July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
“ओ किसान महोदय”

“ओ किसान महोदय”

कविता
ओ किसान महोदय कस्ले डिजाइन गर्यो
तिम्रो खुशीको ताज-महल ?
कस्ले गाड्यो सभ्यताको चिहानमा
खुशीका भ्रुणहरु ?

बुख्याँचा ले नबुझ्ने भाषा
घंकाईरहेछ एउटा उद्घघोषक
जीवनको उकालो झर्दा-झर्दै
हिमालको चुचुरोले अँठ्याएर न्यानो म्वाई खाँदा
बग्दा बग्दै शारदामा मिसिरहेछ कर्णाली !

किनारा मै उभिएको छ बुख्याँचा
देशीमल बिना हुर्केको विकासे घाँस झैँ
सप्रेको छ बुख्याँचाको जिन्दगी !

अर्तीको ‘साइड-इफेक्ट’
उस्को लागी जहर हुने गरेको छ।
ऊ, इन्द्रेणिले ‘ब्ल्याक एण्ड व्हाइट’ फोटोसँग
आफ्नो रंग मागेको बिलौना सुनिरहन्छ।

न्याउलीको स्वरमा
धरतीको प्रतिनिधि रोदन सुनिरहन्छ
मात्र सुनिरहन्छ !!

घडीको सुइ तोडेर समय कतै भागिरहेछ
अज्ञानताको भ्याकुममा मान्छेको अस्तित्व।

आज पनि शर्माजीको प्रयोगशालामा
परिक्षण भै रहेछ बुख्याँचाको रसायनिक प्रतिकृया !
बुख्याँचा को संहारर्ता बुख्याँचा
बुख्याँचा को जन्मदाता बुख्याँचा
बुख्याँचा को गन्तव्य बुख्याँचा
बुख्याँचा नै प्रदेश बुख्याँचा नै सिंगो भूगोल!

ओ किसान महोदय
मान्छेको सिंगो जीवन ‘इरर’ हरुको सिन्तेज हो ।
वर्तमानमा भुतको मुखुण्डो ओढाएर
कहिले सम्म तर्साई रहन्छौ आज्ञात भविष्य !

समवेदनाविहिन बुख्याँचा
हामी निर्भिक देखिरहन्छौँ ।

तर
ओ किसान महोदय
कहिलेसम्म यसरि
तपाईको बारीमा बालीनालीको रखवाला
बनाई रहन्छौ ?

कहिलेसम्म तर्साई रहन्छौ?
ति पशु/पक्षिहरु लाइ
बुख्याचाको झुटो त्रासले

एकदिन अबस्य
तिनीहरुले बुझ्नेछन
बुख्याचाको असलियत।

ओ किसान महोदय
त्यो कागले त बुझ्न थालेछ
म निर्जीव हु भनेर

अस्ति एकाबिहानै
मेरो टाउकोमा बेस्मारी ठुग्यो
खुट्टाका पन्जाहरु जोडले बजार्यो।

अन्त्यमा मेरो टाउकोमा बिस्ट्याएर
का का का को बिद्रोही स्वरले
धावा बोलेर गयो।

सुन त ओ किसान महोदय
म उन्मुक्त हुन् चाहन्छु
मेरो अस्तित्व समाप्त हुनुभन्दा अगाबै।

ढिला नगर
ओ किसान मोहदय
त्यो जमिन
जुन तिमीले आफ्नो भनेर गर्ब गर्दैछौ

त्यो हिजो सम्म
ति जनावार पशु पक्षिको
बास्थान थियो आश्रयस्थल थियो।

कति सुन्दर थियो
कोइलीहरु सुमधुर स्वरमा गित गाउदा
मयुरहरु आफ्नै भाकामा नाच्दा।
आफ्नै संसारमा रमाउदा

आज सबै बिरानो बनाइ दियौ
उनिको संसार
तिमीले जबर्जस्ति अतिक्रमण
गरेको भुलेका छैनन

एकदिन सारा पशु/पक्षि
जनावर मेरो बिरुद्ध आइ लाग्नेछन
चिल/बाज हरुले मेरो सरिर चिथोर्ने छन्।

दुम्सी/मुसाहरुले म उभिएको धरातल
प्वालैप्वाल बनाएर मेरो शरिर
जमिनमा ढलाउने छन्।

ओ किसान महोदय
अनि समाप्त हुनेछ
बुख्याचाको डरको साम्राज्य
न सुरक्षित् हुनेछ तिम्रो बालीनाली
न रहने छ बुख्याचाको इतिहास !!

त्यसैले
बेलैमा तिम्रो भ्रमको बिर्को खोल
र मेरो स्वतन्त्रतामा
धावा बन्न नखोज ।
ओ किसान महोदय !
ओ किसान महोदय !!

एक्सन आ र्सि
सल्यान

शीर्ष समाचार

धेरै पढिएको