October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
कर्तव्य ज्यान मुद्धामा फरार सल्यानका एक ब्यक्ति, ११ बर्षपछि बाँके बाट पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार सल्यानका एक ब्यक्ति, ११ बर्षपछि बाँके बाट पक्राउ

असोज २१, सल्यान । कर्तव्य ज्यान मुद्दाका फरार रहेका सल्यानका एकजना प्रतिवादीलाई फरार रहेको करीब ११ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार, सल्यान जिल्ला साविक कुपिण्डे गा. बि.स. ७ का वर्ष ३६ का हिम बहादुर बोहरालाई फरार भएको ११ बर्षपछि जिल्ला प्रहरी कार्यलय सल्यान संगको समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बाँके बाट पक्राउ गरेको हो।

२०६६-०५-२७ गते बेलुका ४:०० बजेको समयमा सल्यान जिल्ला साविक कुपिण्डे गाविस वडा नं १ को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिवल खेल्ने क्रममा विवाद हुँदा साबिक कुपिण्डे-७ बस्ने वर्ष १८ का रामलाल बि. क. लाई बोहोराले पेटमा छुरा प्रहार गरेर फरार भएका थिए ।

छुरा प्रहारबाट घाइते भएका रामलाल बि. क. को उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

घटना भएको मिति देखिनै फरार रहेका बोहरा बाँकेका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको गोप्य सूचनाका आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १०, बाँकेबाट पक्राउ गर्न प्रहरी टोली सफल भएको हो।

पक्राउ परेका बोहोरालाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो ।

शीर्ष समाचार

धेरै पढिएको