June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
यो हल्लै हल्लाको देश हो

यो हल्लै हल्लाको देश हो

भुपी शेरचन

कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगित प्रतियोगिताका जज हुन्छन
र जहाँ आत्ममा पथ्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लास्टर गरिएका हातहरुमा
सुरक्षाको संगिनहरु थमाइन्छ ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोका अगाडि
डोकाका डोको ,
खर्पनका खर्पन ,
ट्रकका ट्रक आत्मका मण्डी सजाइन्छ ,
स्टाक एक्सचेञ्जका शेयर जस्तै
आत्म क्रय – बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारमा कर्कटपाता जस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छ
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको “वाश एन विएर क्रिज” कहिल्यै बिग्रीन्न ,
जहाँ जतिसुकै पाप गरेको वे’श्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न ,
जहाँ कृषि मेलाहरुमा
दोब्बर उब्जनी हुने बिउहरुको प्रदर्शनी गरिन्छ ,
र जहाँ खडेरी र अनिकालका समचारले भरिन्छ ,
जहाँ बागमति र बिष्णुमतिका साटोमा
अब बिएर र ह्विस्की बग्दछन ,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भुनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानामा कम , र
तिनका पछाडिका वनहरुमा
आडम इभको  ‘ वर्जित फल ’ खानामा बर्ता गरिन्छ ,
जहाँ चिनीको कारखानाले
चिनी होइन , रक्सी मात्र जन्माउछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लहुरे मात्र जन्माउछन
जहाँ रिन तिर्नको लागी महाकविले
असमयमै म’र्नुपर्दछ
जहाँ स्वदेशको पिरले बौलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिना उपचार बैंसमै कुजिएर जिवन बिताउनुपर्दछ
जहाँ गाइडले टुरिष्टलाई
नेपालको विदेशलाई देन सम्झाउछ
र बिदाको बेलामा उ सित उस्को
विदेशी क्यामराको देन माग्दछ ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गित गाउदै
अब कवाज खेल्छन
टाई र कोटको कलरमा खु’कुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफनो मुटु चिरेर
कि ए देशवासीहरु हो
ए मेरा देशका राष्ट्र – कविहरु हो
ए मेरा देशका सम्माननिय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरु मध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशका असङ्ख्य बगरहरु मध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ
यहि भावनाले मलाई पनि यो भन्न बाध्य बनाउछ र
आँट दिलाउछ यो भन्न
कि यो ‘ हल्लै हल्लाको देश हो ’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्ला माथि उभिएको देश हो
यो हल्लै हल्लाको देश हो ।

(२०२४ – रुपरेखा )

म हिड्न सक्तिनँ त्यो माया भण्दा परको बाटो :- उषा हमाल

रोशन परियारको कविता : ” म स्वास्नी “

शीर्ष समाचार

धेरै पढिएको