October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
कविता:देशमा जरुर केही हुनेवाला छ

कविता:देशमा जरुर केही हुनेवाला छ

कविता – देशमा जरुर केही हुनेवाला छ

जन्मदिन भव्य बनाउन केक काट्न व्यस्त मन्त्री र नेताहरु,
बधाई र शुभकामना दिन हतारो गरिरहेका प्रतिपक्षहरुहरु,
समवेदना र प्रतिबद्धताको कुम्लो बोकिरहेका जनप्रतिनिधिहरु,
माला अबिरमा रंगीएर पलप्रतिपलका फोटो सार्वजनिक गरिरहेका पत्रकारहरु,
कार्यक्रममा अतिथि/प्रमुख अतिथि बन्नलाई दौडिएका शिक्षक कर्मचारीहरु,

यो सब हेर्दा लाग्छ – देशमा चाँडै समृद्धि हुनेवाला छ ।

अस्पतालको अाईसियूबाट बेडमा, बेडबाट गेटमा प्रधानमन्त्री हिड्न सकेका हर्षोउल्लासका समाचारहरु,

मेडिकल माफिया, तस्कर, यातायात लगायतका सिन्डिकेटधारीहरु सँगको खुशामदमा दुनियाँलाई रमिता देखाउन अादेश देखि अादेश दिने शिक्षा र गृहमन्त्रीहरु,

नेता देखि मन्त्रीहरुका फेसबुक स्टाटस् सेयर, कमेन्ट र लाइक गर्नमा मस्त रमाइरहेका सेलिब्रिटी युवा विद्यार्थी नेताहरु,

एनसेल, ठेकेदार र भ्रष्ट कर्मचारीहरुबाट बाट पालितपोषित प्रतिपक्ष र सत्ताधारी पार्टीका क्रान्तिकारी नेता, कार्यकर्ता र अध्यक्षहरु,

यो सब हेर्दा लाग्छ- देशमा चाँडै समृद्धि हुनेवाला छ ।

यो समयका एनजीओ/अाइएनजिअो र सहकारी समूह खोलेर कथित विकास गरिरहेका जिल्लाका छोटेमोटे ठुटे नेताहरु,

रेडियो, अनलाइन, पत्रिका, यूटुब खोलेर कथित अावाजविहिन हरुको अावाज बोलिरहेका लेखिरहेका बिकाउ मिडिया मालिक र पत्रकारहरु,

यताउता र तानतुन गरेर ठेकेदार बनेका र डिपिअार गर्न मात्र इन्जिनियर पढेका भाइसापहरु,

व्यापार गर्न होइन ठग्नलाई र अफिस अफिसमा कमिशन बाँड्नलाई पसल थापेका पसलेहरु,

र हतारहतार पैसा कमाउन डोजर मालिक बनेका दुखी राजनीतिका महादुखि कार्यकर्ताहरु,

यो सब हेर्दा लाग्छ – देशमा चाँडै समृद्धि  हुनेवाला छ ।

अाफ्नो अालोचनात्मक चेत शून्यमा झारिसकेका पूर्वविद्रोहीहरु छन् जोसँग पैसाको भविष्य र धाकधक्कुको विगतमात्र साथमा छ,
विदेशका गल्ली गल्लीमा पुग्न बाँकी सिमित युवा छन् देशमा जसले देशभक्तिलाई, सत्य, निष्ठा र जिम्मेवारीलाई, स्वाभीमान र इज्जतलाई पैसामा साट्ने मौका पाए एकरत्ति ढिला गर्दैनन्,

देश टेकाउने मेरुदण्ड कर्मचारीको ठूलो झुन्ड जनता भूलेर पैसा कमाउने र भविष्यमा राजनीतिको टिकट सुनिश्चित गर्ने छक्कापञ्जामा टुपी कसेर लागेको छ,

क्रान्तिकारी बन्न नसकिरहेका विद्रोही अभियन्ताहरु छन् जसले कमिशन,चन्दा, पूर्वाग्रह र दुख उठाउने मेलोमा मुख्य अभियान बनाएका छन्,

यो सब हेर्दा लाग्छ – देशमा चाँडै समृद्धि  हुनेवाला छ ।

जब चारैतर्फ विकृति विसंगति देखेर जनता सोध्छ- गणतन्त्रमा हामीले के पाइम ? के यही हो गणतन्त्र ?

सत्तामा मस्त रमाइरहेका साँढेहरुले अोठे जवाफ फर्काउदै भन्छन् – यी बोल्न त पाएका छौ । हामीलाई प्रश्न गर्न सक्ने त भएका छौ ।

यो सब हेर्दा लाग्छ – मानौं कि हिजो मान्छे बोल्दैन्थे, सास फेर्दैन्थे । जनता बोल्ने र सास फेर्ने पनि यिनकै गणतन्त्रले सिकाएको हो ।

जब अाफैले भोट दिएर जिताएको जनप्रतिनिधिले धाकधम्की र रवाफ देखाउँछ, हेर्दाहेर्दै गगनचुम्बी महल र सुविधायुक्त पजेरो चढ्ने हुन्छ, अाफु र अाफन्तीको भलोमात्र हेर्छ, अनि प्रश्न उठ्छ ? के यही देख्नलाई हो हामी लडेको, भिडेको र भोट दिएको ?

गमक्क पर्दै जनप्रतिनिधि नाउँको जन्तुले डकार्छ- के यो जमानामा गाडी पनि नचढ्नु ? घरपनि नबनाउनु ? कपडै पनि नलगाउनु ? अाफ्ना समर्थकलाई त्यतिपनि नगर्नु ?

यो सब हेर्दा लाग्छ- जनप्रतिनिधिलाई जे गर्न मन लाग्छ त्यही गर्नु नै अहिलेको परिवर्तन हो ।

यो समय पनि बलवान् छ,
सत्य भन्दा भ्रमको अभिमान छ ।
धर्तीमा सन्नाटा छाएको छ,
अाकाशमा बादल मडारिरहेको छ ।

यो सब हेर्दा लाग्छ – देशमा जरुर केही हुनेवाला छ ।

©गणेशमान सिंह 

सल्यान 

शीर्ष समाचार

धेरै पढिएको