दसैंमा हाउजिङ कारोबार

दसैंमा हाउजिङ कारोबार

कुनै समय थियो, मानिसहरू दसैंतिहार नयाँ घरमा मनाउने योजना बनाउँथे। नयाँ लुगा किन्ने, मिठो मसिनो खाने भनेजस्तै दसैंमा नयाँ घर सर्ने वा लिभिङ अपग्रेड गर्ने फेसन बनेको थियो। तर, यसपालि अर्थतन्त्रमा मन्दी छाएसँगै अधिकांश मानिसको सोच न्यूनतम आवश्यकतामा मात्रै सीमित

छ। नयाँ घर वा हाउजिङ किन्ने विषयले प्राथमिकता नपाएको रियल स्टेट व्यवसायी बताउँछन्। कोरोना महामारीसँगै चैतपछि सरकारले लकडाउन र निषेधाज्ञा लगाएपछि अधिकांश उद्योगधन्दा चौपट भएको छ। कतिपयले रोजगारी गुमाएका छन्। यसले औसतमा मानिसको क्रयशक्तिमा ह्रास आएको छ। कोभिड–१९ को महामारी नरोकिएको अवस्थामा नयाँ घर किन्ने गतिविधिमा ब्रेक लागेको छ। उसो त सरकारले कित्ताकाटमा रोक लगाएपछि घरजग्गा कारोबारमा मन्दी छ। सरकारले ‘प्लानिङ पर्मिट’मा समेत रोक लगाउँदा नयाँ घर कारोबार हुन नसकेको नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष इच्छा वाग्लेले बताए।

घर जोड्न वा लिभिङ अपग्रेड गर्न दसैंतिहारजस्ता ठूला चाडबाडलाई उपयुक्त मौकाका रूपमा उपयोग गर्न चाहने र यो बेला नयाँ घरमा उत्सव मनाउन चाहने नेपाली परिवार प्रशस्तै हुन्छन्। यसकारण पनि दसैंतिहार नजिकिन थालेपछि हाउजिङको माग बढ्ने गरेको रियल इस्टेट कम्पनीको भनाइ छ। चाडपर्वको बेला हाउजिङ डेभलपरले ग्राहकलक्षित फेस्टिभ स्किम ल्याउने भएकाले उपभोक्ता त्यसको पर्खाइमा हुन्छन्। दसैंतिहारलक्षित फेस्टिभ अफर छठसम्म कायम रहन्थ्यो।

तर, यस वर्ष अधिकांश रियल इस्टेट कम्पनीसँग नयाँ परियोजना नभएकाले पनि चाडपर्वलक्षित फेस्टिभ अफर आएनन्। केही वर्ष अघिसम्म हाउजिङ एकाइ खरिद गर्ने ग्राहकलाई रियल इस्टेट कम्पनीले विभिन्न देशको भ्रमण गराउनेदेखि गाडी दिनेसम्मका उपहार योजना ल्याएको बाक्लै देखिन्थ्यो। तर, पछिल्लो आधा दशकयता चाडबाडलक्षित यस्ता फेन्सी उपहार योजना विभिन्न होम अप्लायन्स, केही नगद छुट वा मोडुलर किचेन निःशुल्क इत्यादिमा सीमित छन्। मानिसको व्यस्ततासँगै आफैँले घर बनाउने फुर्सद कम हुँदै गएका बेला अहिले उपभोक्तमा आफैँ जग्गा किनेर घर बनाउनेभन्दा अपार्टमेन्ट वा हाउजिङमा बस्ने चलन बढेको छ।

२०७२ को विनाशकारी भूकम्पअघि मानिसमा अपार्टमेन्टमा बस्ने एक प्रकारको क्रेज थियो। मानिसहरू आफू बसिरहेको घर बेचेर अपार्टमेन्ट किनेको पनि देखियो। तर, भूकम्पपछि यसमा केही सुस्त भएको छ। उपत्यकामा मध्यम वर्गको परिवारका लागि आफैँले घर बनाएर बस्न सस्तो पर्छ। अहिले सामान्यतया दुई हजार वर्गफिटको एकतले घर बनाउँदा प्रतिवर्गफिटको खर्च ३५ सय देखि चार हजारसम्म पर्छ। तर, त्यही क्षेत्रफलको हाउजिङ बनाउँदा भने ६ हजारभन्दा बढी पर्न जान्छ। नेपालमा १० वर्ष अघिदेखि अपार्टमेन्ट बिल्डिङको चलन सुरु भयो। मानिसको माग पनि निकै थियो। तर, भूकम्पपछि अहिले अपार्टमेन्टमा मानिसको आर्कषण कम देखिएको छ।

शीर्ष समाचार

धेरै पढिएको