October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
उद्योगपति तथा राजनितिज्ञ राजेन्द्र वीर रायको कथा

उद्योगपति तथा राजनितिज्ञ राजेन्द्र वीर रायको कथा

कर्णाली विकास वैंक लगायत अन्य थुप्रै ठुला उद्योगका मालिक उद्योगी, समाजसेवी तथा राजनितिज्ञ राजेन्द्र वीर रायलाई आजको दिनमा नचिन्ने सायदै होलान । तर जिवनमा उनले गरेको संघर्ष र भोगेको कठिनाईहरुका बारेमा हामी धेरैलाई थाहा नहुन सक्छ ।

२०१६ सालमा सल्यान खलंगा नजिकै बयलडाँडाको मध्यम स्तरिय परिवार जन्मिएका राय ६ बर्षको कलिलो उमेरमा नै टुहुरो बन्न पुगे । उनि ५ बर्षको हुदा उनका बुवा र आमाको छोडपत्र भयो । आमा सँग बिछोड भएको करिव १ बर्ष पछि उनले बुवालाई पनि सधैंका लागी गुमाए । त्यसपछि सुरु भयो – उनको संघर्षको असली कथा ।

स्कुले जिवनमा हामी धेरैले ‘शिशिर र बसन्तको कथा’ पढेकै हौंला । ‘एकादेशमा एउटा राजा हुन्छन । राजा सिकार खेल्न जंगल गएका हुन्छन । रानी दरबारको खोपीमा बसेर बाहिरको वातावरण नियाली रहेकी हुन्छीन । नजिकैको झाडिमा एउटा चराको गुड हुन्छ । गुडमा चराका बचेरा हुन्छन । आमा चरी उनिहरुलाई विभिन्न खाना ल्याएर ख्वाउछिन । तर एकदिन कुनै सिकारीले हानेर आमा चरीलाई मारिदिन्छ ।

आमा चरीलाई सिकारीले मारेपछि बा चरोले अर्काे चरी ल्याउछ । सुरुसुरुमा त ति चरीले पनी बचेरालाई आहारा ख्वाउछिन । तर बिस्तारै उनले वास्ता गर्न छोड्छीन र एकदिन गुड बाट निकालेर फ्याक्दिन्छीन । त्यो देखेर रानी सोकमा पर्छिन । उनलाई लाग्छ – यदि म पनी कसैगरी मरीहाले भने मेरा छोराहरु शिशिर र बसन्तको हालत यस्तै त हुदैन ?

नभन्दै चिन्तै चिन्ताले रानीलाई चिताको बाटोमा पुर्याउछ । उनको मृत्यु हुन्छ । राजाले केहि समय पछि अर्की रानी ल्याउछन । ति रानीले केहि दिन त राम्रै गर्छिन तर दिनहरु वित्दै जाँदा उनिहरुलाई दरवारबाट निकाला गर्छिन ।

सैनिकहरुले शिशिर र बसन्तलाई कुनै घना जंगलमा छोडेर आउछन । रात परेपछि जाडो लाग्छ । शिशिर कतै टाढा आगो बलेको ठाउँमा आगो ल्यानउ जान्छन । तर आगो भएको ठाउँमा नपुग्दै उज्यालो हुन्छ । विहान शिशिरलाई एउटा हात्तीले समातेर काँधमा राखेर कुनै देशको राजगद्धीमा बसाईदिन्छन । यता जंगलमा बसन्त एक्लै हुन्छन । आगो ल्याउन गएका दाजु कहिल्यै फर्किदैनन् । एवं प्रकारले जंगलमा बसन्तले अनेक प्रकारका दुःख पाउछन ।’

यो त भयो ‘शिशिर र बसन्तको कथा’ । काल्पनिक कथा । तर राजेन्द्र वीर रायको यथार्थ कथा पनि यो भन्दा कम छैन । सानै उमेरमा रायको परिवारमा विखण्डन आयो । बुवा आमाको छोडपत्र भएपछि परिवार विभाजित भयो । आमा र सानो भाई मावली घरतिर लागे । बुवा, उनी र उनको बहिनी सल्यानमै रहे ।

त्यसको एक वर्षमै वुबाले पनि सधैंको लागी साथ छोड्नु भयो । त्यसपछि उनी र उनको बहिनी एक्लै भए । पछि बहिनीलाई पनि नेपालगंज तिर कुनै आफन्तको घरमा बस्न, काम गर्न लिईयो । यता उनि एक्लै भए । उनको संरक्षण गर्ने, अविभावकत्व गर्ने नजिकको कोहि भएन ।

राय भन्छन – ‘त्यतिवेला म बाल शिक्षा मन्दिर खलंगामा कक्षा २ मा पढ्थे । मेरो फि तिर्दिने मान्छे कोहि भएन । फि (शुल्क) तिर्न नसकेपछि मेरो नाम काटियो । मैले जाँच दिन पाईन ।’ त्यसवेला अनाथहरुलाई न राज्यले संरक्षण गथ्र्याे न अहिले जस्तो सामाजिक संघसंस्था थिए ।

राय पढाईमा तेज थिए । उनि विद्यालय जान नपाएर घरै बसेका देखेर शिवजन प्रावि शितलपाटीका कुनै शिक्षक थिए वा अरु कोहि व्यक्ती, उनले निशुल्क पढ्ने गरी शिवजन प्रावि शितलपाटीमा कुरा गर्दिए । आफु प्रति सदासयता देखाउने ति व्यक्ती को थिए ? राय अचेल सम्झने कोसिस गर्छन तर सम्झना सक्दैनन । भन्छन – ‘जिवनमा सामान्य लाग्ने अर्थपूर्ण कुराहरु छुट्दा रैछन ।’

बयलडाँडा बाट शितलपाटी पुग्ने बाटोमा अहिले पनी घना जंगल छ । त्यहाँ ५५ बर्ष पहिले कति घना जंगल थियो होला ? त्यहि बाटो हिड्नु रायको दैनिकी थियो । राय भन्छन – ‘त्यहाँ माझिपौवा भन्ने खोल्सा थियो । त्यो अधेरो थियो । त्यहाँ मलाई असाध्यै डर लाग्थ्यो । त्यस ठाउँ क्रस गर्न कि त म ज्यान फालेर कुद्थे कि त कसैलाई प्रखेर वस्थे ।’

आजका उद्योगपति रायबारे सामान्यतया हाम्रो अनुमान यहि हुन सक्छ की उनी कुनै ठुलो व्यवसायिक परिवारमा जन्मेका थिए होला । सुखसयलमा हुर्केका थिए होला । तर यथार्थ त्यस्तो छैन । आम मान्छेले भोग्ने जिवन भन्दा उनको जिवन असजिलो थियो । अभाबग्रस्त थियो । भावविव्हल हुदै उनी भन्छन – ‘म सँग खुट्टामा चप्पल हुदैन थियो । खाजा हुदैन थियो । राम्रो लुगा हुदैन थियो । अरुले दिएका जड्यौरी लुगा लगाउथे । अरुले फ्याँकेका किताव पढ्थ्ये । अरुले दिएका कापिमा लख्थे ।’

विगत कोट्याउदा रायका गहभरी आँसु टिलपिल हुन्छ । गला अवरुद्ध हुन्छ । उनि सोचमग्न हुन्छन । भन्छन – ‘त्यतिवेला म कसरी बयलडाँडा बाट एक्लै शितलपाटी गए होला ? कसरी १ – ५ कक्षा पढे होला ? के म पढेर, जानेर आफ्नै बुद्धीले पास भए होला की मलाई टुहुरो भनेर गुरुहरुले यत्तिकै पास गर्दिनु भयो होला ? म स्मरण गर्न पनि सक्दीन ।’

शितलपाटीमा कक्षा ५ सम्म पढिसके पछि जाँच दिन नपाउदै उनी प्युठान गए । प्युठान बाट उनको सानिमा एउटा मुद्दाको शिलशिलामा सल्यान आएकी थिइन । त्यसवेला सल्यानमा अञ्चल अदालत थियो । सल्यान आएको वेला उनले रायलाई पनि भेटिन र उनको दुर्दशा, विजोग देखेर उनलाई मामाघर लगेर राखिदिईन । आमाले अर्काे बिहे गरिसक्नु भएको थियो । मामाघरमा नै आमा सँग उनको पुनःर्मिलन भयो । राय भन्छन – ‘हाम्रो कान्छो वुवा पनि सरल ह्रदयको हुनुन्थ्यो । पछि उहाँले हाम्रो संरक्षण गर्नु भयो ।’

राय पढाईमा कहिल्यै दोस्रो भएनन । सल्यान बाट प्युठान गएपछि उनलाई त्यहाँको महेन्द्र माविमा भर्ना गरियो । गएकै साल उनी त्यहाँ स्कूल फस्ट भए । माद्यामिक र उच्च मावि तह उनले पुरै छात्रवृतिमा पढे । त्यसपछि काठ्माण्डौं गएर उनले ईञ्जीनियरिङ पढे र करिव १०-१२ बर्ष विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुमा सर्भे तथा डिजाइन सम्बन्धि काम गरे  पश्चात अन्तिममा प्लान ईन्टरनेशनल नेपालको प्रोजक्टमा सुविधा सम्पन्न जागीर सुरु गरे । त्यहाँ उनी टेक्निकल डिपार्टमेन्टको कोर्डिनेटर थिए ।

जागीर बाट व्यबसाय तर्फ :

प्लान ईन्टरनेशनल नेपालमा रहेर विदेशीहरु सँग काम गर्दा उनले कम्युटर सम्बन्धी धेरै कुरा सिके । कम्प्युटर शिक्षा भविष्यमा नेपालको लागी अपरिहार्य हो भन्ने उनलाई महसुस भयो । त्यसपछि आफुले जागीर गरेर कमाएको करिब ४-५ लाख रुपैंया लगानी गरेर ललितपुरको पाटनमा उनले २०४० सालमा ‘रारा कम्प्युटर इन्टिच्युट’ खोले । यो उनको पहिलो व्यबसायिक सुरुवात थियो ।

राय भन्छन – ‘त्यतिवेला नेपालमा भर्खर कम्प्युटर युगको सुरुवात भएको थियो । कम्प्युटर सम्बन्धी काम गर्ने काठ्माण्डौमा २-४ संस्था मात्र थिए । ‘रारा कम्प्युटर इन्टिच्युट’ ललितपुरको पहिलो थियो ।’

व्यबसाय फस्टाउदै गयो । उनले जागीर र व्यबसाय दुवै एकैसाथ भ्याउने अवस्था रहेन । जागीर छोड्ने कि व्यबसाय भन्ने द्व’न्दात्मक अवस्था उनी सामु आयो । उनले जागीर छोड्ने निधो गरे । सोचे – ‘म सँग योग्यता छ । क्षमता छ । अनुभव छ । व्यबसाय सफल भएन भने १-२ बर्षपछि पुनः जागीरमा फर्किन्छु । अहिले व्यबसायलाई निरन्तरता दिन्छु ।’

राय भन्छन – ‘तर कस्तो संजोक, मलाई व्यबसाय बाट पछाडि फर्किने मौका नै आएन । मेरा व्यबसायहरुमा प्रगति हुदै गयो ।’

त्यसपछी २०४८ सालमा उनले काठ्माण्डौमा नै ‘रारा इम्प्लाईमेन्ट कम्पनी’ खोले । लगतै २०५२ सालमा उनले ललितपुर फाईनान्स कम्पनी र गुह्यश्वरी फाईनान्स कम्पनी पनि सञ्चालन गरे । त्यस्तै उनले सुप्रिम अटोमोबाइल, निगाल्चुला ट्रेडर्स र रारा कम्प्युटर इन्टरनेशनल जस्ता व्यबसाय संचालन गरे । २०५० सालमा नेपालगन्जमा उनले ‘राय फार्म’ सञ्चालनमा ल्याए तर त्यो फार्म द्व’न्दकालमा माओबादीले कब्जा गरेर पुर्नरुपमा ध्वस्त गरिदिए ।

उनि भन्छन – ‘तत्कालिन समयमा करिव ५ – ६ करोड लगानीमा सञ्चालनमा ल्याईएको त्यो फार्म पश्चिम नेपालकै ठुलो ह्याचरी एण्ड फिड इन्डस्ट्री थियो । त्यो घटनाले मेरो व्यबसायिक निरन्तरतामा ठुलो चोट लाग्यो । मैले राज्य बाट पनी कुनै क्षतिपुर्ति पाईन ।’

यद्यपी उनले हरेसा खाएनन् । व्यबसायलाई निरन्तरता दिईरहे । २०५९ सालमा उनले ‘कर्णाली बिकास वैंक’ स्थापना गरे । यो पनि मध्यपश्चिमको पहिलो विकास बैंक थियो । अहिले झण्डै १९ वटा शाखा रहेको बैंकका यहि आर्थिक बर्षमै रोल्पा र प्यूठानमा शाखा खोल्ने उनको योजना छ । यि बाहेक प्रशोधन र बस्तु उत्पादन सम्बन्धी उनका अन्य थुप्रै ठुला उद्योगहरु अहिले सञ्चालनमा छन र पचास – साठी प्रकारका उत्पादित बस्तु बजारमा आउछन ।

व्यबसायमा कसरी सफल हुने ?

हरेक सफल र संघर्षशिल व्यक्तीत्वको बारेमा पढ्नु, जान्न खोज्नु भनेको उनिहरुले आर्जन गरेको ज्ञान र अनुभव बाट सिक्नु पनि हो । कठिन र विशिष्ट प्रकारको वातावरण बाट हुर्केर, उद्योग – व्यवसायको क्षेत्रमा अकल्पनिय सफलता हासिल गरेका रायबारे पढ्दै गर्दा जो कोहिको मनमा आउने जिज्ञासा सायद यही हुन्छ – ‘आखिर उद्योग व्यवसायमा कसरी सफल हुने ?’

जवाफमा राय भन्छन – ‘पहिलो कुरा बजार बिश्लेषण गर्नुपर्छ । तपाईले सुरु गर्न लागेको व्यबसायको समाजमा माग र आवस्यक्ता छ कि छैन ? माग छ भने मात्रै त्यो व्यबसाय गर्नुस । दोस्रो कुरा, निरन्तरता सहितको लगनशिलता हो । व्यबसायमा बिभिन्न किसमका अवरोधहरु आईरहन्छन । तपाई हड्बडाउनु हुदैन । पछि हट्नु हुदैन । निरन्तर मेहनत गरिरहनुपर्छ । हिड्दै जाँदा, बाटाहरु खुल्दै जान्छन ।’

यद्यपी राज्यले उद्योगी व्यबसायिहरुको संरक्षण गर्न नसकेको उनको गुनासो छ । भन्छन – ‘हामीले उत्पादन गर्ने वस्तुको आधा मुल्य बरावर हामी राज्यलाई भ्याट, अन्तरशुल्क लगायत कर तिर्छौं तर खुला सिमा नाका बाट तस्करी भएर आउने वस्तु राज्यले नियन्त्रण गर्न नसक्दा उद्योगीहरु मारमा परेका छन । उद्योग व्यबसायलाई कसरी अगाडि बढाउने भन्ने राज्यको कुनै भिजन नै छैन ।’

व्यबसाय बाट राजनिति तर्फ :

समाजमा रहने हरेक मानिस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनिति बाट प्रभावित हुन्छन नै । उनि जस्तो उद्योगी र सचेत नागरिक पनि राजनिति बाट टाढा रहने कुरै भएन । यद्यपी उनि जिवनभर सत्ता र शक्तीदेखी भने टाढै रहे ।

कुनै चलिचित्र जस्तो लाग्ने, कथा जस्तो लाग्ने जिवनको एक अध्याय जतिवेला उनले फि तिर्न नसकेर स्कूलबाट निकालिनु परेको थियो । खुट्टामा चप्पल हुदैन थियो । अरुले फ्याँकेका किताब पढ्नु पथ्र्यो । तर आज जिवनभर पढि नसक्ने किताब किन्न सक्छन उनी । जिवनभर लेखि नसक्ने कापि किन्न सक्छन । जिवनभर लाईनसक्ने चप्पल किन्न सक्छन । नपुग्दो केहि छैन । माया र सम्मान गर्नेको कमी छैन । तथापी उनि राजनितिमा आए । आखिर, किन व्यबसायिक जिवन बाट राजनितिमा आए त उनी ?

राय भन्छन – ‘व्यबसाय र राजनितिमा फरक छ । व्यबसाय बाट पनि देश र समाजको केहि सेवा गर्न सकिन्छ तथापी त्यहाँ उस्को व्यक्तीगत लाभ हानीको स्वार्थ पनि जोडिएको हुनाले सोचे जस्तो सेवा गर्न सकिदैन । राजनिति भनेको देश र सजाजका लागी निस्वार्थ गरिने योगदान हो । मैले जुन किसमले व्यबसाय बाट समाजमा योगदान दिन सक्छु । त्यो भन्दा धेरै उत्कृष्ट किसमले राजनिति बाट निस्वार्थ सेवा गर्न सक्छु । त्यसमा नै मेरो आत्मसन्तुष्टी पनि छ ।’

रायले आफ्नो राजनितिक यात्राको सुरुवात तत्कालिन तराई मधेष लोकतान्त्रीक पार्टी बाट गरे । २०७० को निर्वाचन पनि लडे । पहाडको मान्छे भएपनि तराईमा उद्योग व्यबसाय गरेर र वसेको हुनाले त्यस ठाउँको विकासको लागी आफु त्यस पार्टीमा आवद्ध भएको उनको भनाई छ । उनि भन्छन – ‘तर बुझ्दै जाँदा त्यहाँ मधेषि भाषा र छालालाई मात्र प्राथामिकता दिएको र आफु अपमानित भएको मैले महसुस गरेर तमलोपा परित्याग गरे ।’

राप्रपा नै किन ?

तमलोपा परित्याग गरेपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी बाट राजनिति अघि बढाए । २०७४ सालको निर्वाचनमा सल्यान प्रदेश सभा क्षेत्र नं २ बाट चुनाव लडे । विजयी नभएपनि उनले राम्रै मत पाए । पार्टीले उनलाई कर्णाली प्रदेश ईञ्चाज र केन्द्रिय सह महामन्त्रीको जिम्मेवारी दियो ।

हाल राप्रपा संयुक्त र राप्रपा एकिकरण भएपछि बनेको राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिमा रहेर काम गरिरहेका रायलाई अहिले सत्ता र शक्तीमा रहेका ठुला दलहरुका ढोका पनी खुल्लै थिए तर पनि उनले अहिले तुलनात्मक रुपमा सानो राप्रपा नै चुने । किन ?

उनि भन्छन – ‘सिद्धान्त ठुला भनिने पार्टीको पनि नराम्रो छैन । तर नेपालमा जस्ले त्यसको प्रवद्र्धन गर्छु भनेका छन, उनिहरुको बोलाई र यथार्थतामा फरक छ । त्यो मैले भनिरहनु नपर्ला । त्यसैले मेरो उनिहरु प्रति वितृष्णा जाग्यो र मैले राप्रपा नै चुने । राप्रपा, देशको माटो सुहाउदो राष्ट्रबादी पार्टी हो । यसले उठाएको संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र नेपाल स्थापनाको एजेण्डा र यसले अंगालेको संवर्धद्धनबादको सिद्धान्तले मलाई आकर्षित गर्याे ।’

नेपाल हिन्दुराष्ट्र नै किन हुनुपर्छ ?

राय भन्छन – ‘संसारमा ६७ वटा क्रिश्चिएन मुलुक छन । ४६ भन्दा बढी मुस्लिम देश छन । १४ वटा बौद्ध मुलुक छन । तर नेपाल एउटा हिन्दु राष्ट्र थियो । त्यसलाई हटाईयो । आज विश्वमा लोपोन्मुख भएको भनेर जस्तै, हिंस्रक बाघ, भालु, गोहिलाई पनि प्रकृतिको देन हो, भावि पुस्ताको लागी नासो हो भनेर हामी त्यसलाई संरक्षण गर्न लागी रहेका छौ भने परापुर्वककाल देखी चलिआएको हाम्रो धर्म, संस्कृति र हिन्दु राज्यलाई किन नजोगाउने ? हाम्रो धर्म संस्कृति परिवर्तन गराएर लोप हुुन दिनुहुदैन ।’

नेपाललाई हिन्दुराष्ट्र बनाउदा विश्वभरीका १ अर्व बढि हिन्दुहरुले नेपाल प्रति सम्मान र सहानुभुति जनाउने र त्यसले हाम्रो राष्ट्रियताको रक्षा र धार्मिक प्रर्यटनको सम्भावना पनि बढेर जाने उनको विश्वास छ । उनि भन्छन – ‘क्रिश्चिएनहरुले भ्याटिकन सिटि र मुस्लिमहरुले मक्कामदिनालाई पबित्र भुमि ठाने जस्तै बौद्ध र हिन्दुहरुले नेपाललाई पवित्र भुमि ठान्नेछन । त्यसले हाम्रो आर्थिक समृद्धीमा ठुलो टेवा पुग्ने छ । यद्यपी यहाँ हिन्दु मात्रै वस्नु पर्छ भन्ने हाम्रो मान्यता होइन ।’

संवैधानिक राजसंस्था नै किन ?

देश अहिले संघिय गनतान्त्रीक शाशन व्यवस्थामा छ तर उनी र उनको पार्टी राप्रपा संवैधानिक राजतन्त्रको पक्षमा छन । देशमा संवैधानिक राजतन्त्र किन आवस्यक छ ?

राय भन्छन – ‘हाम्रो भुराजनिति क्रिटिकल (जटिल) खालको छ । एकातिर कम्युनिष्ट शाशन प्रणाली अवलम्वन गरेको विशाल चिन छ अर्काेतिर विशाल भारत । पृथ्वीनारायण शाहले पनि भन्नु भएको थियो नेपाल २ ढुङगा विचको तरुल हो । यि दुई देश विच हामिले समदुरी कायम गर्न सकेनौं, कसैलाई काखा र कसैलाई पाखा गर्न थाल्यौं र सन्तुलन मिलाउन सकेनौं भने हाम्रो अस्तित्व नै संकटमा पर्छ । राजनितिक दलहरु बाट यस्तो खालको सन्तुलन हुन सक्दैन, जुन अहिले देखा परिसकेको छ । तर राजाले यसको सन्तुलन गर्न सक्छन किनकी देश रह्यो भने मात्रै राजा रहन्छन । राजा जति राष्ट्रबादी अरु हुन सक्दैन ।’

राय भन्छन – ‘कुनै पनि राष्ट्रको विकासको लागी एउटा निश्पक्ष, राष्ट्रप्रेमी राष्ट्रप्रमुख चाहिन्छ । राजा सवैको साझा हुन्छन । तर त्यस्तो भुमिका राष्ट्रपतिबाट पुरा हुदैन । राष्ट्रपति कुनै दलबाट निर्वाचित हुन्छन । उनले निश्पक्ष भुमिका खेल्न नसक्दा देश द्धन्द्धमा जान सक्छ । राष्ट्र कै अस्तित्व संकटमा पर्छ । विगत एक दुई वर्षका घटनाक्रम लाई विश्लेषन गर्दा पनि त्यस्तो देखिन्छ । साथै राष्ट्रपति निश्चित समयका लागी निर्वाचित हुन्छन र कार्यकाल सकिन्छ । फेरी अर्काे कार्यकालको लागी निर्वाचन हुन्छ र प्रत्यक राष्ट्रप्रमुखको सुख सुविधामा हुने खर्च हाम्रो जस्तो सानो मुलुकले धान्न सक्दैन ।’

के हो, संवर्धनबाद ?

उनले राप्रपा बाटै राजनिति गर्नुको अर्काे महत्वपुर्ण कारण पार्टीले अंगालेको संवर्धनबादको सिद्धान्त पनि हो । के हो त संवर्धनबाद भनेको ? उनी भन्छन – ‘हरेक क्षेत्रमा निरन्तरता सहितको परिवर्तन ।’ अर्थात हरेक क्षेत्रमा विगतका राम्रा कुराहरुलाई जोगाउने र निरन्तरता दिने तथा समयको माग अनुुसार नयाँ शैली, चेतना र विचारलाई पनि ग्रहन गर्ने सिद्धान्त ।

अन्तमा :

राजेन्द्र वीर राय प्रत्यक्ष चुनावको झन्झटिलो बाटो नभएर समानुपातिक बाटो भएर पनि राजनिति गर्न सक्थे । त्यो उनलाई सजिलो पनि हुन सक्थ्यो । जनताको भोट नलिएर सांसद र मन्त्री बनेका थुप्रै अनुहार पनि छन । तर उनले त्यसो गर्न चाहेनन् । उनि भछन – ‘म जनता सँग हातेमालो गर्न चाहान्छु । उनिहरुका सुखदुखमा निस्वार्थ सेवा गरेर राजनिति गर्न चाहन्छु ।’

उमेरले ६१ बर्ष भैसकेका राय, सरल छन । न सम्पतीको घमण्ड छ । न उद्योगीको रवाफ । रोचक कुरा त कुनै वेला फि तिर्न नसकेर स्कूलबाट निकालिएका राय, यो उमेरमा पनि निरन्तर पढिरहेका छन ।

अर्थशास्त्र र पोलिटिकल साइन्समा मास्टर डिग्री गरेका राय अहिले कलंगा युनिभरसिटी बाट पोलिटिकल साइन्स बाट पि.एच. डि गर्ने क्रममा छन । प्रि पि.एच. डि पास गरिसकेका रायको लकडाउनको कारणले थेसिस गर्ने तालिका नै भताभुंग भएको छ ।

यो उमेरमा पनि किन पढिरहेको ? के पुगेको छैन ? राय भन्छन – ‘सिक्नुपर्छ । निरन्तर सिक्नुपर्छ । जिवित रहदा सम्म सिक्नुपर्छ । काम गर्नुपर्छ । व्यस्त रहनुपर्छ । जुन दिन सिक्न छोडिन्छ । काम गर्न सकिन्न । त्यहि दिन नै जिवनको अन्तीम पल पनि हुन सक्छ ।

उद्योगी, समाजसेवी तथा राजनितिज्ञ राजेन्द्र वीर रायको जीवन  कथा तपाईलाई कस्तो लाग्यो । कृपया कमेन्ट बक्समा आफ्नो विचार लेख्नुहोला ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको