैगरी सरस्वती माबि शिबरथबाट नियमित तर्फ मात्रै १६९ जना सहभागी हुदैछन भने आंशिक तर्फपनि थुप्रै रहेको बताइएको छ । त्यस्तै बालकन्या माबिबाट १८६, बाफुखोला बाट ९९ , कुमाइगाउँबाट ६१ र दमाचौरबाट नियमित तर्फ १०७ जना विद्यार्थी परिक्षामा सहभागी हुने बताइएको छ ।

एउटै बर्षमा दुई पटक परिक्षा शुल्क लिएको देखिने भएकाले रसिद दिएनौं : पंकज

रसिद नदिएरै शुल्क लिएको विषयमा नयाँ दृष्टि डटकमलाई प्रतिक्रिया दिदै जनकल्याण नमुना माबि थारमारेका प्रधानाध्यापक पुर्णबहादुर भण्डारी ” पंकज ” ले एउटै बर्षमा दुई पटक परिक्षा शुल्क लिएको देखिने भएकाले रसिद नदिएको बताए।

उनले भने – “बिगतमा कक्षा ११ को परिक्षा, राष्ट्रिय परिक्षा बोर्डले गराउथ्यो। त्यसैले विद्यार्थीहरूले रजिस्टेसन फारम भर्नेबेला गत माघमा नै परीक्षा शुल्क तिरिसकेका थिए । उक्त रकम परिक्षा बोर्डलाई पठाइसकिएको थियो । अहिले बिद्यालय आफैले परिक्षा संचालन गर्नुपर्दा परिक्षा संचालनको लागि शुल्क उठाएका हौं ।”

यद्यपि जनकल्याण नमुना माबि थारमारे आन्तरिक स्रोत साधनले जिल्लामै सम्पन्न विद्यालय भएको हुदा परिक्षा संचालन गर्दा शुल्क उठाउन आवस्यक नभएको र जुनसुकै शिर्षकमा जति पटक शुल्क लिए पनि अनिवार्य रसिद दिनुपर्ने जानकारहरू बताउछन ।

त्यस्तै त्रिज्माबि माल्नेटाका प्रधानाध्यापक वायुकुमार ब्रहामनले भने शुल्क उठाएको सम्पर्ण रकम परिक्षामै खर्च हुने भएकाले रसिद नदिएको बताए ।

विद्यार्थी बाट संकलन भएको सम्पुर्ण रकम एकमुष्ट बिद्यालयको खातामा जम्मा गरिने सरस्वती माबि शिबरथका प्रधानाध्यापक रामरोषनी बस्नेतको भनाई छ ।

यी ५ बिद्यालयले लिएनन् , परिक्षा शुल्क :

जिल्लाका अधिकांश बिद्यालयहरूले परिक्षा संचालनको लागि महंगो शुल्क लिइरहेको सन्दर्भमा जिल्लाका ५ वटा बिद्यालयहरूले भने शुल्क नलिएरै परिक्षा संचालन गरेको बताएका छन ।

जिल्लाका त्रिभुवन जन माबि लुहापिङ खलंगा, शिवजन माबि शितलपाटी, शारदा माबि शंखमुल, जनता माबि रागेचौर र त्रिभुवन जनता माबि च्युराले आन्तरिक स्रोत बाट ब्यहोर्नेगरी विद्यार्थीहरू बाट शुल्क नलिएरै परिक्षा संचालन गरेका हुन ।

अहिले पठन पाठन नभएको अबस्थामा शुल्क बारे केहि पनि निर्णय नभएको त्रिभुवन जनबमाबि लुहापिङका प्रधानाध्यापक माधव विक्रम जिसीले बताउनु भयो ।

के हुन्छ, विद्यार्थीले गत माघमै बोर्डलाई तिरेको शुल्क ?

बिगतमा कक्षा ११ को बार्षिक परिक्षा राष्ट्रिय परिक्षा बोर्डले लिदै आएको थियो । परिक्षा संचालनको लागि भनेर बोर्डले गत माघमै प्रति विद्यार्थी रू.६००/- का दरले शुल्क लिइसकेको थियो ।

तर बर्ष विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड – १९ ) का कारण गत चैतदेखी नेपाल सरकारले जारी गरेको लकडाउनले गर्दा परिक्षा स्थगित भएपछी अहिले कक्षा ११ को बार्षिक परिक्षा बिद्यालय आफैले लिने र मुल्यांकन गर्ने कार्यबिधी बनेकाले यतिबेला देशभरका बिद्यालयहरुले आ-आफ्नो अनकुलतामा परिक्षा संचालन गरिरहेका छन ।

यद्यपि विद्यार्थी बाट लिएको शुल्क परिक्षा बोर्डले फिर्ता गरेको छैन । रू.६००/- शुल्क लिएको मध्ये राष्ट्रिय परीक्षा बोर्डले रू. २००/- परिक्षाको तयारीमा खर्च भैसकेको र बाकी रू.४००/- रुपैयाँ आउने बर्षको कक्षा १२ को परिक्षा शुल्कमा समायोजन गर्ने बताएको छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको