September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
कक्षा कोठामा हामीले नजर जुधाईरहेको देखेर पढाउदा पढाउदै सर टक्क रोकिए पछि…..

कक्षा कोठामा हामीले नजर जुधाईरहेको देखेर पढाउदा पढाउदै सर टक्क रोकिए पछि…..

आज मंसिर १७ गते । हिजो १६ गतेको लगनमा धेरै जोडिहरू दाम्पत्य जिवनमा प्रवेश गरे । नेपाली समाजमा मंसिर बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।

यद्यपि हाम्रो समाजमा बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोने, ईन्टरनेट तथा सामाजिक संजालको माध्यम को प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।

यसै सन्दर्भमा मंसिर, प्रेम र बिबाहले जिवनमा पार्ने प्रभावबारे नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – सौर्य दैनिकका सल्यान रिपोर्टर रमेश वलीसँग गरिएको रमाइलो कुराकानीको सार ।

• रमेश वली

विहे गरेको झन्डै १४ बर्ष पुग्न लाग्यो । विवाह गर्ने समयमा मेरो उमेर २४ बर्षको थियो र प्रभाको उमेर पनि २१ बर्षको थियो । सल्यान क्याम्पस सल्यानमा विए प्रथम बर्षमा पढ्दै गर्दा प्रेम वस्यो । आफैसँग सँगै पढने मान्छे नै जीवनसाथीको रुपमा आएपछि विहे गरियो ।

हाम्रो प्रेम सम्बन्ध विए प्रथम बर्षमा अध्ययनरत रहेको बेलामा भयो । प्रेम सम्वन्ध भइसकेपछि हामीले दुवैजनाका अभिभावकहरुलाई हाम्रो सम्वन्धका बारेमा जानकारी गरायौ उहाँहरुले तिमीहरुको जे इच्छा छ त्यहि गर भनेपछि हामीले मन्दिरमा गएर विवाह गर्यौं ।

सामाजिक मुल्य र मान्यता कस्ता खालका छन त्यसै अनुसारको सामाजिक संस्कार स्थापित हुने रहेछ । अहिले पनि यहाँहरुले पनि मागी विवाह भएको न्युन मात्रामा देख्न सकिन्छ भने प्रेम विवाहको प्रचलन वढि नै छ । यद्दपी मागी विवाह भन्दा प्रेम विवाहमा एक अर्कालाई धेरै कुरामा वुझ्ने प्रसस्त समय हुने भएकोले पनि प्रेम विवाह राम्रो ।

हुन त प्रेम बिबाह र मागी बिबाहमा कुन राम्रो, यो वुझ्ने तरिकामा भर पर्ने कुरा हो । खासमा प्रेम विवाहलाई पनि राम्रो मानिन्छ तर पनि धेरै पहिले देखि नै समाजमा मागी विवाह गर्ने चलन रहेकोले पनि प्रेम विवाह भन्दा मागी विवाह बढी स्वीकार गर्ने गरिन्छ ।

कक्षा कोठामा नजर जुधाईरहेको बेला सरले देखेपछी…

हाम्रो प्रेम सम्वन्ध शुरु हुनुमा धेरै रोचक प्रसंगहरु धेरै छन् ।सल्यानको एक मात्र क्याम्पस सल्यान क्याम्पसको हाल आज जुन अवस्थामा छ आजको १४ बर्ष अगाडि पनि त्यहि अवस्थामा थियो ।

म पनि कोटमौला बाट पढ्न सदरमुकाम आएको र क्याम्पसमा आइए पढने क्रममा स्ववियु सदस्य हुने अवसर पनि प्राप्त भएको थियो । हामी विए पढ्ने क्रममा प्राध्यापकहरु भन्दा विद्यार्थी थोरै थियौ । हामी कक्षामा मिल्ने साथी भनेका विष्णु शर्मा, मान वहादुर विएम, झलकमान खत्री, इन्दु शर्मा र प्रभा थियौ ।

क्याम्पस जाने बाटो एउटै भएकोले पनि दैनिक भेटघाट हुने अवसर पनि प्राप्त भयो । यसका साथै क्याम्पसमा थोरै मात्र विद्यार्थी हुने भएकोले पनि हामी नजिक हुन पुग्यौ । यसमा आदरणीय बिष्णु दिदिको योगदान धेरै ठुलो रहेको छ । त्यो समयमा एकदिनको रमाइलो प्रसंग पनि छ ।

एकदिन हामी कक्षा कोठामा वसेर पढिरहेका थियौ । रामशंकर बर्मा सरले पढाइरहनु भएको थियो । मैले र प्रभाले एक अर्कामा हेरीरहेका रहेछौ त्यतिकैमा बर्मा सर पढाउदा पढाउदै रोकिनु भएको रहेछ ।

त्यो हामीलाई थाहा थिएन पछि किन रोकियो भनेर हेर्दा त सवैले हामीतिर हेरिरहेको देख्यौ हामी दुवैजनाले एक अर्कालाई हेरि रहेको देखेर हामीलाई सवैले हेरेको देखेर लाज लाग्यो । तर पनि हाम्रो प्रेम सम्वन्ध रहेको कुरा थाहा पाउने पहिलो व्यक्ति आदरणीय गुरु विर बहादुर सेजवाल हुनुहुन्थ्यो ।

विवाह कुनै पनि प्रगतिको बाधक होइन

विवाह मानिसहरुका लागि अपरिहार्य कुरा हो यसलाई विश्लेषण गर्ने आ-आफनै तरिका हुन पनि सक्छन यसको एउटै परिभाषा पनि नहुन सक्छ । यसलाई कसरी लिने भन्ने कुराबाट म आफनो धारणा व्यक्त गर्न चाहान्छु । मानिसको जिन्दगीमा विवाहले ठुलो प्रभाव पार्छ नै । मलाई पनि पारेको छ । मैले विवाह पछि धेरै कुराहरु पुरा गर्नुपर्ने अवस्था थियो । विवाह भइसकेपछि ब्यक्तित्व बिकास रोकिने भन्दा पनि अझ त्यसले गति लिएको देख्छु ।

हामी विवाह गर्ने समयमा विए प्रथम बर्षमा अध्ययनरत थियौ, हामीले दुवै जनाले कक्षा पुरा गर्नुपर्ने थियो र हामीले संँग सँगै पुरा गर्यौं । अहिले हामी दुवैजनाले एमए सम्मको शिक्षा पुरा गरेका छौ।

हामी खलंगामा पढ्नका लागि मात्रै सदरमुकाम छिरेका हौ । तर आज विवाह पछि नै खलंगामा घर निर्माण गरेका छौ । यो हामी दुवैजनाको योगदान र सम्वन्धले सफल भएको हो । विवाहपछि पनि धेरै प्रगति गर्न सकिन्छ । आफ्नो मानसिकता कमजोर बनाउने की बलियो बनाउने त्यसले प्रभाव पार्ने कुरा हो ।

मलाई लाग्छ विवाह कुनै पनि प्रगतिको बाधक होइन यसले त मानिसलाई थप जिम्मेवार बनाउछ । यसका लागि योजना पनि हुनुपर्छ विवाहले नै धेरै किसिमका नकारात्मक विचारहरुलाई समेत मत्थर पार्ने कार्य गर्दो रहेछ । विवाहले प्रगति रोक्ने भन्दा पनि दुवैजनाको उद्देश्य लक्ष्य समेत एउटै हुने भएकोले एक अर्कालाई सहयोग गर्ने देखि लिएर हरेक कुरामा जिम्मेवारीबोध बनाउछ ।

विवाह भविष्यको योजनाको शुरुवात हो

विवाहपूर्व मानिसहरुमा धेरै प्रकारका सोच आउदा रहेछन । यहाँले अविवाहित व्यक्तिलाई भविष्यको बारेमा कुनै कुरा गर्नुभयो भने उसँग कुनै पनि योजना हुदैन मात्रै यति हुन्छ कि साथीसँग रमाइलो गर्ने, घुम्ने, यस्तै यस्तै ।

मैले पनि विवाह पुर्व मेरो जीवनलाई व्यवस्थित गर्न सकेको थिएन । के गर्ने भन्ने कुनै योजना पनि थिएन घरभित्र प्रवेश गर्ने समयको समेत टुङ्गो लाग्ने अवस्था थिएन तर विवाह पछि यो पुरै परिवर्तन भयो सवै कुरा समयमा गर्ने बानी वस्यो । मेरो विचारमा विवाहले हामीलाई परिपक्व बनाउदै लग्यो ।

भविष्यका लागि के गर्ने भन्ने योजना बन्यो, खासमा भन्नुपर्दा विवाह भविष्यको योजनाको शुरुवात हो । यहाँले अरु ठाउँमा हेर्नुभयो भने पनि व्यवस्थित जिन्दगी देख्नुभयो भने त्यो विवाहपछिको नै जिवन हो । यसले मानिसलाई परिपक्व मात्र बनाउदैन सामाजिक पनि बनाउछ । विवाह पुर्व जिस्काउने सामाजिक परम्परा पनि विवाह पछि परिवर्तन हुन्छ । खासमा विवापछि समाजिक संस्कारमा समेत जिम्मेवारको दर्जा प्रदान गरिन्छ ।

बिबाहको लागी आत्मनिर्भर

खासगरी नेपालको संविधानले व्यवस्था गरेअनुसार भन्ने हो भने विवाह गर्न २१ बर्ष पुरा भएको हुनुपर्छ भन्ने छ । तर पनि विवाह मानिसलाई एउटा जिम्मेवार बनाउनका लागि आवश्यक पुर्वाधार भएकोले पनि विवाह गर्दा धेरै कुरामा विचार पुर्याउनु पर्छ । सुरुमा त आफु आत्मनिर्भर हुनुपर्यो या विवाहपछि यो गर्ने भनेर पुर्वयोजना तयार गर्नुपर्यो र त्यसका लागि आवश्यक तयारी पनि गर्नुपर्यो ।

हामीले पनि विवाह गर्नुपूर्व भविष्यका लागि योजना
तयार गरेका थियौ । विवाहपछि जागिर गर्ने अनि मात्र सन्तान जन्माउने भन्ने सल्लाह थियो जसले गर्दा हामीले पढाईसँगै जागिरका लागि पनि तयारी गर्यौं । जसले गर्दा आज पनि हामी त्यहि योजनाका कारण सफल बनेका छौ।

अर्को कुरा विवाह गर्दा प्रेम सम्बन्ध भएपनि पारिवारिक सरसल्लाह गर्नु आवश्य हुन्छ । मागी विवाह गरेर ल्याउने चलन अव विस्तारै हट्दै जान थालेको छ । पहिले बोलचाल त के चिनजान समेत नभएका केटा कटीको विवाह गराइदिदा विभिन्न समस्याहरु आउसक्छ्न् ।

एकअर्कालाई प्रयाप्त मात्रामा वुझ्न नसक्दा सम्वन्धमा विभिन्न दरारहरु समेत आउने खतरा पनि हुनसक्छ । त्यसकारण अभिभावकहरु सहितको सहभागितामा प्रेम विवाह उत्तम हो ।

जिवनमा बिबाह अपरिहार्य

विवाह जीवनको योजनाको आधार भएकोले पनि यो अपरिहार्य नै छ । विवाह ठ्याक्कै यति बर्षमा हुनुपर्छ भन्ने कुनै बैज्ञानिक कारण त छैन तर पनि तीस बर्ष भित्र गरिएको विवाहले जीवनमा प्रभावकारी भुमिका भने खेल्न सक्छ ।

यतिबेला गरिएको विवाहले सन्तान जन्माउने, आर्थोपार्जन लगायतका क्षेत्रमा महत्वपुर्ण भुमिका समेत खेल्छ । यतिबेला जन्मिएका सन्तानहरु आफु वुढेसकालमा पुगेको समयमा समेत हेरचाह गर्न सक्ने उमेरमा पुग्ने भएकोले पनि यहि समय उपयुक्त हुन्छ जस्तो लाग्छ ।

खासगरी विवाह छिटो गर्नु ढिलो गर्नु भन्दा वढि अपरिपक्कव नै हुन्छ । खास कलिलो उमेरमा विवाह गर्दा स्वास्थ्य सम्वन्धी समस्याहरु आउने, मानसिक तनाव हुने, आर्थिक भार जस्ता समस्याहरु आउन सक्छन् ।

यस्ता खालका समस्याहरुको हल गर्नका लागि कलिलो मष्तिष्क सक्षम हुदैन । परिवारमा पनि विवाह गरेपछि विभिन्न तनाव शुरु हुने भएकोले पनि ढिलो गर्नु राम्रो नै हुन्छ । फेरी ढिलो भन्नुको अर्थ भने तीस बर्ष भन्दा वढि भने राम्रो होइन । ढिलो विवाह गर्दा भविष्यको योजना निर्माण गर्ने, जिम्मेवारी वहन गर्ने तथा शारिरिक विकास हुने हुन्छ । जसले गर्दा सजिलै आत्मनिर्भर हुने अवस्था सिर्जना हुने गर्दछ ।

बिबाह सकारात्मक वन्धन

बिबाह मानिसको जीवनमा एउटा सकारात्मक वन्धन हो । यसले मानिसको जीवनमा आमुल परिवर्तन ल्याउन सक्छ । यसलाई सहि रुपमा वुझ्ने हो भने यसले प्रगतिको बाटो लिन्छ तर यसलाई बन्धनको रुपमा वुझियो भने जिन्दगी वर्वादीतिर लाग्छ ।

अव एक अर्काले गर्ने गलत कामहरु गर्न पाइएन भनेर बन्धन भन्नु राम्रो होइन। तर सकारात्मक कुराहरुलाई साथमा साथ दिएर अगाडी वढ्नका लागि भने यो उर्जा नै हो ।

मानौं कुनै पनि श्रीमान श्रीमतिले कुनै प्रगतिको काम गर्छू भन्दा अगाडी वढ्नु म साथ दिन्छु भन्दा त्यो भन्दा ठुलो अर्को कुनै उर्जा हुदैन । कुनै पनि श्रीमान या श्रीमति सफल हुनुमा एक अर्काको हात अवश्य हुन्छ ।

यो पनि पढ्नुहोस :

मंसिर सम्झदा त बिहे गर्दिउ कि जस्तो लाग्छ

मंसिर, प्रेम र बिबाहबारे विभिन्न क्षेत्रमा सफलता कृयाशिल अविवाहित युवा ब्यक्तित्वहरू सँग हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ, लोकप्रिय अनलाइन पत्रीका लेकाली अनलाइनका संचालक/ संपादक युवा पत्रकार खकेन्द्र केसीसँग गरिएको रमाइलो कुराकानीको सम्पादित अंश ।

• खकेन्द्र केसी

अहिले म २२ वर्ष पुरा भएर २३ वर्षमा लागे । मंसिर महिना आउन बित्तिकै धेरैले सम्झीने भनेको बिहेको महिना भनेर हो । धैरैले बिहे कहिले हुन्छ भनेर जिस्क्याउने महिना पनि मंसिर नै हो ।

हुनत बिहे मंसिरमै गर्नैपर्छ भन्ने होइन तर मंसिरले धेरैको बिहे कुरिरहेको हुन्छ । मंसिर सम्झीदा त बिहे गर्दिम कि जस्तो लाग्छ तर यो मंसिरमा भने मेरो बिहेको कुनै टुंगो लागेको छैन र कुनै तयारी पनि गरिएको छैन् ।

तपाइले गरेको प्रश्नमा मेरो बिहे यो बेला हुन्छ भनेर त्यस्तो कुनै समयको पनि टुंगो लागेको छैन् । आशा गरौं बिहे छिटै होस् ।
म कर्मले सदरमुकाम भएपनि बेलाबखत घर जाने गर्छु ।

घर गएको बेला आमाबुबा र छिमेकी आफन्तहरुले अब त बिहे गर्नुपर्यो भनिराख्नु हुन्छ । गाउँमा मेरो उमेरका सबैले बिहे गरेर पनि होला उहाँहरुको यो जोडबल ।

तर म उहाँलाई गजबसँग कुरा गरेर बिहे गर्ने कुरालाई ढिसमिस गर्छु र उहाँहरु पनि मेरो कुरामा सहमत हुन्छन् । उहाँहरुलाई केहि समयपछि बिहे गर्छु भनेर आशामा राखेर फर्किने गर्छु ।

यो उमेरमा बिहे गर्न धेरै ढिला भएजस्तो त लाग्दैन् तर अब बिहे गर्ने उमेर भने भएको हो । मेरो प्रेम सम्बन्धका कुरा गर्दा म कक्षा १० सम्म पढ्दा केटिहरुसँग खासै बोल्दैन थिए ।

अझ प्रेमको कुरा त परै छ । जब एसएलसी पास गरेपछि माथिल्लो तहको अध्ययनको लागि दाङ गइयो । त्यहाँ विस्तारै सामान्य प्रेमका कुराहरुतिर प्रवेश गरियो ।

सायद त्यो बेला गरिएका प्रमेका कुराहरुलाई सार्थकता दिइएको भए उहिल्यै बिहे गरिन्थ्यो होला तर खासै गहिरो प्रेम गरिएन् । त्यो बेलाको उमेर पनि अन्जान थियो । त्यो बेला बिहे नगरेर अहिले ठिकै गरिए जस्तो लाग्छ ।

म दुईवर्ष पछि सल्यान फर्किए र रेडियोमा काम गर्न थाले । रेडियोमा काम गर्दा थुप्रै केटिहरुले मन पराउथिन्, फोन गर्थिन् तर म खासै वास्ता गर्दैन थिए र कसैसँग गहिरो प्रेम पनि गरिन् ।

यो बीचमा केहि केटीहरुलाई प्रेम प्रस्ताव भने गरियो । कैतबाट अस्वीकार भए भने कतै स्वीकार पनि भए । स्वीकार भएका प्रेमहरुलाई अगाडी बढाइयो । कुरा गर्दै जाँदा एकले अर्कोलाई नबुझ्ने, शंका उपशंका गरेर होला ती प्रेमले सार्थकता पाएनन् ।

समय बदलिदै गयो र अहिले उमेर पनि बढ्यो । आजको दिनसम्म भन्नुपर्दा म कसैसँग प्रेम सम्बन्धमा छैन् । म पत्रकारितामा अलि बढी व्यस्त हुने गर्दछु । प्रेममा धेरै समय दिन सकिएन कि जस्तो पनि लाग्छ ।

तपाईले गरेको प्रश्नमा मैले खोजेको जीवनसाथी रुपले होइन मनले सफा होस् । जीवनमा केहि गर्न सक्ने आट र आफ्नो खुट्टामा उभिएको होस् । जीन्दगीदेखि पछाडी कहिल्यै नहटोस् अगाडी बढ्ने अठोट भएको होस् ।

बिहे भन्ने कुरा एकपटक गर्ने हो र त्यो जीवनभरका लागि टिकाउने हो । मान्छेको एउटै मन हुन्छ भन्ने छैन् तर बिवाह गर्ने जीवनसाथी एकले अर्कालाई बुझ्न सक्ने हुनुपर्छ । हरेक समस्यामा साथ दिने हुनुपर्छ । एकले अर्काको कामलाई बुझ्नुपर्छ राम्रो कामलाई साथ र नराम्रो कामलाई सल्लाह दिने जीवनसाथी हुनुपर्छ ।

शीर्ष समाचार

धेरै पढिएको