September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
अक्सिजन प्लान्ट घोटाला प्रकरण : कर्मचारी, बायोमेडिकल इञ्जिनियर र बिक्रेताको कुरा बाझियो

अक्सिजन प्लान्ट घोटाला प्रकरण : कर्मचारी, बायोमेडिकल इञ्जिनियर र बिक्रेताको कुरा बाझियो

भुमप्रकाश भण्डारी – जेठ ०३, सल्यान 

स्वास्थ्य सेवा कार्यालय सल्यानले अक्सिजन प्लान्ट भन्दै खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर मेसिनमा लाखौंको घोटाला भएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पौषमा अक्सिजन प्लान्ट जडानको लागी भन्दै ४० लाखको टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा विभिन्न ३ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ३ वटा कम्पनि मध्ये सुर्खेतको ड्रागन मेडिकल प्रालिले उक्त टेन्डरको काम पाएको थियो ।

कुल ४० लाखको टेन्डर ड्रागन मेडिकल प्रालिले ३८ लाख ९९ हजारमा हात पारेको थियो । तर अक्सिजन प्लान्टको लागी टेन्डर आह्वान गरेको कार्यालयले जेठ १ गते जिल्ला अस्पताल सल्यानमा अक्सिजन कन्सन्ट्रेटर मेसिन जडान गरेर अक्सिजन प्लान्ट भन्दै शारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी लक्ष्मदेवि हुमागाई खतिवडाको हात बाट उद्घाटन गरायो ।

कोभिड १९ का बिरामीहरुको लागी अक्सिजनको चरम अभाव भैरहेको वेला जिल्लामा अक्सिजन प्लान्ट जडान गरिएको समाचारले सवै सल्यानीलाई राहात दिलायो । खुसि तुल्यायो । तर सल्यानी जनताको खुसि लामो समय टिक्न सकेन । क्षणभरमै उक्त खुसिमा तुसारापात मात्रै भएन बरु सवै सल्यानीको मनमा आक्रोश को ज्वाला दन्किन थाल्यो ।

जडान सहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन प्लान्ट यथार्थमा अक्सिजन प्लान्ट नभई अक्सिजन कन्सन्ट्रेटर मेसिन भएको भन्दै केही चिकित्सक र पूर्व जिविस सभापति प्रधान लगाएत अन्य जानकारहरुले सामाजिक संजाल लगाएत माद्यमहरुमा कुरा उठाउन थाले पछि उक्त विषयमा सल्यानका मिडिया लगाएत नागरिक समाज, राजनितिक दल, बद्धिजिवि, युवा र सरोकारवाला सवैको ध्यान आकर्षित भयो ।

अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको भन्दा पनि अक्सिजन कन्सन्ट्रेटर मेसिनलाई अक्सिजन प्लान्ट भन्दै सल्यानी जनतालाई माहामारीको समयमा गुम्राहमा राख्ने, छल्ने , झुक्याउने र अक्सिजन प्लान्टको नाममा अक्सिजन कन्सन्ट्रेटर मेसिन ल्याएर राज्यकोषको लाखौंको रकम हिनामिना गर्ने मनशाय प्रति सरोकारवाला आक्रोशित भएका हुन ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले ४० लाखको टेन्डर गरेर ३८ लाख ९९ हजारमा खरिद गरेको उक्त सामाग्री जडान सहित ५१ लाखमा बनेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताएका थिए । तर उक्त अक्सिजन प्लान्ट खरिद प्रक्रियामा लाखौै घोटाला भएको समाचार सार्वजनिक भैसके पछि स्वास्थ्य सेवा कार्यालय सल्यानका लेखापाल लव विक्रम शाहले उक्त कुरालाई सच्याएका छन ।

उनले जडानको लागी टेन्डर नहुदै जडान गरिएकोले जडान खर्च कति भयो भन्न नसकिने बताए । अक्सिजन अभावलाई मध्येनजर गर्दै छिटोछरितो काम गर्न खोज्दा जडानको लागी टेन्डर गर्न नभ्याएको उनको भनाई छ । उक्त अक्सिजन प्लान्ट जडानको लागी १८ लाख बजेट रहेको छ ।

उक्त प्रकरणमा छानविनको लागी जेठ २ गते जिल्ला प्रसाशन कार्यालय सल्यानमा लिखित उजुरी समेत परेपछि सिडिओको अध्यक्षतामा बसेको स्वास्थ्य सेवा कार्यालय सल्यान प्रशासन र अस्पताल विकास समिति सहित बसेको वैठकले छानविनको लागी ४ सदस्यीय समिति गठन गरेको छ । सहायक सिडिओ थमन खड्काको अध्यक्षता बनेको छानविन समितिको सदस्यहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालयका एकजना कर्मचारी, एकजना बायोमेडिकल ईञ्जिनियर, र शारदा नगरपालिका सल्यानका स्वास्थ्य शाखा प्रमुख रहने बताईएको छ ।

कर्मचारी, बायोमेडिकल इञ्जिनियर र बिक्रेताको कुरा बाझियो :

स्वास्थ्य सेवा कार्यालयमा भएको उक्त घोटाला प्रकरण सार्वजनिक भएपछि उक्त प्रक्रियामा संलग्न सवै जना एकले अर्कालाई देखाएर आफु पञ्छिन खोजेका छन । उनिहरु सवैको कुरा एक आपसमा बाझिएको छ ।

सिडिओ कार्यालय सल्यानमा भएको छलफल पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख व्यवस्थापक दसरथ श्रेष्ठले आफुहरुलाई सामान विक्रेता कम्पनीले नै धोका दिएको बताएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानले अक्सिजन प्लान्टको लागि नै टेन्डर गरेको र अक्सिजन प्लान्ट बनाउने प्रस्ताव स्वीकृत भएको बताउदै उनले काम गर्ने जिम्मा पाएको कम्पनीले प्लान्ट भन्दै कन्सन्ट्रेटर ल्याएको उनले बताए ।

कम्पनीले भने अनुसारको सामाग्री नल्याएको हुनाले सवै दोष बिक्रेता कम्पनीलाई नै दिनुपर्न उनको भनाई थियो । यद्यपी स्वास्थ्य सेवा कार्यालय प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्टको लागी टेन्डर आह्वान गरेकोमा सोही क्षमताको मेसिन आएको तर नाम मात्रै फरक रहेको भन्दै उनले घुमाउरो तरिकाले बचाउ पनि गरेका थिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख व्यवस्थापक दसरथ श्रेष्ठको उक्त भनाई पछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाई खतिवडाले यदि छानविन पछि सामान उपलव्ध बनाउने ठेक्का पाएको कम्पनीले एउटा सामान भनेर अर्काे सामान ल्याएको पाईएमा उक्त कम्पनीलाई भुक्तानी राक्का गरिने र कम्पनीलाई कालो सुचिमा राखिने बताईन । आफुलाई पनि अक्सिजन प्लान्ट उद्घाटन गर्न भनेर बोलाए पछि गएको उनको भनाई थियो । छानविन पछि दोषि देखिने जोकोहीलाई पनि कडा कारबाही गरिने उनको भनाई छ ।

त्यस्तै पत्रकारहरुलाई पत्रिक्रिया दिदै स्वास्थ्य सेवा कार्यालय सल्यानका सामान खरिद समिति अध्यक्ष तारा रिजालले हतार हतारमा काम गर्नु परेकाले अक्सिजन प्लान्ट वा कन्सन्ट्रेटर के हो भन्ने एकिन नगरि उद्घाटन गरिएको बताए । स्वास्थ्य कार्यालय सल्यानले खरिद गरेको मेसिन बजारमा हल्ला गरिए जस्तो कन्सन्ट्रेटर भएको र कम मुल्यमा पाईने भए विक्रेता कम्पनी र यसलाई एप्रुभ गर्न बायोमेडिकल इञ्जिनियर जवाफदेही हुनुपर्ने र उनिहरुलाई कानुनी कारवाही हुनुपर्ने उनले बताए ।

कार्यालयले कम्पनीहरुलाई अक्सिजन प्लान्टको ईस्टिमेट पेश गर्न आग्रह गरेपछि कम्पिनीले पेश गरेको प्रस्तावलाई एप्रुभ गर्ने काम बायोमेडिकल ईञ्जिनियर भएकाले त्यसमा बायोमेडिकल इञ्जिनियर नै सम्पूर्ण जिम्मेवार हुनु पर्ने उनको तर्क छ ।

के भन्छन, बायोमेडिकल इञ्जिनियर ?

स्वास्थ्य सेवा कार्यालय सल्यानले टेन्डर आह्वान गरेको उक्त अक्सिजन प्लान्टको स्पेशिफेकेशनको लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट राकेश कुमार साहले बायोमेडिकल इञ्जिनियरको भुमिकामा काम गरेका थिए । स्वास्थ्य सेवा कार्यालाय सल्याका व्यावस्थापक, सामान खरिद समिति प्रमुख, लेखापाल र यो पक्रियमा संलग्न अन्य कर्मचारीहरुले आफुहरुलाई प्राविधिक कुरा थाहा नभएको र बायोमेडिकल इञ्जिनियरले जे कुरा एप्रुभ गरे, त्यही गरेको भनेर सवै दोष थुपारेर आफु पन्छिन खोजेपछि साहले उक्त आरोपको खण्डन गरेका छन । नयाँ दृष्टि डटकम सँग कुरा गर्दै उनले आफुले स्वास्थ्य सेवा कार्यालय सल्यानका सम्बन्धित कर्माचारीहरुको निर्देशन बमोजिम काम गरेको बताए ।

उनले भने – ‘मैले उक्त कामको इस्टिमेट गरेको हाईन । उहाँहरुले भने बमोजिम स्पेशिफिकेशन मात्रै गर्देको मात्र हु । मुल्य सँग मलाइ सरोकार हुदैन । आर्थिक कुरा मलाई थाहा हुदैन – जसरी उहाँहरुले प्राविधिक कुरा थाहा हुदैन भन्नु भएको छ ।’

कर्मचारीकहरुको रिक्वारमेन्ट (अनुरोध- निर्देशन ) अनुसार स्पेशिफेकेशन तयार पारेको बताएका उनले, कर्मचारीकहरुको रिक्वारमेन्ट (अनुरोध) के थियो भन्ने नयाँ दृष्टि डटकमको जिज्ञासामा ‘अक्सिजन प्लान्ट संचालानको लागि थ्रि फेज लाईन चाहिने तर त्यहाँ सिंगल फेज लाईन भएकाले उहाँहरुले सिंगल फेज लाईन बाट संचालन गर्न सकिने खालको, अक्सिजन प्लान्टको लागि ( स्किल्ड म्यानपावर) दक्ष जनशक्ति चाहिने तर त्यस्तो जनशक्ति नभएको हुदा सामान्य प्राविधिकले संचालन गर्न सक्ने र प्रति मिनेट ४० – ५० लिटर अक्सिजन दिन सक्ने तथा १० – १५ वेडलाई पुग्ने प्लान्टको लागि स्पेशिफिकेशन गर्दिन दिएको निर्देशन अनुसार काम गरेको बताए ।

विक्रेता के भन्छन ?

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पौष १३ गते अक्सिजन प्लान्ट जडानको लागी प्रस्ताव पेश गर्न आर्थिक अभियान दैनिकमा टेन्डर आह्वान गरेको सुचना प्रकाशित गरेको थियो । टेन्डर आह्वान पछि नेपटेक मेडिकल सप्लायर्स काठ्माण्डौ, कर्णाली मडिकेयर प्रालि नेपालगंज र ड्रागन मेडिकल प्रालि सुर्खेत गरि ३ वटा कम्पनीले पस्ताव पेश गरेका थिए ।

प्रस्ताव पेश गरेका मध्ये ड्रागन मेडिकल प्रालि सुर्खेतले उक्त टेन्डर हात पारेको थियो । अक्सिजन प्लान्ट घोटाला प्रकरण आए पछि स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख लगाएतले एउटा भनेर अर्काे सामान ल्याएकाले विक्रेतालाई कारवाहि हुनुपर्ने मिडियालाई बताएपछि ड्रागन मेडिकल प्रालि सुर्खेतका संचालक गगन शाहीले उक्त आरोपको खण्डन गरेका छन । सोमबार बिहान नयाँ दुष्टि डटकमलाई प्रतिक्रिया दिदै उनले स्वास्थ्य सेवा कार्यालयका कर्मचारीले लगाएको आरोप निराधर भएको बताए ।

उनले भने – क्याडलग सपिङ विधि बाट प्रस्ताव पेश गर्न आह्वान भएपछि आफ्नो कम्पनीले आफुसँग भएको सामानको प्राविधिक प्रस्ताव पेश गरेको र छनौट समितिले छनौट गरेर मुल्य पेश गर्न भनेपछि मुल्य र बायोमेडिकल ईञ्जिनियरको स्पेशिफेकेशन बमोजिम सामान ल्याएका उनले बताए । तर मेसिनमा कन्सन्ट्रेटर लेखेपनि उक्त सामाग्री अक्सिजन दिने मेडिकल अक्सिजन जेनेरेटर भएकाले प्लान्ट नै भएको उनले दावि गरे ।

कर्मचारीको नियत खराब :

स्वास्थ्य सेवा कार्यालयमा भएको उक्त घोटाला प्रकरणको छानविनको लागि समिति बनेको छ । तर विगतका अनुभव हरुलाई हेर्ने हो भने यस्ता छानविन समिति दोषिलाई चोख्उने समिति बन्ने गरेका देखिन्छन । अझ नागरिक समाजको प्रतिनिधित्व विनाको कर्मचारी मात्रको उक्त समितिले निश्पक्ष काम गर्छ भन्नेमै आशंका छ । शंकाको सुविधाले हेर्ने हो भने विक्रेतालाई दोष दिनु, बायोमेडिकल इञ्जिनियरलाई दोष दिनु, र अहिलेसम्म भुक्तानी नभएकोले केही बिग्रेको छैन, कर्माचारी दोषि छैनन भन्ने खालका अभिव्यक्ती सुनिनुले पनि दोषि उम्किने सक्ने सम्भावना छ ।

तर यस प्रक्रियमा बुझ्नुपर्ने कुरा के छ भने स्वास्थ्य सेवा कार्यालायले पौष १३ गने प्रकाशन गरेको टेन्डरमा अक्सिजन प्लान्टको लागी प्रस्ताव मागिनु तर अब्सिनज कन्सन्ट्रेटर मेसिनको लागी प्रस्ताव गरेको कम्पनि लाई सामान ल्याउन छनौट गर्नू र स्पेशिफीकेशन गर्दा पनि बायामेडिकल इञ्जिनियरलाई सोही प्रकारले निर्देशन दिनुले कर्मचारीको नियत खराब रहेको प्रष्ट छ । त्यसैले अक्सिजन प्लान्ट बारे कर्मचारीहरुले अहिले देखाएको अनविज्ञता सत्य होइन । छानविन होस ।

शीर्ष समाचार

धेरै पढिएको