October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
कोरोना रोकथाम तथा नियन्त्रण गर्न सल्यानमा ८ करोड बढि खर्च ( लिस्ट सहित )

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सल्यानमा ८ करोड बढि खर्च ( लिस्ट सहित )

असोज १५ सल्यान । सल्यानमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी असार मसान्त सम्म रु. ८ करोड बढी खर्च गरिएको छ ।

जिल्लाका दश वटा स्थानिय तह, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य सेवा कार्यालयले गत आर्थिक बर्ष २०७६/०७७ मा रु. ८ करोड २८ लाख ६० हजार खर्च गरेका हुन् । जिल्लाका दश स्थानिय तहले रु. ७ करोड ३१ लाख ९ हजार रुपैँया कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेका छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानले रु.१८ लाख ८० हजार र स्वास्थ्य सेवा कार्यालय सल्यानले रु. ७८ लाख ७१ हजार रुपैँया खर्च गरेका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालयबाट खर्च गरिएको रकमबाट सुरक्षाकर्मी र कर्मचारीका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गरिएको जानकारी दिएको छ । यस्तै सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको छ ।

जिल्लाका दश स्थानिय तह मध्ये सबै भन्दा धेरै बागचौर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ । जसमा रु.१ करोड ५० लाख ६८ हजार रुपैँया खर्च गरिएको नगरपालिकाले जनाएको छ ।

जसअनुसार क्वारेन्टाइन निर्माणमा ३ लाख, क्वारेन्टाइनमा बस्नेहरुको खान बस्न खर्च ३० लाख, आइसोलेसन निर्माणको तयारीका लागी सामान खरिद ९ लाख, स्वास्थ्य उपकरण खरिदमा १६ लाख, राहत वितरणमा २३ लाख, स्वमय्सेवक परिचालनमा ३८ लाख, स्वास्थ्यकर्मी लगाएतकालाई प्रोत्साहन भत्ता बाफत २४ लाख लगाएतका शिर्षकमा वजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।

यस्तै जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाले रु.१ करोड १० लाख ८६ हजार खर्च गरेको छ । जिल्लामा नै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको यस नगरपालिकामा क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, उद्धार तथा राहत वितरण लगाएतका कार्यमा रकम खर्च भएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो । यस्तै जिल्लाको शारदा नगरपालिकाले ४८ लाख ५२ हजार रुपैँया खर्च गरेको जनाएको छ ।

यस्तै गाउपालिका तर्फ सबै भन्दा धेरै दार्मा गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ । यस गाउपालिकाले गत आर्थिक बर्षको असार मसान्त सम्म ८६ लाख २९ हजार रुपैँया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, बाहिरबाट फर्किएका नागरिकको व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामाग्री खरिद लगाएतका कार्यमा खर्च भएको गाउपालिकाले वजनाएको छ ।

यस्तै जिल्लाको कालीमाटी गाउपालिकाले ८१ लाख ४६ हजार रुपैँया खर्च भएको जनाएको छ । औषधि खरिदमा ११ लाख, अलपत्र गाउपालिकाबासीको उद्धार कार्यमा १० लाख, राहत वितरण, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन कार्यमा रकम खर्च भएको गाउपालिकाले जनाएको छ । यस्तै कुमाख गाउपालिका र छत्रेश्वरी गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ७०/७० लाख रुपैँया खर्च गरेका छन् ।

यस्तै क्वारेन्टाइन व्यवस्थापनमा १० लाख, आइसोलेसन निर्माण तथा व्यवस्थापनमा ९ लाख, स्वास्थ्य सामाग्री तथा उपकरण खरिदमा १२ लाख, राहत वितरणमा ३ लाख लगाएतका कार्यमा ५० लाख २९ हजार रुपैँया खर्च भएको कपुरकोट गाउपालिकाले जनाएको छ ।

यस्तै जिल्लाको त्रिबेणी गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ३८ लाख रुपैँया खर्च गरेको छ । गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले क्वारेन्टाइन व्यवस्थापन, नागरिकको उद्धार, स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापन, एक हजार घरपरिवारलाई २ चरणमा राहत वितरण लगाएतका कार्यमा रकम खर्च भएको जानकारी दिनुभयो ।

जिल्लाका दश स्थानिय तह मध्ये सबै भन्दा कम जिल्लाको सिद्ध कुमाख गाउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले गत आर्थिक बर्षको अन्त्य सम्ममा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा २५ लाख रुपैँया खर्च भएको जानकारी दिनुभयो ।

यो समाचार सल्यान टुडे बाट सा’भा’र गरिएको हो । – सम्पादक

शीर्ष समाचार

धेरै पढिएको