सल्यान औलो रोगको उच्च जोखिममा, व्यापक परिक्षण गर्न जोड

सल्यान औलो रोगको उच्च जोखिममा, व्यापक परिक्षण गर्न जोड

बैशाख ०९, सल्यान । सल्यान औलो रोगको उच्च जोखिममा रहेको अनुमान गरिएको छ । बिहिबार विश्व औलो दिवसको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सल्यानका पत्रकारहरु सँग गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो आशंका गरेका हुन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सुर्खेतका विज्ञ डाक्टर मदन कोईरालाका अनुसार सल्यानको जस्तै भुगोल भएको अन्य जिल्लामा औलो परिक्षण गर्दा धेरै विरामीहरु भेटीएकोले परिक्षणको दायरा बढाउने हो भने सल्यानमा पनि औलो रोगका धेरै केश भेटिन सक्छन ।

सरकारले सन २०२५ सम्ममा औलो मुक्त नेपाल घोषण गर्ने लक्ष्य लिएको भएता पनि हालसम्म देशका २८ वटा वडाहरु औलोको उच्च जोखिम क्षेत्रमा रहेका छन । देशभर उच्च जोखिममा रहेका २८ वटा वडा मध्ये सल्यानको कालिमाटी गाउँपालिकाको वडा नं. ३ पनि औलोको उच्च जोखिम क्षेत्रमा रहेको बताईएको छ । कालिमाटी – ३ मा गत आ.व.मा मात्रै औलोका दुई वटा विरामी फेला परेका थिए भने त्यहाँको वातावरण पनि औलो सार्ने लामखुट्टे हुर्किनको लागी अनुकुल मानिएको छ ।

एनोफिलिज जातको पोथी लामखुट्टेको माद्यम बाट औलो ( मलेरिया ) रोग सर्ने गर्दछ । २५ देखी ३० डिग्री सेल्सीयस तापक्रम यस प्रजातिको लामखुट्टेको लागी उपयुक्त मानिने डा. कोईरालाले बताए । औलो ५ किसमका हुने भएपनि नेपालमा भाईभाक्सा र फाल्सिपारम धेरै देखिने गरेका छन । उपचार गरेपछि औलो रोग निको हुने गर्दछ । औलो रोगको नेपाल सरकारले निशुल्क उपचार गर्ने गरेको छ । देशका सवै सरकार स्वास्थ्य संस्थामा औलो परिक्षण हुने भएकाले विदेश गएर आउने र जोखिम क्षेत्रका नागरिकको परिक्षणमा तिव्रता दिनुपर्ने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रतिनिधी श्याम आचार्यले बताए ।

औलो रोग निवारण कार्यक्रमले औलो नियन्त्रणको लाागी जोखिम क्षेत्रमा झुल वितरण गर्ने, पानी जम्ने ठाउँहरुमा औषधि छर्किने, जनचेतना फैलाउने र संक्रमित पहिचान गरि उपचार गर्ने गरेकोका औलो नियन्त्रणमा आईरहेको भएता पनि परिक्षण नगरिएका क्षेत्रमा औलोका धेरै विरामी हुनसक्ने उनले बताए ।

शुन्य औलोको लक्ष्यमा पुग्दैछौं भन्ने नाराका साथ यस बर्ष विश्व औलो दिवस मनाईएको छ ।

यस्ता लक्षण देखिए औलो हुन सक्छ ;

सामान्य बिरामी – दिनहु वा दिन विराएर ज्वरो आउनु, पसिना आउनु टाउको दुख्नु, थकित हुनु, पेट दुख्नु,चक्कर लाग्नु, मांसपेशी तथा जोर्नीहरु दुख्नु, जाडो हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु आदी ।

सिकिस्त बिरामी – पूर्णरुपमा होशमा नहुनु, पटक पटक मुर्छित हुनु, छारे रोगको लक्षण देखिनु, सहारा विना उठ्न र हिड्न नसक्नु, श्वास फेर्न गाह्रो हुनु, रक्तचाप कम हुनु, असामान्य रुपमा रगत बग्नु ( नाक मुख, गिजा, सुई लगाएको स्थान , दिसा आदि बाट ) कडा जन्डिसको लक्षण देखा पर्नू आदी ।

शीर्ष समाचार

धेरै पढिएको