October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
देवराज कार्कीका २ कविता

देवराज कार्कीका २ कविता

१. गणतन्त्र

गणतन्त्र ल्याउने भन्थे
हातमा हसिया हथौडा छापेको
बासको भाटामा चार तारा टासेर उनेको
अनि त्यही समातेर भोकाहरु
आङ ना’ङ्गो भएका गरिबहरु
बर्षा याममा काला सकसके कमिला
आफ्नो अन्डा च्यापेर
लस्कर निस्के जस्तो मानव साङ्लो
निस्केका थिए सडकमा ।

पहाड बाट निस्के हिमाल बाट
तराइ बाट निस्के बस्ती बाट
गाउँ गाउँ बाट निस्के आफ्नो
गरिब र निमुखाको दिन आउँछ भनेर
त्यो सब गणतन्त्रले ल्याउछ
आशा न हो निमुखा मनहरुको
हर प्रयत्नमा जुटेका थिए उनीहरु ।

कोहि सडकमा छातिमा गोलि
अश्रुग्यास र पानीका फोहोरा संग
इटा ढुङ्गा र खाली हात संघर्षरत थिए
कोहि गणतन्त्र आउनु भनेको
बयल गाडा चढेर अमेरिका पुग्नु जस्तै हो
आलिसान महलमा बसेर टुक्का हान्दै
आन्दोलनको औचित्य खिल्लीमा उडाउदै थिए।

नभन्दै गणतन्त्र त आयो
आज कै दिन घोषणा मै आयो
आउन त आयो तर म के भनु जस्को वि’रुद्ध आन्दोलन भयो
उसैलाई पो गणतन्त्र आयो
जस्ले खिल्ली उडायो
उ नै पो गणतन्त्रको मालिक भयो ।

अचम्म छ साथी केही मुठ्ठीभर
केही चाटुकार हिजो कै सत्तासीन
तिनै जनताका दुस्मनलाइ पो आएछ
अनेकौ प्रयत्न बाट ल्याएको गणतन्त्र ।

पिठ्युँमा दुधे नानी मजेत्रोले कसेर
खोलाका बगरमा गिट्टी कुट्ने आमालाइ
साहुको भारी बोकेर गुजरा चलाउने
पसिना पुछ्दै उकालो चड्ने बालाइ
अनि पचास डिग्री तापक्रममा
खाडी मुलुकमा रोजगारी गर्ने युवालाइ
गणतन्त्र के हो कता आयो
भनेर सोधि हेर अनि थाहा हुन्छ
गणतन्त्र के हो कस्लाइ आयो ?

देश काक्रो जस्तो चिरेर जातिलाई
बिलोको मासु तुलोमा हालेर बाडे जस्तो
किन बाड्नु परेको थियो ?
तिम्रा बाउले जोडेको सम्पती हो र ?
आफ्ना चाटुकारलाइ रोजगारी दिन
मिलिमिलि पुराना र नयाँ सामान्त मिलेर
गिद्धले सिनो लुछेर खाए झै कति खान्छौ ?
त्यही त रहेछ तिम्रो गणतन्त्र पनि
अहिले सबैले बुझेकै छ

भोकाले ल्याइदिएको छ
निमुखाले तिम्रो गलामा
सय किलो बनाएर लगाइ दिएको
गणतन्त्रे माला एकछत्र राज्य गर्नेलाइ
हिजो जस्तो थियो गाउँ घर
त्यहाका मानिस उस्तै छन् आज पनि
मात्रै तिमी र तिम्राहरु बदलिएका छन्
भ्रष्टाचार गरेर गणतन्त्रका नौला
नब धनाढ्य भएका छन् तिनिहरु।

आज तिमिले अमरत्व प्राप्त गरेको दिन
रोगे रौ फेरेको दिन दिवस छ
हलुङ्गेको थालमा खाने औगात
सुनको थालमा हिरा मोति
खानाको सट्टा खान थालेको
तिम्रो प्रगती र जनताको अधोगतिको दिन
साइकल नभएका तिमी
पजेरोमा कुद्ने लक्ष्यमा पुगेको दिन
सलाम छ तिम्रो गणतन्त्रलाई
अभिवादन छ तिमिलाइ ।

किनभने आज त्यही दिन हो
गणतन्त्र दिवस तिमिले अमरत्व
तिमिले जनताको आखामा छारो हालेर
सबै आफै मात्रै गुटमुट्याएको दिन
म के दिन सक्छु र सबै हारेको छु
तिमी र तिम्रा दासहरुलाइ
यति नै दिन्छु जति म दिन सक्छु
लाल सलाम तिमिलाइ
अभिवादन तिम्रो गणतन्त्रलाइ।

(२०७७/०६/०३) संबिधान दिवस

२. परिवर्तन कस्तो ?

सहिदको रगत खेरै पो गयो किन हो भन्दै
सुखानी रुदै छ ।
जनवादी गित गाउने गायक खै कता पुगे
छिन्ताङ्ग सोध्दै छ ।

मेलापत भर्ने रमाइलो गर्ने कयौ गोलिले मरे
पिस्कर खोज्दै छ ।
सांस्कृतिक कर्मी निह’त्था गायक ढलेको
दोरुम्मा भोग्दै छ ।

त्यही ठाउको आवाज गितमा भरी गाउने ढोगि
सत्ता मै रम्दैछन् ।
सहिद भए बलिदान दिए आकांक्षा महान थियो
त्यो सबै भुल्दैछन् ।

सादा जीवन उच्च बिचार सिद्धांत बोक्ने मान्छे
आज ऐसमा डुल्दैछन् ।
साम्राज्यवादि बिश्लेषण थियो क्रान्ती गर्दा खै
पुजि मै घुल्दैछन् ।

(२०७७/०६/११)

शीर्ष समाचार

धेरै पढिएको