June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
संस्मरण। टुहुरो बनेको त्यो दिन

संस्मरण। टुहुरो बनेको त्यो दिन

तेज विक्रम ओली

कूरा २०६५ साल तिरको हो । म पढाउने र पसल गर्ने गर्थे ।मैले पसलमा टेलिफोन सेवा पनि राखेको थिए । त्यतिबेला अहिलेजस्तो हातहातमा मोबाइल थियन । यस्तै दिनको ०२ बजेको हुँदो हो,फोनको घण्टी बज्यो । अन्जान मान्छेले गर्नुभएको रहेछ ।

फोन उठाएर “हेलो” भन्न नपाउँदै मलिन आवाज आयो, “हेलो तपाई कमलाको देबर हो ? हजुर म कमलाको देबर नै हो, किन र हजूर ? एउटा दुःखद् खबर छ ।” मैले हतारिएर सोधेँ, “हजूर , कसलाई के भयो र ?” प्रतिउत्तरले मलाई साह्रै मन खिन्न बनायो । तपाईंकि भाउजू को असामयिक निधन भयो । मेरा हातखुट्टा लगलगाउन थाले ।

फेरि फर्काय ! हेलो हजूर को हूनूहुन्छ र ? प्रतिउत्तर नपाउदै फोन कट्याे टुट् टुट् गर्दै । मेरि भाउजूले दादा २०५५ सालमा सहिद बनिसकेपछी करिब ५ बर्ष पछी दोस्रो बिहे गर्नूभयको थियो । मलाई अपरिचित ब्यक्तिले गरेको फोनको त्यति बिश्वास लागेन र मैले चिनेको सूलिचौरको बहिनिलाई टेलिफोन गर्दै भनेँ, “मैले एउटा अप्रिय खबर सुनेँ, के यो सत्य हो र बहिनि ?” “हो, अन्कल ! तपाईकि भाउजूको शव सूलिचौर हस्पिटलमा छ । म त्यतै जाँदै छु ।” कम्पनसहितको आवाजमा घटनाको पुष्ट्याँइ भयको थियो । म नर्भस भएँ । र भने भोलि सम्म दाहसंस्कार नगर्न भन्नू म र जेठो आउछौ । यति भनेर फोन राखे ।

चैते दसैको दिन थियो । बिहानै घरमा दिदी भाउजूकि छोरी सबैजना सूख दूखका गफ गर्दै हाँसीखुसी दूधको परिकार खिर खाईसकेपछी म पसल तिर लागेको थिए भने अरू घरका परिवारहरू घरायसी काम गर्ने सोच बनाउदै थिय ।
म भने हतारिएर पसल बन्द गरि घरको बाटो तर्फ पाइला लम्क्याउन थाले । बाटोमा माथिल्लो घरे काकी भेटिनु भयाे र सोध्नूभयो किन यति छिटै घर फर्किस ? हतारमा छस त ! के भयो ? क्यै पनि हैन , भनी म सूनेको नसूनेझै गरि आफ्नै गतिमा अगाडि बढिरहे ।

केही छिनमै घर पूगेपछी मेरो रवैया परिवर्तन भएको देखेर मेरि श्रीमती आत्तिईन । यो स्वभाविक पनि थियो । “कसलाई के भयो र ?” किन यति छिटो फर्किनू भयो हँ ? घरमा अरू कोहि पनि थियनन छोराछोरी पर चौरमा खेल्न गयका रहेछन , म केही नबोली आफ्नो कोठा मा छिरी ढोका बन्द गरे ! मसँग उत्तरको अपेक्षा गरी ढोका ढक्ढक्याउन थालिन उनले ।

अकल्पनीय त्यो खबरले मर्माहत मैले दिदी छोरी संगै रमाइरहेकी उनि लाई समेत जानकारी दिन भुलेछु । वास्तवमा म हतारिएको थिएँ । म छिटो सूलिचौर पुग्न चाहन्थेँ । म भाउजूसँग बोल्न चाहन्थेँ । त्यो टेलिफोन संवादसँगै आएको खबर झूट भएको प्रमाणित गर्न चाहन्थेँ । तर सत्यलाई असत्य बनाउने हिम्मत मसँग पो कहाँ थियो र !

मनमा अनेकन् कुराहरु खेल्न थाले । आज, दुनियाँ रङ्गीन छ तर एक परिवार, जो यसअघि पनि अकल्पनीय दु:खको सागरमा डुबेको थियो, उसैमाथि फेरि पनि वज्रपात परेको छ । एउटा घाउमा लगाएको मल्हम सुक्न नपाउँदै फेरि अर्को घाउ बनेको छ । कहिल्यै पुरिन नसक्ने गरी, मुटुमा किला गढे झैं ।

सहनेले पनि कसरी सहन! सक्नु, चोट माथिको त्यो चोट । दैव पनि कति निष्ठुरी हुन सकेको ! ५ वर्षको अन्तरालमा एकै परिवारका दुवै जना श्रीमान श्रीमती नै चुँडी लग्यो है ? कति धेरै रिस हो यी ईस्वरको पनि हाम्रो यो परिवारको खुसीमाथि !

आफ्ना दुवै बाबु आमा ५ वर्षभित्र गुमाउनुको पीडा कसले अनुमान गर्न सक्छ र ? सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ, भक्कानो फुट्छ अनि मुटुको चाल रोकिन खोज्छ । कठै ती अबोध लालाबाला ! लाउँलाउँ र खाउँखाउँको बेला थियो । हूनत छोडेर गैसकेकी थिईन भाउजूले पहिल्यै । तैपनि आमाजस्तो अर्को अरू को हून सक्ला यो सन्सारमा । कति सरल अनि शालिन थिए यी बालक । के थियो र यिनीहरुको दोष ? कसको के बिगारेका थिए र यति छिट्टै यिनका बा आमा लग्यौ भगवान् ? हामी सबैको यो प्रश्न थियो, ईश्वरलाई ।

उनीहरुले यो परिवार र यि सन्तान प्रती निकै ठूलो सपना सजाएका थिए । अनि त्यही सपना साकार पार्न अहोरात्र मेहनत गर्दै थिए । सुन्दर भविष्यको कल्पनामा रमाउँदै थिए । तर आज ती सबै सपना चक्नाचूर भयका थिय। सबै यादहरु हरक्षण घोच्ने काँडा बनेर मुटुमा बिझ्दै थिए । जेठि छोरिको बिहे भयपछी अब त्यो परिवारमा बाँकी भए केवल २ सन्तति ! तिनै अभागी २ छोराको साथमा छन तिनका दर्दनाक पीडा र हृदयवि’दारक यादहरु !

साह्रै सज्जन थिइन्, ती भाउजू । सरलता र शालीनता सायद तिनकै पेवा हुन् जस्तो लाग्थ्यो । किनकि त्यो उनलाई जति अरु कसैलाई सुहाउँदैनथ्यो । दशकौँदेखि सँगै बसेको म उनको देबर भयर पनि आमाको भन्दा फरक माया पायको थिएन । १ कक्षा समेत नपढेकि उनी म मभन्दा कैयौं ज्ञानि र आत्मबल दृढ भएकि एक सबल नारि थिईन ।

एकातर्फ मेरो मनमा भएको भगवानको आस्था र विश्वास, अर्कोतर्फ आजको यस घटना ! भगवान छन् कि छैनन् ? मेरो मनमा अनेकन् प्रश्नहरुको बाढी आउन थाल्यो । म सानै हुँदादेखि नै आमाले बारम्बार पाप र धर्मको भिन्नता छूट्याई रहनुहुन्थ्यो । सदा धर्मकर्ममा लाग्न प्रेरित गर्नुहुन्थ्यो । असल बन्न र भलाइका काम गर्न उपदेश दिनुहुन्थ्यो । भलो गरे राम्रो फल हुन्छ भन्नुहुन्थ्यो । आमाका ती उपदेशजन्य वाणीहरु मेरा कानमा गुञ्जिन थाले । यादहरु तछाडमछाड गरी ओइरिन थाले, वर्षाको भेल झैँ ।

एक हिन्दी गीतको स्मरण भयो, “तूने जो किया होगा, भला कर भला होगा, बुरा कर बुरा होगा ।” स्कुले जीवनमा पढेको शिशिर र बसन्त को बारेमा लेखिएको पौराणिक कथा सम्झन पुगेँ । कतै यिनिहरूको पनि त्यही गति हूने त हैन ! हामीले मान्दै आएका सबै भगवानका तस्बिरहरु मेरा आँखा अगाडि देखापर्न थाले । ती सबैलाई एकैठाउँमा भेला पारी एक-एक गर्दै सोध्न मन लाग्यो ।

म कठोर हुँदै गएँ । तिनीहरुमाथि घृणा लाग्न थाल्यो । तस्बिर र कहानीमा सुनेका भगवानको अस्तित्व माथि शङ्का लाग्न थाल्यो । ती कहानीहरुमाथिको सत्यता केलाउन मन लाग्यो । अझै भनूँ, भगवानको अस्तित्व खोज्न मन लाग्यो ।

छाती पिटीपिटी चित्का’र र रोदन मिसिएको आवाजमा भगवानलाई यिनको कुनचाहिँ गल्तीको सजाय हो, यो ? भनी सोध्न मन लागिरहेको थियो । म केही गरि सान्त भयपनी ती अबोध बालकलाई यो कूरा सूनाईसकेपछी सम्झाउने बुझाउने हिम्मत ममा थियन । म निःशब्द थिय । आखिर बोल्नलाई के नै पो बाँकी थियो र म संग । हरेक शब्द औचित्यहीन बनेका थिए त्यस क्षण ।

मेरो क्रन्दन र आवेगले घरको कोठानै स्तब्ध थियो । निकै बेरसम्म सम्हालिन नसकेको म जोडले रोय कराय अनि सबै कूरा भनिदिय कि अब हाम्री भाउजू यो सन्सारमा रहनू भयन भनेरव। अब श्रीमती लाई जसरी पनि सम्हाल्नुको विकल्प थिएन ।

निकै बेरको अथक प्रयासपछि आफूलाई र श्रीमतीलाई सम्हाल्ने कोसिस गरे । जसोतसो ०५ बजे तिर म र जेठो बाटो लाग्यौं । जाँदै गर्दा मलाई बिश्वास लागिरहेको थियन । भोलिपल्ट जसरी तसरी सूलिचौर पूगिसकेपछी त्यहाँ घाटमा भाउजूका कान्छा श्रीमान पनि आयका रहेछन , अन्तिम संस्कारमा जाने सबै भक्कानिएका थिए । आँखाको डिलबाट आँसु झार्दै थिए । सपना जस्तो त्यो वास्तविकतामा एकोहोरो भई निकैबेर टोलाएछु ।

भाउजू म’रेको भनेर पत्याउनै गाह्रो मानिरहेका मेरा हात , आखा र मन त्यहि भाउजूको अनुहार हेर्न आतूर थिए । भने छोरो जेठो आफ्नी आमाको अङगालो मा बाधिन पूग्यो । केही छिन पछी दागबत्ती दिन भनी ब्राह्मणले छोरा खोज्दा मेरा हात डराएर कापिरहेका थिए । त्यै पनि मेरो हातको सहायताले जेठाको हातमा अगूल्टो थमायर जबर्जस्ति आगो लगाउन पठाउदै थिय । शवको सदगद गर्नु अनिवार्य थियो । तर कसरी सक्थ्यो र आफ्नो जन्म दिने आमालाई जलायर खरानी बनाउन ? त्यही काखमा हुर्काएको उ प्राणभन्दा प्यारि आफ्नी आमालाई आफ्नै हातले जलाउन कसले पो सक्थ्यो र ! तर म विवश थिए । त्यसलाई आफ्नी आमाको लासमा जबर्जस्ति आगो लगाउन बाध्य बनाय ।

घरीघरी लडिबुडी गर्दै आमाको मृत शरीरलाई अँगालो मार्दै बरबराएको त्यसलाई देखेर म निकै भाबुक बन्न पुगे छू । छाती पिट्दै आफ्नो प्राण पनि यहीँ लिन गरेको अनुरोध र आमासँग चितामा सँगै जल्ने उस्को चाहनाले सबैलाई निःशब्द बनायो। चितामा जल्दै गरेकी उस्कि आमालाई पोल्छ भनी आगो निभाउन खोज्दै थियो । के गर्नू मैले बेस्सरी अंगालेर उसलाई रोके । रोकेपनी आगो निभाउनु मेरिआमालाई जल्न दिने होईन भन्दै करायो । यस्तै भन्दै रोइरहेको त्यो र हामीले हेर्दाहेर्दै केहिबेरमै भाउजू पूरै खरानी बन्नू भयो ।

त्यसपछी हिन्दु संस्कार अनुसार जेठोले कपाल फाल्नू पर्यो , मैले पनि कपाल दारी सब्बै फाले । बा मरिसके पछि कान्छोले बूबा भनेर मलाई बोलाउने गर्थ्यो मेरा दारी आफ्ना कलिला हातले मूसार्थ्यो अब कान्छोले खेलाउने दारी पनि बाकी रहेनन । त्यस दिन त्यही बस्यौ ।

हामीलाई दिइयको खाना खादै गर्दा दाल मा नून लागेको छैन भनी जेठाले नून मागेर खान खोज्यो मैले खान दिईन । सोच्यो होला भोलि घर गयर मीठो नून राखेको दाल खाने छू । घर जादा बाटोमा भोक लाग्यो मलाई चाउचाउ किनिदिनू भन्यो । मैले बिस्कुट क्रिमवाला ल्याईदिय ,जसोतसो घर पूगेपछी त्यसलाई सेतो कपडा लगाउन पठाय काजकिरिया त गर्नु नै थियो ।

मैले बाटो मा आउँदा सोचेको थिय यसअघि धेरैजनाको अन्तिम संस्कारमा सहभागी भइसकेको म । नाता, सम्बन्ध, उमेर, रोग या मृ’त्युका कारण जे भए पनि हरकोहीलाई मानव मरणको पीडा एकै किसिमको हुन्छ भन्ने सोच्दथेँ तर होइन रहेछ । यो भिन्न थियो । अतुलनीय थियो । अत्यन्तै पीडादायक थियो । अरु कसैको पीडा अनि वियोगसँग पटक्कै मेल खाँदैनथ्यो ।

आजसम्म पनि मेरो मानसपटलमा त्यो दु:खद् घटनाको याद ताजै छ । मेरो स्मरणमा घरीघरी आइरहन्छ । त्यस यताका हरेक चैतेदसैमा मेरा भाई बहिनी छोरा छोराछोरी रमाउदा म टोलाउने गर्छु । किनकि मलाई खिरसँगै त्यस दिनको याद आउँछ । एउटा शवसँग दुई मुटु खरानी भएको पलको स्मरण हुन्छ । हो, त्यस दिनदेखि ईश्वर आफैं अभिभावक बिहिन भएझैँ लाग्छ । भगवान स्वयं म’रेझैँ लाग्छ ।

शीर्ष समाचार

धेरै पढिएको